बाटो खोज्दै बस्ती पसेको विष्णुमतिले बनायो यो गति ! « Khabarhub

बाटो खोज्दै बस्ती पसेको विष्णुमतिले बनायो यो गति !



काठमाडौं – काठमाडौं साँघुरिँदै गएको छ । यहाँ बग्ने नदीहरुले आजकाल सानो गोरेटो बाटो जस्तै बनाएर बग्नुपर्ने अवस्था छ । त्यो पनि सङ्लो हैन धमिलै धमिलो । पानीसँगै बोकेर लैजानुपर्ने फोहोर ।

राजधानीमा घरबार नहुने र कोठा भाडामा लिएर पैसा तिर्न पनि धौ-धौ हुनेहरुले यही नदी किनारमा बस्ती बसाएका छन्, सुकुम्बासीका नाममा ।

त्यसो त काेही हुकुमबासी पनि सुकुम्बासी बस्तीमा नभएका हाेइनन् । उनीहरु अन्तै बसेर ठाउँ हडप्नकै लागि सुकुम्बासीको ढोङ रचिरहेका हुन्छन् । उनीहरुलाई त्यो खोलाको दुर्गन्धले सताउँदैन ।

सताउने त उनीहरुलाई नै हो, जो वास्तविक सुकुम्बासी छन् ।

वास्तविकतामा बाँचेकाहरुलाई यो पनि थाहा छ- कुनै दिन मासिँदै गएको खोलो एक्कासी उर्लेर आयो भने हरिबिजोग बनाउँछ । शायद, उनीहरुलाई यस्तो बाध्यता मोल्नु पनि आफ्नै बाध्यता हो । एकैछिन मात्र पनि पानीको सतह बढ्यो भने हालत के हुन्छ ? सप्पै सर्लक्कै बगाएर लैजान्छ,  वारपार सम्मै बनाएर ।

रिस्क मोलेर विष्णुमतिको छेउमा बस्ने बस्तीले शनिवार राति यस्तै क्षति बेहोर्नुपर्‍यो । शनिबार दिउँसोदेखि निरन्तर बगेर आएको पानीले विष्णुमति आसपास बस्ने सुकुम्बासीको बिजोग बनायो ।

भलै छिनभरमै मत्थर भयो ।

शनिबार बिहान पसिना निकाल्ने घाम लागिरहेको थियो त्यही सुकुम्बासी बस्तीमा । दिउँसो फेरि मौसम गडबड हुन खोज्दै थियो ।

बर्दियाका राधेश्याम शेषमतिको लामबगर छेउमा सानो टिनको छाप्रो बनाएर बस्छन् । ढुंगाका अनेक आकृति बनाउँछन् । बेच्छन् ।

परिवारसँगै उनी यता बस्न थालेको लामै समय भयो । हिजो बिहानसम्म ठीकठाक थियो । दिउँसोसम्म पनि मौसम ठीकै थियो ।

बेलुका हुनै लाग्दा विष्णुमतिको पानी एकाएक बढ्यो । बिस्तारै साँघुरिँदै गरेको खोलामा नअटेको पानी ‘ओभरफ्लो’ भएर बाटो खोज्दै बस्तीमा पस्न थाल्यो ।

राधेश्यामको टहरोमा पनि पानी पस्यो । ७ जना छोराछोरीलाई बोकेर उनी सुरक्षित स्थान खोज्दै निस्किए । बिहानसम्म उनको टहरोमा भएको सबै थोक बाढीले बगाइसकेको थियो ।

‘खाने कुरा केही छैन, कसैले चामल दिए पनि हुन्थ्यो, बाढी पसेर बिजोग बनायो,’ आफ्ना स–साना छोराछोरी देखाउँदै राधेश्यामले भने ।
बिहान त्यही बाढीको किनारमा खेलिरहेका थिए राधेश्यामका छोराछोरी।

बिहान सबेरै उठेर राधेश्यामले घरको हिलो बाहिर हुत्याए। घरको पनि के भन्ने छाप्रोको ।  छेउमै धमिल भएर बगिरहेको विष्णुमतिको खोलाबाट स–साना छोरीहरुले खोलाले बगाएर ल्याएका कपडाहरु समाइरहेका थिए माछा मारेझैँ ।

राधेश्यामकी श्रीमतीले भनिन्, ‘सबै बगायो, पकाउने चामल पनि छैन, यी सन्तानलाई के खुवाउने हो ।’

छोराछोरीलाई खानेको कुनै चिन्ता छैन, उनीहरु त्यही टहरोअघि थुप्रिएको बालुवामा खेलिरहेका थिए ।

एक स्थानीयले भने, ‘हिजो त्यस्तो लीला थियो, अहिले त बिहानै घामले सुक्यो ।’

बिहान लागेको चर्को घाममा बाढी पसेर बगाउन नपाएका डसनाहरु लस्करै सुकाइएका थिए । त्यही छेउमा केटाकेटीहरु खुशी मान्दै खेलिरहेका थिए ।

नजिकै उभिएका आकाश श्रेष्ठले भने, ‘हिजो एकछिन त सातो नै लग्यो नि, बाढी यति उर्लेर आउँदो रहेछ, मैले देखेकै थिइनँ, बिजोग बनायो ।’

राधेश्यामले सबथोक गुमाए । परिवार जोगाए । तर, त्यहीँ वरिपरि अरु कसैले भन्दै थिए, ‘कति केटाकेटी त बेपत्ता छन् रे ! उनीहरु कतै बस्न गएको पनि थाहा छैन, आफन्तसँग पनि छैनन् रे !’

बिहान भने शेषमति आफ्नै पूरानै लयमा फर्किएको थियो । घाम चर्को लागिसकेको थियो । दिउँसोतिर फेरि आकाशमा कालो बादल मडारिएको थियो । राधेश्यामहरु भन्दै छन्, ‘टहरोमा भएको सबै हिजै बगाएर सकिसक्यो, फेरि आज पनि बाढी पस्ने हो कि ! कहाँ गएर बस्ने होला ?’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : ४३ बजे

‘एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ’ 

काठमाडौं– नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्यका

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन

‘देशभर सुरक्षा व्यवस्था बलियो छ, ढुक्कसाथ मत हाल्नुस्’

काठमाडौं– सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

काठमाडौं– यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी