नर्सिङ संघको कार्यालयमा दिनभर तनाव, धर्ना बसेका नर्सले शुरु गरे अनसन « Khabarhub

नर्सिङ संघको कार्यालयमा दिनभर तनाव, धर्ना बसेका नर्सले शुरु गरे अनसन


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाजिम्पाटको नेपाल नर्सिङ संघको प्रांगणमा सेतो कोट लगाएका केही नर्सहरु म्याट ओछ्याएर बसेका थिए । संघको कार्यालय पस्ने गेटमा सुरक्षाकर्मीहरु तैनाथ थिए ।

गत आइतबारदेखि संघको कार्यालय अगाडि भक्तपुरको शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्स धर्नामा बसिरहेका छन् । अंग प्रत्यारोपणमा रहेका नर्सहरुलाई अस्पतालले अन्याय गरेको भन्दै विभिन्न मागहरु राख्दै उनीहरु लामो सयम देखि आन्दोलित छन् ।

आगामी आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवस रहेको छ । दिवसको अवसरमा नेपाल नर्सिङ संघले आयोजना गर्ने विशेष कार्याक्रमको विषयमा जानकारी दिन संघले शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनका लागि संघका पदाधिकारीहरु संघको कार्यलयभित्र पस्दै थिए । संघको आगनमा धर्नामा रहेका नर्सहरुले आफूहरुलाई पनि कार्यक्रम हलमा लैजान संघका पदाधिकारीलाई आग्रह गरे । सोहि क्रममा संघका पदाधिकारी र आन्दोलनरत नर्सहरुको भनाभन भयो ।

‘हामीसँग किन डराउनुभएको हामीलाई पनि हलमा ल्यैजानुस्, यो हाम्रो पनि त घर हो,’ आन्दोलनरत नर्सहरुको भीडबाट एकजना नर्सले भनिन् ।’

संघको पत्रकार सम्मेलनमा पुगेका पत्रकारहरु बाहिर धर्नामा रहेका नर्सहरुसँग कुराकानी गर्न थालेका थिए । पत्रकारलाई नै विथोलेर धर्नामा बसेको भन्दै आन्दोलनरत नर्सहरुसँग संघका पदाधिकारीहरु रुष्ट बने ।

‘सेतो कोट लगाएकी छौं, रातो लिपिस्टिक लगाएकी छौं, चिटिक्क छौं नि के हो तनाव छ ?’संघको कार्यालयभित्र पस्नै लागेकी एकजना पदाधिकारीले आन्दोलनरत नर्सहरुलाई यस्तो भनिन् ।

त्यसपछि आन्दोलनरत नर्सहरु आक्रोशित बने । त्यसपछि संघका पदाधिकारी र आन्दोलनरत नर्सहरुको केही समय भनाभन चल्यो ।

‘नर्सिङ डे हाम्रो लागि होइन, हामी पनि नर्स हो ५ दिनदेखि घरै नगइ हामी यहाँ बसेका छौं, बोलाउनुस् आजपनि प्रहरी हामीलाई घिर्सानुस्  ।’ आन्दोलनरत एक नर्सले आक्रोश पोखिन्, ‘नर्सको कार्यक्रम नेतालाई खुसी पार्ने मात्रै हो, हामीलाई किन जान दिइएन, तपाईको काम सुरक्षा दिने हो त्यहि काम गर्नुस् ।’

आक्रोशित नर्सहरुले सुरक्षा कर्मीलाई पनि थर्काए । संघको प्रांगणमा दुईपक्षबीचको भनाभन नसक्किदै संघको कार्यलय भित्र फेरि अर्को चर्काचर्की भयो ।

संघका अध्यक्ष तारा पोखरेल र पदाधिकारीले संघको कार्यलयभित्र सुरक्षाकर्मीले राम्रोसँग सुरक्षा नदिएको भन्दै प्रहरीलाई थर्काउन थाले ।
आन्दोलनरत नर्सहरुसँगको रिस समेत उनीहरुले प्रहरीलाई पोखे ।

‘तपाईहरु हामीलाई सुरक्षा दिन आउनु भएको होइन, हाम्रो कार्यक्रम विथोलिन लाग्दा तपाईहरु नै आन्दोलन गर्नेहरु पक्षतिर लाग्ने, सुरक्षाकर्मी हामीलाई चाहिदैन जानुस् तपाईहरु हामीलाई सुरक्षा दिनु पर्दैन ?’ संघका पदाधिकारीहरु एकसुरक्षा कर्मीसँग एकैपटक खनिए ।

‘तपाईहरुले भन्नुहुन्छ भने हामीले उहाँहरुलाई यहाँबाट बल प्रयोग गरेरै पनि हटाउछौं, तपाईहरु किन आक्रोशित बन्दै हुनुहुन्छ ? हामीले केही बोलेको छैन’ संघका पदाधिकारीलाई ती सुरक्षा कर्मीले भने, ‘हामीले तपाईहरुलाई सुरक्षा हुने वातावरण गर्ने हो ।

संघका अन्य पदाधिकारीहरुले आक्रोश पोख्दै भने, ‘ तपाईहरु हामीलाई चाहिदैन, सुरक्षाकर्मीको अनुरक्षाको कारण कार्यक्रम स्थगित भनेर टाँस्दिम ।’

संघका पदाधिकारीले गेटमा कार्यक्रम स्थागितको सूचना नै टाँसे ।

एकघण्टासम्म संघको कार्यालय भित्र पदाधिकारीबीच नै विवाद भयो । त्यसपछि ३ बजे पत्रकार सम्मेलन शुरु गरे ।

अन्तराष्ट्रिय नर्सिङ दिवसको लागि पत्रकार सम्मेलन गरेको संघले निकै हतासमा कार्यक्रम गर्‍यो ।

कार्यक्रममा पत्रकारहरुको प्रश्नपछि नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले अंग प्रत्यारोपणका नर्सहरुको न्यायको लागि आफुहरु लडिरहेको बताइन् ।

‘उहाँहरुले गेटमा आन्दोलन गरीरहदा हामीलाई पनि दुःख लागेको छ । हामीले उहाँहरुको माग सम्बोधनका लागि लागिरहेका छौं । उहाँहरुले संघकै ताला समेत लगाउनुहुन्छ,’ संघकी अध्यक्ष पोखरेलले भनिन्, ‘उहाँहरुको माग र पत्रकार सम्मेलनको विषय फरक भएकाले उहाँहरुलाई हलमा नल्याइएको हो ।’

कार्यक्रममा संघकी अर्की पदाधिकारीले आन्दोलनरत नर्सहरुलाई आफूहरुले सम्झाउ नसकेको बताइन् ।

धर्नाबसेका नर्सहरुले शुरु गरे अनसन
यता आफूहरुको माग सम्बोधन नभएको भन्दै दुईजना नर्सहरुले अनसन शुरु गरेका छन् । अस्पताल र नेपाल नर्सिङसंघकै कार्यालय अगाडि लामो समयसम्म धर्ना दिएर बसेका नर्सहरुको आन्दोलन अनसनमा परिणत भएको छ ।

अंग प्रत्यारोपण केन्द्रका ९६ जना नर्सहरु समस्या पर्दा संघले राजनीति मात्रै गरेर बसेको भन्दै नर्सहरुले अनसन शुरु गरेका हुन् । पोखराबाट आएकी नर्स जिता बरालले २ बजेदेखि लाजिम्पार्टको नेपाल नर्सिङ संघको कार्यालय अगाडी अनसन शुरु गरेकी छन् भने अंग प्रत्यारोपणमा कार्यारत नर्स डिकी शेर्पाले अस्पतालमै अनसन बस्दै छिन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ६ : ११ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को