हिमपातले पहाडी र हिमाली क्षेत्रमा अत्यधिक चिसो | Khabarhub Khabarhub

हिमपातले पहाडी र हिमाली क्षेत्रमा अत्यधिक चिसो


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबार बिहानदेखि परेको वर्षाका कारण देशका विभिन्न भागमा हिमपात भएको छ ।

शनिवार विहानसम्म जारी रहेको वर्षापछि राजधानी लगायत पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको हो ।

काठमाडौंको अधिकांश डाँडाहरु सेतै देखिएका छन् । फुलचोकी, चन्द्रगिरी, कपन लगायतका स्थानमा हिमपात भएको देख्न सकिन्छ । यसका साथै कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले जनजीवन अस्तव्यस्त भएको छ ।

गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ ।

केही सयम अगाडि रोकिएको हिमपात पुनः बुधबारदेखि शुरुभएर डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा, मुगुको गमगडी बजार सेताम्य भएका छन् भने आसपासका डाँडापाखा तथा जङ्गल पनि हिउँले ढाकिएका छन् । कर्णाली सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भूभागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको छ ।

लगातार परेको हिमपातका कारण उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए ।

हिमपातका कारण सञ्चारका साधन अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डोलगायत बस्ती सदरमुकामबाट सम्पर्कविहीन भएको उनको भनाइ थियो । सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

बाक्लो हिउँ जमेका कारण हिमपहिरोको जोखिम उत्तिकै बढेको छ । शुक्रबार दिउँसो मात्रै हिमपहिरो खसेर थुनिएको सुलीगाड खोला विस्तारै सञ्चालन भएको शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हिमपातका कारण आवतजावत गर्न कठिन भएकाले अन्य स्थानभन्दा उपल्लो डोल्पावासीमा समस्या बल्झिएको छ ।

त्यस्तै रुकुम, जाजरकोटका पश्चिमी क्षेत्रमा समेत भारी हिमपात भएको छ भने हिउँले त्यहाँको जनजीवन पनि कष्टकर बनेको छ । अघिल्ला वर्षहरुमा पुस माघमा मुस्किलले एक दुई पटक हिमपात हुने गरे पनि यस वर्ष लागातारको हिमपातले स्थानीयवासी त्रस्त भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले बताए ।

“हिजो राति शुरु भएको हिमपात अहिले पनि जारी छ, भिरालो जमीनमा बस्ती भएकाले ढुङ्गा तथा पहिरो खस्छ कि भन्ने डरले गाउँवासी नै डराएका छन” उनले भने ।

पटक–पटकको हिमपातले लगाइएको अन्नबाली उत्पादनका लागि राम्रो हुने भए पनि बड्दो चिसोका कारण दैनिक हुने कामकाजसमेत ठप्प हुनाका साथै घरआँगनमै बाक्लो हिउँ जमेकाले भित्र÷बाहिर गर्न, धारा–पँधेरो पुगेर पानी ल्याउन र शौचालय जानसमेत समस्या भएको देवकोटाको भनाइ थियो ।


कर्णालीका चारै विमानस्थल बन्द

शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण कर्णालीका चार वटै विमानस्थल बन्द भएका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि विमानस्थल बन्द भएका हुन् ।

हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण आज नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसक्ने समिट एयर नेपालगञ्ज शाखाले जनाएको छ ।

लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन् । हिउँ जमेका कारण जुफाल विमानस्थल पनि अवरुद्ध छ ।

विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एकसातासम्म हवाई उडान ठप्प हुनसक्ने अनुमान गरिएको नागरिक उड्डयन प्राधिकरण जुफाल शाखाले गरेकोे छ । हिमपातका कारण दुई दिनदेखि नेपालगञ्जबाट कुनै पनि उडान हुनसकेको छैन ।

जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । “डोल्पा जानका लागि तीन दिनदेखि नेपालगञ्ज विमानस्थलमै जहाज कुरिरहेका छौँ, हिउँले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण डोल्पा जान पाएका छैँनाँ”, नेपालगञ्जमा जहाज कुरिरहनुभएका रमानन्द उपाध्यायले भने । “आज फेरि हिउँ परेकाले एक सातासम्म जान नपाइने अवस्था छ, तीन दिनअघि लिएको टिकट फिर्ता गरेर पैदल जाने तयारी गर्दैछौँ”, उनले भने ।

लगातारको हिमपातका कारण कर्णालीका विमानस्थल अवरुद्ध भएको र जिल्ला बाहिर आवतजावत गर्ने आन्तरिक बाटाघाटासमेत बन्द भएकाले कर्णाली मौसमी नाकाबन्दीजस्तै भएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ११ : ३९ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ