विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधी जित्ने नेपाली खेलाडीको धोको | Khabarhub Khabarhub

विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधी जित्ने नेपाली खेलाडीको धोको



काठमाडौं– नेपालका उच्च बहाव भएका नदीको चर्चा विश्वभर छ । यहाँका बढी बहाव भएका नदी त्रिशुली, मर्स्याङ्दी र सेतीमा अभ्यास गरेर नेपाली र्‍याफ्टिङ खेलाडी अस्ट्रेलिया  पुगेका छन् ।

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन अस्ट्रेलिया पुगेकाे नेपाली टोलीको मुख्य लक्ष्य उपाधि चुम्नु रहेको छ । सुरज गुरुङको कप्तानीमा रहेको ८ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।

यो टोलीको लक्ष्य उपाधि जित्ने मात्र नभई नेपालका नदीको प्रचार गर्ने र नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटकको संख्या बढाउन भूमिका खेल्ने पनि छ ।

आर्थिक समस्या र राष्ट्रले नै र्‍याफ्टिङको विकासमा ध्यान नदिएको भन्ने गुनासो खेलाडीका मनमा रहेपनि नेपालको नाम चम्काउने दृढ विश्वास उनीहरुमा छ । नेपाली टोलीका कप्तान सुरजले आफ्नो क्षमता विश्वमा देखाएर नेपालको सरकारलाई घचघच्याउने सोच राखेको बताए ।

उनले भने, ‘अहिले यो र्‍याफ्टिङको अभ्यास गर्न र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन हामीले व्यक्तिगत नै पहल गर्‍यौं । हामी पूर्ण विश्वस्त छौं । हाम्रो क्षमता अन्तर्राष्ट्रियस्तरमा देखाउँछौं । अनि सरकारलाई र्‍याफ्टिङसहित बहाबवाला नदीको सम्भावना बारे शुसूचित गराउँछौं।’

नेपाल ब्राजिलपछिको जलसम्पदाको दोस्रो धनी मूलुकका रुपमा चिनिन्छि । हुन पनि यहाँका नदीनाला तथा पानीका स्रोत अनुपम प्राकृतिक स्रोतका रुपमा छन् । तर, यी सम्पदाको संरक्षण र यसबाट लिन सक्ने फाइदाका बारेमा सरकारले सोचेको छैन ।

पानीलाई जलविद्युत उत्पादनसँग मात्र जोड्नु दुभाग्यपूर्ण हुने भन्दै र्‍याफ्टिङ खेलाडीलाई खेल र पर्यटनका लागि पनि नेपालका नदी विश्वका भन्दा उत्कृष्ट भएको प्रमाणित गराउने अवसर समेत रहेको छ ।

गुरुङ नेतृत्वको टोलीले त्रिशुली, सेती र मर्स्याङ्दी नदीमा दुई महिना अभ्यास गरेर अष्ट्रेलिया पुगेको हो । २ महिनाको तयारीले मात्रै उपाधि उचाल्ने सम्भावना कम रहेपनि नेपालको अभ्यासले विश्वलाई चुनौती दिने उनीहरुको दाबी छ ।

‘क्याटागोरीमा मात्रै होइन, नेपालको त्रिशुली, मर्स्याङ्दी र सेतीमा अभ्यास गरेका छौं समग्रमा उपाधि पनि हात पार्न सक्छौं । प्रतियोगिता हुने नदीको पनि अवस्थिति र पानीको वहाव एउटै हुन्छ,’ कप्तान गुरुङले भने ‘हामीले प्रतिस्पर्धा गर्ने नदी पनि हाम्रो जस्तै रहेकाले स्पर्धामा अन्य टिमभन्दा नेपाललाई केही सहज हुनेछ ।’

यो प्रतिस्पर्धा मे १३ देखि २० सम्म अस्ट्रेलियाको टुली नदीमा सञ्चालन हुनेछ । तर, नेपाली टोलीले भने मे १६ तारिखदेखि मात्रै खेल्नेछ । त्यसअघि केही दिन नेपाली टोलीले प्रतियोगिता आयोजना हुने टुली नदीमा पनि अभ्यास गर्नेछन् ।

आर्थिक व्यवस्थापन चुनौतीपूर्ण

तेस्रो संस्करणको नेपाल र्‍याफ्टिङ च्याम्पियनसिपमा फिस्लिङको नेपाल र्‍याफ्टिङ एण्ड कायव क्लब विजेता बन्यो । च्याम्पियनसिप जितिसकेपछि कायव क्लबले विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर समेत पायो ।

तर, क्लबले सहभागिता जनाउने तयारी गरेपछि भने विभिन्न किसिमका समस्याहरु आएको कप्तान गुरुङले बताए । ‘हामीले प्रतियोगितामा सहभागी हुन पाउने निश्चित भइसकेपछि च्याम्पियनसिपमा सहभागी हुनका लागि प्रक्रिया अगाडि बढायौं,’ उनले भने, ‘खेलाडीका लागि देशको प्रतिनिधित्व गरेर विश्व च्याम्पियनसिपमा सहभागिता जनाउनु खुशीको कुरा हो । तर, आर्थिक पाटो निक्कै चुनौतीपूर्ण रह्यो।’

यो समस्यालाई पनि जेनतेन मिलाएको उनले बताए । नेपाली खेलकुदका जुनसुकै खेल पनि बजेट अभावको समस्या झेलिरहेको गुरुङले सुनाए । र्‍याफ्टिङ टोली पनि आर्थिक अभावबाट टाढा नरहेको भन्दै खेलाडी तथा प्रशिक्षक तथा फिस्लिङ क्लबले संघसम्मको पहलमा विभिन्न निकायसँग समन्वय गरेर प्रतियोगितामा सहभागी हुने अवस्थामा पुगेको जनाए ।

प्रतियोगितामा सहभागिता जनाउन आवश्यक पर्ने आर्थिक जाेहोका लागि सरकारी निकाय तथा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ज्ञापनपत्र बुझाइए पनि कहीँ कतैबाट सहयोग नभएको गुनासो गरे ।

‘नेस्नल च्याम्पियन भएको भन्दै चिचवनको इच्छा कामना गाउपालिकाले क्लबलाई सम्मान कार्यक्रमको आयोजना गर्‍यो । त्यही कार्यक्रममा सहभागी अन्य ४ गाउँपालिकाका प्रतिनिधिबाट सहयोगको घोषणा भयो,’ कप्तान गुरुङले भने, ‘गाउपालिकाहरुले प्रतिवद्धता जनाएपछि १४–१५ लाख जतिको आर्थिक जोहो भयो । त्यसपछि अन्य सहयोग जुटाउने अपेक्षा सहित अभ्यासमा लाग्यौं ।’

देशकै लागि २५ सय डलरको काम छोड्नुपर्‍यो

कप्तान गुरुङ वर्षको ६ महिना विदेश र ६ महिना नेपालमा काम गर्छन् । नेपालमा रहँदा त्रिशुलीमा र्‍याफ्टिङ गाइडको काम गर्दै आएका उनले ६ महिना आइसल्यान्डमा काम गर्ने गरेको बताए । उनले भने,‘आइसल्यान्डमा काम गर्थे । वर्षको ६ महिना त्यहाँ र बाँकी छ महिना नेपालमा । यो सिजनमा राष्ट्रिय टोलीबाट खेल्नु पर्ने भएकाले जान पाइनँ ।’

यो प्रतियोगिताकै कारण उनले अप्रिलदेखि अक्टोबरसम्म आइसल्याण्डमा काम गर्दा पाउने मासिक २५ सय डलर पारिश्रमिक गुमाउने भएका छन् । देशको नाम राख्ने  सोचका साथ काम छाडेर प्रतियोगिता तर्फ केन्द्रित भएको उनले बताए ।

नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउने छन्।

विश्व च्याम्पियनसिपमा सहभागी खेलाडीहरु

सुरज गुरुङ (कप्तान), शक्तिकुमार गुरुङ , पदमबहादुर गुरुङ, दिपेश गुरुङ, रविल मियाँ, सविन गुरुङ र सुनिल गुरुङ

 

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : ५४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः