स्तनपानका नाममा हप्तामै सकियो ६६ लाख | Khabarhub Khabarhub

स्तनपानका नाममा हप्तामै सकियो ६६ लाख


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले विश्व स्तनपान दिवसको अवसरमा ‘स्तनपान दिगो विकासको आधार’ भन्ने नाराका साथ अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनायो ।

स्तनापान सप्ताहकै कार्यक्रमका लागि स्थानीय तह, प्रदेश र केन्द्रमा एकसातामा ६६ लाख ४९ हजार रुपैयाँ खर्च भयो ।

परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार स्तनपान सप्ताह मनाउन केन्द्रीय सरकारलाई १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस्तै ७ वटा प्रदेशमा ५ लाख २५ हजार र ७ सय ५३ वटा स्थानीय तहले स्तनपान सप्ताहको कार्यक्रमका लागि ६० लाख २४ हजार रुपैयाँ खर्च गरे ।

स्तनपान सप्ताहमा सबै स्थानीय तह, प्रदेश र केन्द्रले भव्यताका साथ स्तनपान दिवस मनाए । स्थानीय तह, प्रदेश र केन्द्र मातहतका सबै स्वास्थ्य संस्था र अस्पतालहरुमा स्तनपानको नारा सहितको सचेतनाका व्यानरहरु टाँगियो ।

केन्द्रीय सरकारले थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा भिडियो सहितको संदेश चिकित्सक तथा बिरामी र बिरामी कुरुवा सबैलाई सचेतनात्मक कार्यक्रमहरु पनि गर्‍यो ।

नारा स्तनपानको, शिशुलाई ल्याक्टोजिन

स्वास्थ्यसंस्था र अस्पतालहरुमा भव्यताका साथ स्तनपान सप्ताह चलिरहँदा अस्पताल भित्र प्रसूति गराएका कतिपय आमाले भने आफ्नो शिशुलाई समयमै स्तनपान गराउन पाएनन् ।

विश्व स्वास्थ्य संगठनले शिशु जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्ने जनाएको छ । जन्मिएको एक घण्टाभित्र स्तनपान नगराउँदा शिशुमा संक्रमणजन्य रोगको उच्च जोखिम हुने र शिशुको मृत्यु नै हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मिएको पहिलो घण्टामा आमाको विगौती दूध खुवाउँदा नवजात शिशुको शरीरमा रोग प्रतिरोधात्मक क्षमता शत्तिशाली हुन्छ । त्यसैले पनि आमाको विगौती दूध शिशुका लागि पहिलो खोपको रुपमा लिइन्छ ।

तर थापाथलीमा रहेको केन्द्रीय अस्पताल परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा जन्मिएका कतिपय शिशुले जन्मिएको एक घण्टाभित्रमा आमाको दूध खान पाएनन् ।

अस्पतालमा सिजरियन सेक्सन अर्थात शल्यक्रिया मार्फत प्रसूती गराइएका आमाहरुले शिशु जन्मिएको एक घण्टाभित्रमा विगौती दूध शिशुलाई खुवाउन नपाएका हुन् ।

बसन्तपुरबाट मंगलबार राति १२ बजे बजे प्रसूति गराउन आएकी दोलखाकी एक महिलाले अस्पतालको आकस्मिक प्रसूती कक्षमा प्रसूती गराएकी थिइन् । उनले बुधबार दिउँसो २ बजेसम्म पनि आफ्नो नवजात शिशुलाई स्तनपान गराउन सकिनन् ।

‘हिजो साँझ शल्यक्रिया गरेर शिशु जन्माइयो तर आफु उठ्न सकेको छैन, अहिलेसम्म आफ्नो दूध खुवाउन पाएको छैन,’ प्रसूती गृहको आकस्मिक कक्षको पोष्ट वर्डामा रहेकी ती महिलाले मलिन स्वरमा भनिन्, ‘बच्चाले जन्मिने वित्तिकै दूध नआएर होला अहिले त दूध नै आएको छैन, अस्पतालले दिएको दूध खुवाइएको छ ।’

प्रसूती गृहमै सोमबार प्रसूती गराउन आएकी झत्तपुरकी अर्की महिलाले पनि मंगलबार दिउँसो साढे ४ बजे शल्यक्रिया गराएर शिशु जन्माइन् । तर उनले पनि बुधबार दिउँसो २ बजेसम्म स्तनपान गराउन पाएकी थिइनन् । शिशु जन्मिएको एकघण्टाभित्रै स्तनपान गराउनुपर्छ भन्ने जानकारी उनलाई नभएको होइन । तर, अस्पतालले शल्यक्रियामाफर्त जन्मिएको शिशुलाई आमाले स्तनपान गराउन सक्दैन भन्दै स्तनपान गराउन दिएनन् ।

उनलाई हेरचाहका लागि आएकी बहिनी पनि अन्य अस्पतालकी नर्स थिइन् । उनले नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्दा अस्पतालका नर्सहरुले शल्यक्रिया गराइएका सुत्केरी महिलाले स्तनपान गराउन नमिल्ने नियम रहेको बताए ।

‘म आफै पनि नर्स हो, शिशु जन्मिएको एक घण्टाभित्रै आमाको विगौती दूध खुवाउनुपर्छ भनेर पढेको छु, मैले काम गर्ने अस्पतालमा पनि शिशु जन्मिएकै एकघण्टाभित्र आमाको दूध खुवाइन्छ,’नाम नबताउने सर्तमा सुत्केरी महिलाकी बहिनीले भनिन्, ‘तर यहाँ आमाको दूध खुवाउनुपर्छ भन्दा अस्पतालको नियम छ, आमालाई गाह्रो हुन्छ नखुवाउनु भन्नुहुन्छ ।’

यी दुईजना सुत्केरी महिला त प्रतिनिधि पात्र मात्रै हुन् । प्रसूती गृहमा जन्मिएका १० प्रतिशत शिशुले जन्मेको एक घण्टाभित्र आमाको विगौती दूध खान पाउँदैनन् ।

अस्पतालले शल्यक्रियामाफर्त प्रसूती गराइएका आमाको स्वास्थ्य अवस्थाका कारण शिशुलाई एकघण्टाभित्रमा आमाको विगौती दूध खुवाउन नसकिएको अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले स्वीकारे ।

‘हाम्रो अस्पताल आमा र शिशुको लागि उपयुक्त वातावरण भएको अस्पताल हो, तर पनि हामीले यहाँ जन्मिएको सबै शिशुलाई एकघण्टाभित्र स्तनपान गराउन सकिएको छैन,’ निर्देशक गौतमले खबरहबसँग भने, ‘नर्मल डेलिभरी भएका शिशुले जन्मेको एकघण्टाभित्र आमाको विगौती दूध खाइसकेका हुन्छन् । तर शल्यक्रिया गरेका महिलाले उहाँहरुको स्वास्थ्य अवस्थाका कारण एकघण्टाभित्र दूध खुवाउन सक्नुहुन्न ।’

त्येसो त थापाथलीको प्रसूती गृहमा मात्रै होइन त्रिवि शिक्षण अस्पताल तथा अन्य निजी अस्पतालमा पनि समस्या विकराल छ । कतिपय अस्पतालहरुमा भर्खरै जन्मिएका शिशुलाई आमाको दूधको सट्टा कृत्रिम दूध (ल्याक्टोजिन) समेत खुवाउने गरिएको पाइएको छ ।

स्तनपान सप्ताहकै समयमा परिवार कल्याण महाशाखाको पोषण शाखाले काठमाडौंको विभिन्न अस्पतालमा गरेको अनुगमनमा शिशु जन्मिएको एक घण्टाभित्रै आमाको दूध नखुवाइएको र ल्याक्टोजिन खुवाउने गरेको भेटिएको छ ।

स्तनपान गराइरहेका अस्पतालहरुले नै अस्पतालमा प्रसूती गराएका महिलाहरुलाई समयमै स्तनपान गरानबाट वञ्चित गराएको भेटिएको पोषण शाखाका प्रमूख केदार पराजुलीले बताए ।

‘हामीले ओम अस्पताल, केएमसी अस्पताल, टिचिङ अस्पताल लगायतका केही ठूला अस्पतालहरुमा स्तनपानको अवस्था कस्तो छ भनेर अनुगमन गरेका थियौं, उहाँहरुको अस्पताल परिसरमा स्तनपान सप्ताहको ठूलो व्यानर राख्नुभएको थियो, सचेतनाको कार्यक्रम पनि गर्नुभएको थियो,’ पराजुलीले भने, ‘तर अस्पताल भित्र भने नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको दूध खुवाउन नदिएको, आमाको दूध प्रतिस्थापन गर्ने ल्याक्टोजिनहरु खुवाइएको पनि भेटियो ।’

सरकारले बजारमा पाइने कृत्रिम दूधको प्रयोगलाई घटाएर आमाकै दूध खुवाउनुपर्छ भन्ने सन्देश दिन स्तनपान सप्ताह गरिरहँदा सचेतनाकै कार्यक्रम गर्ने अस्पतालको अवस्था यस्तो हुनु दुखद भएको उनको भनाई छ ।

जन्मिएको १ घण्टामा आमाको दूध नपाउने शिशु ४५ प्रतिशत

नवजात शिशुलाई जन्मिएको १० मिनेट भित्रमा आमाको छातीमा टाँसेर एकघण्टा भित्रमा आमाको विगौती दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् । नवजात शिशुलाई ६ महिनासम्म दिनमा ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्ने हुन्छ । यस्तै शिशुलाई दुईवर्षसम्म आमाको दूध नियमित खुवाउनुपर्छ । तर नेपालमा जन्मिएका ४५ प्रतिशत शिशुले एक घण्टामा आमाको दूध पिउनबाट वञ्चित रहेको सरकारी तथ्यांक छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणकका अनुसार नेपालमा जन्मिएका ४५ प्रतिशत शिशु जन्मेको एकघण्टाभित्र आमाको दूध सेवन गर्नबाट वञ्चित हुने गरेका छन् । नेपालका १० बालबालिका मध्ये ३ जनालाई आमाको दूधबाहेका अन्य खानेकुरा पनि खुवाइने गरिएको छ ।

आमालाई सुन्दरता गुम्ने डर

शल्यक्रिया गराएर जन्मिएका शिशुलाई समयमै स्तनपान गराउन नसक्नु सुत्केरी महिलाको बाध्यता पनि हो । यहि बाध्यताको कारण मात्रै होइन आफ्नो व्यस्तताका कारण कतिपय कामकाजी महिलाहरुले आफ्नो शिशुलाई पर्याप्त समय अवधिसम्म स्तनपान गराउँन सक्दैनन् ।

यो त भयो महिलाको बाध्यता तर आजभोली कतिपय आधुनिक आमाहरु आफ्नो सौन्दर्यतामा कमी हुने भन्दै आफैंले जन्माएको शिशुलाई स्तनपान गराउन चाहदैनन् । उनीहरु आफ्नो शिशुलाई दूध खुवाउनबाट छुटाउँन आफ्नो स्तनमा फोहोर पदार्थ लगाउने, रगत लगाउने आदि विभिन्न उपाय अपनाउँदै आफ्ना सन्तानलाई स्तनपान गर्नतर्फ विकर्षण पैदा गर्छन् । उनीहरु स्तनपानको सट्टामा बजारमा पाइने कृत्रिम दूध समेत खुवाउने गर्छन् । आमाहरुले जानीजानी शिशुलाई स्तनपानबाट बञ्चित गराउँदा शिशु र आमा दुवैलाई असर पर्ने चिकित्सकको भनाई छ ।

विभिन्न कारणले आफ्नो शिशुलाई स्तनपान नगराउँदा पछि स्तनमा रोग तथा संक्रमण भएर उपचारका लागि आउने महिलाहरु धेरै भएको प्रसूती गृहका निर्देशक डा.गौतमको भनाई छ ।

‘धेरै आमाहरुले आफ्नो शिशुलाई स्तनपान नगराउँदा स्तन सुन्निने, स्तनमा पिप जम्ने गाँठागुँठी आउने समस्या लिएर धेरै महिलाहरु उपचारका लागि आएका छन्,’ डा. गौतम भन्छन्, ‘ उहाँहरुलाई उपचार सँगै आफ्नो शिशुलाई स्तनपान गराउँनु भनेर सल्लाह समेत दिएर पठाउने गरेको छु । आफ्नो सन्तानलाई दुईवर्ष स्तनपान गराउन हेलचेक्याइ गर्ने महिलाले स्तनमा रोग लागेर ६ वर्षसम्म औषधि खानुपरेको उदाहरण धेरै छ ।’

सुन्दरतामा कमि आउँछ भन्नु भ्रम

शिशुलाई स्तनपान गराउँदा स्तन झोल्लिने र सुन्दर्तामा कमी आउँछ भन्नु गलत भएको डा.गौतम बताउँछन् ।

उनी भन्छन्, ‘आफ्नो शिशुलाई स्तनपान गराउँदा आमाको सौन्दर्यतामा कमी आउँदैन, बरु आमा र शिशु दुवैलाई स्वास्थ्य र सुन्दर राख्छ, त्यसैले शिशुलाई आमाको दूध खुवाउँदा आमाको सौन्दर्यता कम हुन्छ भन्नु भ्रम मात्रै हो । गतल पनि हो ।’

स्तनपानका फाइदैफाइदा

नवजात शिशुलाई स्तनपान गराउँदा आमा र शिशु दुवैको स्वास्थ्यलाई फाइदा हुने चिकित्सकहरु बताउँछन् । डा. गौतमका अनुसार स्तनपान गराउँदा आमालाई हुने फाइदा यस्तो छः

  • आमा र शिशुको सम्बन्ध बलियो हुन्छ,
  • स्तनपान गराउने महिलाले तुरुन्तै परिवार नियोजनका साधन प्रयोग गर्नुपर्दैन । किनकी स्तनपान गराउँदा महिलाको यौनसम्बन्धबाट गर्भ रहने सम्भावना प्राकृतिक रुपमै केही समय बन्द हुन्छ । स्तनपानले प्राकृतिक परिवार नियोजनको काम गर्छ।
  • स्तनपान गर्ने महिलामा मानसिक समस्या हुँदैन । तनावबाट छुटकारा मिल्छ।
  • स्तनमा हुनसक्ने रोग तथा संक्रमणको जोखिम घटाउँछ ।

स्तनपानबाट शिशुलाई स्तनपानले हुने फाइदा

  • आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।
  • संक्रमणजन्य रोगहरुबाट बचाउँछ।
  • आमाको दूधमा प्रोटिन, चिल्लो पदार्थ तथा अन्य पोषक तत्वहरु पाइन्छ ।
  • शिशुको पाचन प्रणाली राम्रो हुन्छ ।
  • शिशुको शारीरिक र वौद्धिक वृतिविकासमा सहयोग पुर्‍याउँछ।
  • शिशुको मस्तिष्कको विकास आमाको दूध सेवनबाटै हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १० : १० बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको