सरकारले झुठ बोल्यो–प्रयोगशाला नभएर विषादी परीक्षण रोकिएको होइन | Khabarhub Khabarhub

सरकारले झुठ बोल्यो–प्रयोगशाला नभएर विषादी परीक्षण रोकिएको होइन


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आयात गरिने तरकारीजन्य उत्पादनको विषादी परीक्षण गर्न प्रयोगशाला नभएको सरकारले कारण देखाएको छ। तर, नेपालमा यसका लागि पर्याप्त प्रयोगशाला छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजधानीसहित प्रादेशिक संरचनाअनुसार कर्णालीवाहेक ८ स्थानमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाई’सञ्चालनमा ल्याएको छ। त्यसवाहेक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता प्राप्त केन्द्रिय प्रयोगशाला पनि छ।

खाद्य विभागको बाहेक सञ्चालनमा रहेका ८ प्रयोगशालामा भएका फोटोस्पेक्टोमिटरको सहयोगमा तरकारी तथा फलफूल ‘खान लायक छ वा छैंन’,‘केही दिन पर्खेर खान सकिने’वा ‘नष्ट नै गर्नुपर्ने’ ५ मिनेटमै पत्ता लगाउन सकिन्छ।

‘दबाब थेग्न नसकेपछि’ सरकारले उल्टो प्रस्टीकरण दिएको यसका विज्ञहरूले बताए। सरकारको यो निर्णयका कारण आम उपभोक्ताको स्वास्थ्य जोखिममा पर्नुका साथै किसानको स्वदेशी बजार गुमेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले पनि आइतबार प्रतिनिधी सभाको बैठकमा तत्कालै जीवनाशक विषादीको अवशेष परीक्षण गर्ने उपकरणसहितको भौतिक पूर्वाधार कर्णालीबाहेकका ७ प्रदेशको ८ स्थानमा रहेको प्रष्टिकरण दिएका छन् ।

घुमाउरो रुपमा मन्त्री खनालले प्रधानमन्त्री र बाणिज्य मन्त्रालयको भनाईलाई खण्डन गर्दै विषादीको दर मापन गर्ने प्रयोगशाला सञ्चालनमा रहेको खुलाए। उनले दुई प्यारामिटर कार्वानेट र अर्गानोफस्फेट समूहको विषादी परीक्षण गर्ने क्षमताका यस्ता प्रयोगशाला भएको प्रतिनिधीसभामा जानकारी दिएका छन्।

‘आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने र निर्णय फिर्ता लिने दुवै प्रस्ताव बाणिज्य मन्त्रालयले लगेको हो, हाम्रो मन्त्रालयले होइन,’ उनले भने, ‘हामीसँग तरकारी खान लायक छ वा छैन भनेर छुट्टयाउने बिशेषता भएको प्रयोगशाला कर्णालीवाहेक सात प्रदेशमा सात जिल्लामा छन्। यस्ता जाँचलाई दुरुस्त गर्न ७ प्रयोगशालाबाट परीक्षण सुरु गरेका थियौं। तर परीक्षण गर्न तत्कालै पूर्वाधार नभएको भन्दै रोकियो।’

प्रधानमन्त्री र बाणिज्य मन्त्रालयले दावी गरेजस्तो यि आठ वटै दु्रत विषादी प्रयोगशाला भारतको जस्तो निक्कै टाढा पनि छैनन्। भारतसँग सीमा जोडिएका प्रायः सबै सीमा क्षेत्र नजिकै यस्ता प्रयोगशाला सञ्चालनमा छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय कृषि प्रयोगशाला मातहत सञ्चालनमा रहेका ८ वटै प्रयोगशालाले मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको बारेमा तत्कालै रिर्पोट दिने क्षमता राख्ने समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

झापाको विर्तामोड, मोरङको बिराटनगर, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटबल, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज, कैलालीको अत्तरिया र काठमाडौंको कालिमाटीमा यस्ता प्रयोगशाला सञ्चालनमा छन्।

बीरगञ्जबाट आयात हुने तरकारीको परीक्षणका लागि सर्लाहीको नवलपुरमा व्यवस्था गरिएको छ। बाँकी अन्य प्रयोगशाला भन्सार कार्यालय भएको जिल्लामै सञ्चालनमा छन्।

‘हाम्रो दु्रत विषादी प्रयोगशालाले तरकारी र फलफूलको नमूना परीक्षण गरी ५ मिनेटमा तरकारी खान लायक छ वा छैंन, अत्याधिक विषादीको उपस्थित भएर नष्ट गर्नुपर्ने तथा केही दिन राखेर पुनः प्रयोग गर्न मिल्ने भनेर रिर्पोट दिन सक्षम छ,’ केन्द्रिय कृषि प्रयोगशालाका प्रमुख तथा सहसचिब कान्चनराज पाण्डेले भने, ‘भन्सार विन्दुमा हाम्रो प्रयोगशाला नभएपनि भारतको तुलनामा हामी समय र दूरीको हिसावले सीमा क्षेत्रबाट अत्यन्त नजिकै छौं।’

नेपालले सीमा नजिकैका ७ स्थानमा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएपनि भारतले भने यस्तो कुनै व्यवस्था हालसम्म गरेको छैंन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता तथा वरिष्ठ खाद्य अधिकृत मोहनकृष्ण महर्जनका अनुसार सञ्चालनमा रहेका ८ वटै प्रयोगशालाको सहयोगमा तरकारी तथा फलफूल खान लायक छ वा छैंन र मानव स्वास्थ्यलाई हानि गर्ने गरी बिषादी अत्याधिक परिमाण प्रयोग भएको छ वा छैंन भनेर तत्कालै जानकारी प्राप्त गर्न सकिन्छ।

‘तरकारी र फलफूलमा प्रयोग भएको विषादी मानव स्वास्थ्यलाई हानि गर्ने गरी प्रयोग भएको वा नभएको बिषयमा तत्कालै यस्ता प्रयोगशालाबाट प्राथमिक चरणको जानकारी प्राप्त गर्न सकिन्छ,’ उनले भने, ‘बिषादीको मात्रा अत्याधिक परिमाणमा भेटिएको यसले पुष्टि गरेपछि खाद्य विभागको केन्द्रिय प्रयोगशालामा कस्ता कस्ता प्रकारका विषादी अत्याधिक छ भनेर सूक्ष्म परीक्षण गर्न सकिन्छ।’

यि ८ वटै प्रयोगशालामध्ये कालिमाटीमा चार र जिल्लाको हकमा दुई दुई प्राविधिकको व्यवस्था छ। तर पछिल्लो समयमा संघीय संरचनाअनुसार बुटबलको प्रयोगशालामा जनशक्तिको अभाव भएर भैरहवा भन्सारबाट आउने नमूना काठमाडौंको ल्याउने गरिएको छ। कालिमाटी दु्रत एकाईका निमित्त प्रमुख जागेश्वर शर्माले भैरहवाबाट दैनिक ५० देखि ६० वटा नमूना आइरहेको जानकारी दिए। ‘नमूना परीक्षणको रिर्पोट ईमेलबाट उपलब्ध गराउने भएकाले धेरै समय कुद्नु पर्ने अवस्था छैन,’ उनले भने।

शर्माकाअनुसार थाइवानको बैज्ञानिक प्रविधिमा आधारित कार्वामेट र अर्गानोफस्फेट समूहको विषादीको परीषण सुविधा रहेको यि ८ वटै प्रयोगशालामार्फत केही समयपछि थाइल्याण्डको प्रविधिमा आधारित दुई थप ढुसिनाशक डाइथायोकार्वोनेट(डीटीसी) र किटनाशक सिन्थेटिक पाइरीडथ्योराइड(पीवाईसी) समूहको विषादी परीक्षण गर्न पनि सक्षम हुँदैछन्।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ६ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०