बाँके – अहिलेका विश्व चर्चित फुटबलर लियोनल मेस्सी कुनै जमाना ‘बल ब्वाई’ थिए भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो वास्तविकता हो । खेल मैदानमा खेलाडीहरुले खेल्ने क्रममा लाइनबाट बाहिरिएको बललाई खेल मैदानमा पठाउनका लागि बल टिप्न ‘बल ब्वाई’ राख्ने गरिएको छ ।
अहिलेको अन्तर्राष्ट्रिय फुटबलमा चलेका धेरै खेलाडीहरुले आफ्नो खेल जीवनको सुरुवाती चरण ‘बल ब्वाई’ बाट गर्ने गरेका थिए ।
पाँच वर्षको उमेरदेखि नै फुटबल खेल्ने गरेका मेस्सीलाई ‘ग्रोथ हर्मन डिफिसेन्सी’ नाम रोग लागेको थियो । जति बेला उनी ११ वर्षका थिए ।
उनको फुटबल क्षमता देखेर बार्सिलोनाले उपचार गरिदिने भन्दै मेस्सीलाई स्पेन लगेको थियो । जतिबेला उनले बार्सिलोनाका लागि ‘बल ब्वाइ’ को काम गर्ने गरेका थिए । तिनै ‘बल ब्वाई’ अहिले बार्सिलोनाका मात्र नभइ विश्व फुटबलकै केन्द्रका रुपमा रहेका छन् ।
मेस्सी बन्ने सपना !
मेस्सी कुनै बेला ‘बल ब्वाई’ थिए र आज विश्वका चर्चित खेलाडी बने भन्ने कुरा बाँके नेपालगञ्जका अभिषेक बोहराले सुनेका छन् । अभिषेकमा फुटबलको भोक जागेको छ र मेस्सी बन्ने चाह पनि । त्यसकारण अभिषेक चर्को घामको प्रवाह नगरि फुटबलमा तल्लिन् छन् ।
आमाले ‘पढाइमा ध्यान दे’ भन्दै गाली गर्दा पनि उनी फुटबल तर्फ आकर्षित छन् । आठौं राष्ट्रिय खेलकुदका लागि एन्फा नेपालगञ्जले राखेको ‘बल ब्वाइ’का रुपमा चर्को घामको प्रवाह नगरि मैदान बाहिर कुदिरहेका थिए ।
वैशाखको चर्को घाममा बालक ‘बल ब्वाई’
वैशाख १० गते मंगलबारका दिन आठौं राष्ट्रिय खेलकुद अन्तरर्गत पुरुष फुटबल तर्फ सेमिफाइनल खेल नेपालगञ्जस्थित महेन्द्र रंगशालामा सम्पन्न भए । रंगशालामा फाइनलका लागि विभागिय टोली त्रिभुन आर्मी क्लब र आयोजक प्रदेश नम्बर पाँच, अर्को एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेल भयो ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले खेलका लागि ८ जना बल व्वाई मैदानमा खटाएको थियो । खेलाडीहरुबाट मैदानबाट बल बाहिरिए बल नियन्त्रणमा लिई उनीहरु आवश्यक परेको अवस्थामा खेलाडीलाई उपलब्ध गराउँथे । उनीहरुमध्ये एक थिए, नेपालगञ्जका अभिषेक बोहरा ।
राखेपले खटाएका अभिषेकसहित आठै जना बल व्वाई त्यहीँका स्थानीय बालबालिका थिए । जो केही महिना अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुरु गरेको ग्राशरुट कार्यक्रममा सहभागी भएका छन् ।
८ देखि १३ वर्षमुनिका उनीहरु फुटबललाई असाध्यै माया गर्छन् । त्यसैले त त्यस्तो गर्मीकाबीच पनि बल बोकेर मैदानमा खडा भएका थिए ।
नेपालगञ्जको चर्को घामले तातेको मैदानसँगै उनीहरु पनि असिन–पसिन देखिन्थे । अभिषेकसँगै उनका साथिहरु सबै गर्मी मौसम विर्सेर मैदानमा आफ्नो काममा व्यस्त थिए । उनीहरुलाई फुटबलमा अभ्यस्त बनाउन उनका प्रशिक्षकले उनीहरुलाई बल व्वाईका रुपमा राख्ने निर्णय गरेका थिए ।
यहाँनिर कतिपयले कम उमेरका बालबालिकालाई त्यस्तो गर्मीमा त्यसरी खेलका दौरान प्रयोग गर्न पाइन्छ भन्ने पनि प्रश्न गरीरहेका थिए । तर, एन्फाले ८ देखि १३ वर्ष उमेरसमूहका बालबालिकाका लागि शुरु गरीएको ग्रासरुट कार्यक्रममा सहभागी भएकाले त्यसमा सायद धेरैले चाँसो दिएनन् अथवा कतिले थाहै पाएनन् ।
उनीहरु बिहान बेलुका गरेर समय हुँदा ग्रासरुट फुटबल कार्यक्रममा नेपालगञ्जस्थित एन्फाको अभ्यासस्थल पुग्छन् । कति रहरले त कति सपना बुनेर ।
यस्तै बल व्वाई मध्येका एक ८ वर्षे अभिषेक बोहराले आफ्नो सपना नै फुटबल खेल्ने रहेको बताए । त्यतिमात्रै होइन उनले अहिलेदेखि नै स्टार खेलाडीको धोको बुनिसकेका छन् ।
एन्फाले तल्लो स्तरबाटै फुटबलको विकास गर्ने योजना सहित ल्याएको कार्यक्रम हो, ग्रासरुट । यसले स्थानीय स्तरमा खेलाडीको विकासका लागि ठूलो भूमिका खेल्ने फुटबल विश्लेषक सञ्जीव मिश्रले खबरहबसँग बताए । यो कार्यक्रमले देशैभर लोकप्रियता पनि कमाइरहेको छ । देशभर सुरुभएको ग्रासरुटले नेपालगञ्जमा पनि प्रभाव पार्यो । त्यहीँ कार्यक्रममा विगत तीन महिनादेखि आवद्ध भएको अभिषेक खबरहबसँग भने ।
सानो हुँदा अनेक सपनाहरु हुन्छन् त्यसलाई साकार पार्न एक लक्ष्यमा अगाडि बढ्न जरुरी हुन्छ । तर, त्यसमा अभिभावको पनि साथ र सहयोग रहे ती सपना साकार हुन्न्छन् ।
अभिषेकका बुबा ओमकुमार बोहरा नेपाल पुलिसमा काम गर्छन् । उनले आफ्नो छोरालाई फुटबल बारे पनि जानकारी दिन्छन् । छोरालाई फुटबलमा लाग्न हौसाउछन् पनि । जसको फलस्वरुप अभिषेक बाँके एन्फाले सुरु गरेको ग्रासरुट कार्यक्रममा आवद्ध हुने अवसर पाएका छन् ।
फुटबल बारे धेरै जानकार नभएपनि खेल्दै गए मेस्सी जस्तै स्टार खेलाडी भइन्छ, भन्ने उनलाई लागिरहेको छ । त्यसैले त उनलाई कसैले केही सोधे भन्छन्, ‘मेस्सी जस्तै स्टार फुटबलर बन्छु ।’
उनलाई अहिलेसम्म फुटबल मन पर्छ । त्यो मैदानमा पनि देखिन्छ । मैदानबाट बाहिरिएको बल केही समय उनको हातमा बसे उनी सान्त बस्दैनन् बल खेलाइरहन्छन् । त्यसोत, उनी चञ्चले स्वभावका पनि छन् । ‘पहिले देखि नै फुटबल पछ्याउछु । अहिले एन्फामा सिक्दैछु,’ पसिना पुछ्दै उनी भन्छन्,‘फुटबलर बन्छु ।’
आर्मी र घरेलु टोली प्रदशे पाँच मध्यै उनलाई आर्मी मन पर्छ । तर, उनले चिनेको दाइले खेलिरहेकाले प्रदेश पाँचले जितोस भन्ने चाहान्थे । तर, सकेन । आर्मीले जीते पनि उनलाई आफ्नो टोली हारेकोमा दुखी छैनन् । भन्छन्, मन पर्ने टोली आर्मी हो ।
विशालनगर बस्ने उनलाई बिहानै आमाले खाजा खुवाएर, नुहाइधुवाई गरी चिटीक्क पारी फुटबल हेर्न लगाएकी थिइन् । तर, मैदानमा बस्दै गर्दा उनको अनुहार भरी धुलो भरिइसकेको हुन्थ्यो ।
नेपालगञ्ज मोडल एकेडेमिमा कक्षा तीनमा पढ्ने उनलाई आमाले फुटबलभन्दा पढाइका लागि जोड गर्छिन् । तर, उनी समय पाउँदा टिभीमा भएपनि फुटबल हेरिरहन्छन् । विश्व फुटबल उनले चिन्ने खेलाडी भने सिमित छन् । बार्सिलोना क्लब उनलाई थाहा भएको क्लव हो भने मेस्सी उनका मनपर्ने खेलाडी ।
मैदान छेउ उभिएका उनी घरी–घरी घामले घाँटी सुक्दा पानीको घुट्का लगाउँछन् । प्यारापिटमा बसेका दर्शकले हल्ला गरे उतै फर्किएर टुलुटुलु हेर्छन् । केही पछि पुन आफ्नो काममा ध्यान दिन्छन् । उनलाई बल व्वाईका रुपमा बस्न नेपालगञ्ज एन्फामा उनलाई ग्रासरुट गुरुले राखेका थिए ।
मैदानमा जति खेल रोमाञ्चक हुन्थ्यो । त्यतिनै उनका खुट्टा पनि सलबलाउँथे । उनी सम्हाल्न नसक्ने भएपछि बल यता उता खेलाउछन् । फेरि खुट्टामा बल राख्छन् । फेरि एक बल खेलाडीले बाहिर फाल्छन्, उनी आफ्नो काममा व्यस्त हुन्छन् ।
प्रतिक्रिया