अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने विषयमा भइरहेको अनुसन्धानको सार्वजनिक सुनुवाइ हुने भएको छ ।
अहिले सम्म गोप्यरुपमा हुँदै आएको सुनुवाइ आउँदो हप्ताबाट सार्वजनिक रुपमै सुनुवाइ हुने भएको हो ।
अमेरिकी तल्लो सदनका समितिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गर्दै आएका छन् ।
ट्रम्पमाथिको महाअभियोगको अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ । सार्वजनिक रुपमा हुने सुनुवाइ विदेश मन्त्रालयका तीन अधिकारी सहभागी हुने छन् ।
तीन संसदीय समितिमा रहेका सांसदहरुले अहिलेसम्म प्रत्यक्षदर्शी वा घटनाबारे जानकार रहेका अधिकारीहरुसँग बन्द कक्षमा जानकारी लिँदै आएका थिए ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन संवादमा पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका पुत्र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको खुलेको छ ।
उनले त्यसो नगरे सैन्य सहयोग रोक्ने चेतावनी पनि दिएको आरोप छ । ट्रम्पले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया