उस्तै छ बेनाम नारीका दु:ख « Khabarhub

उस्तै छ बेनाम नारीका दु:ख


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इँटाभट्टाको गेटमै लेखिएको छ, ‘बाल श्रममुक्त छ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा। बन्दै गरेका इँटाका आकार असरल्ल छन्। छेउछाउमा मजदुर बस्न इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरू (एककोठे छाप्रो) देखिन्छ।

टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन्। च्यातिएको एकसरो लुगामा लगाएका छन्। उनीहरूका खुट्टामा चप्पल छैन। कुनै बालबालिकाले ठूला मान्छेको चप्पल लतारिरहेका छन्। कतिपयले त कट्टु पनि लगाएका छैनन्। न उनीहरू स्कुल जान पाएका छन् न आमाबाबुलाई स्कुल पढाउनुपर्छ भन्ने चेतना छ।

भक्तपुर चाँगुनारायणमा रहेको कुमारीमाता इँटाभट्टाको दृश्य हो। भट्टामा सबै मजदुर व्यस्त छन्। कोही इँटा पकाउँदैछन् त कोही इँटा बोकेर ट्याक्टरमा लोड गर्दैछन्।
मजदुरका दैनिकी दुःखपूर्ण हुन्छ नै। उनीहरूलाई सास धान्नुसँग मात्रै सरोकार छ। आफन्तलाई दुईछाक पेटभरि खुवाउनु छ। कसैकसैलाई भने गाउँमा रहेका छोराछोरीलाई पढ्न किताबकापी किन्नु छ। घाम लागेका दिन उनीहरू फुरुंग पर्छन्। कारण राति १२ बजे उठेर बनाएको इँटा सुक्छ। इँटा सुकेपछि मात्रै उनीहरूले ज्याला लिन इँटाको संख्या गन्न पाउँछन्।

बिहानदेखि बादल लागेको दिन मजदुरका अनुहारमा पनि बादल लाग्छ। पानी परेर इँटा बिगारिदिने हो कि ? मेहनतको फल बगेर जाने हो कि ? भन्ने त्रासमा हुन्छन् उनीहरू।

भट्टामा भेटिए रामेछाप मसनटारी, गाईखुरा माझीबस्तीका महिला– ठूली माझी, माइली माझी, मर्गनी माझी र लक्ष्मी माझी। उनीहरूलाई आफ्नो नाम भन्न पनि लाज लाग्छ। ‘दिदी तपाईंको नाम के हो ? ’ ठूली माझीको जबाफ आयो, ‘किन चाहियो ? नाम भनेर के हुन्छ ? ’ कुरा गर्दा थाहा भयो, उनीहरूसँग खास नामै रहेनछ। माइतकी कान्छी छोरी घरकी जेठी बुहारी रैछन्। त्यसपछि बोलाउने नाम रह्यो, ठूली। नागरिकता बनेकै रहेनछ। माझी बस्तीमा बुहारीको नागरिकता बनाइदिने चलन छैन रे। वृद्ध भएपछि मात्रै नागरिकता बनाइन्छ।

माइलीले श्रीमानसँग नागरिकता बनाउन अनुरोध गरेकी थिइन्। काम गर्ने मान्छेलाई किन चाहियो नागरिकता भनेर जबाफ दिए उनले। नागरिकता नभएपछि विवाह दर्ता हुने भएन, विवाह दर्ता नभएपछि सन्तानको जन्मदर्ता कसरी गर्नु ? बेनाम यी नारीहरूलाई नारी दिवसबारे थाहा हुने कुरै भएन न आफ्नो अधिकारबारे।

‘स्कुल जानु भएन ? ’ २५ वर्षीया माइली माझीले भनिन्, ‘ह्या स्कुल न सिस्कुल, के पाइन्छ पढेर ? काम सिक्यो अलिअलि पैसा कमायो। स्कुल गएर पैसा पाइने हो र ? ’ छोरीलाई घरमा काम गर्न सिकाइन्छ। दाउरा, घाँस, गाईबस्तु छोरीकै जिम्मा। हुर्केबढेपछि बिहे गरिहाल्छन्। श्रीमान्सँग काम खोज्न हिँड्छन्।

भट्टाभन्दा माथिल्ला कान्लामा इँटा चाङ लगाउँदै गरेको भेटिए मगर्नी माझी र कमला माझी। उनीहरू पनि रामेछापकै हुन्। सुनकोसी किनारमा घर भएकी मगर्नी माझीको परिवार पुरानो पेस्की चुक्ता गर्न गत कात्तिकमै भक्तपुर आएको हो। परिवार ठूलो भएकाले घरमा बसेर खानै पुग्दैन उनलाई।

भट्टामा इँटा बोक्दै गरेकी भेटिइन् फूलकुमारी देव। भारत विहारकी फूलकुमारीले भक्तपुरमा इँटा बोक्न थालेको पाँच वर्ष भयो। उनी श्रीमान् र दुई छोरीका साथ भट्टामा मजदुरी गर्छिन्। जेठसम्म इँटा बोकेर केही पैसा संकलन गरी विहार फर्कने उनको योजना छ। पानी नपरेको दिन फूलकुमारी दम्पतीले दुई हजार रुपैयाँसम्म कमाउँछन्।

छोराछोरीलाई स्कुल पठाउनुहुन्न ? फूलकुमारीले भनिन्, ‘गरिब काम गर्न जन्मिएका हुन् नि। कसले स्कुल पुर्‍याउनु ? को लिन जानु ? काम कसले गर्छ ? ’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ५७ बजे

अरुण तेस्रो जलविद्युत् आयोजना : तलब नपाएपछि काम ठप्प पारेर आन्दोलनमा मजदुर

किमाथांका– सङ्खुवासभामा निर्माणधीन नौ सय  मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्

बिरामी सेवामा गुणस्तर बढाउन वीर अस्पतालका १४ निर्णय : हाजिरीदेखि पोसाकसम्ममा कडाइ 

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाह

नागरिकमैत्री, स्वच्छ र पारदर्शी प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी

क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

एजेन्सी– रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान

बौद्धमा मनाइयो तेमाल जात्रा (तस्बिरहरू)

काठमाडौं– चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा