प्रहरी

एसएसपी बढुवाले प्रहरीभित्र असन्तुष्टि, एसपीले दिए पदबाट राजीनामा

By खबरहब

February 10, 2019

काठमाडौं– नेपाल प्रहरीको उपरीक्षक (एसपी) पदबाट वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाको विषयलाई लिएर असन्तुष्टि जनाउँदै एकजना एसपीले पदबाट राजीनामा दिएका छन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले आइतवार विहान प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

प्रहरी प्रधान कार्यालयले एसपी उप्रेतीले राजीनामा बुझाएको पुष्टि गरेको छ । स्रोतका अनुसार उनले राजीनामा पत्रमा ‘नैतिक रुपमा संगठनको जिम्मेवारीमा बस्न नसकिने भएको’ भन्दै राजीनामा पत्र लेखेको छन् ।

एसपी उप्रेतीले भने राजीनामाको विषयमा कुनै प्रतिक्रिया दिन मानेन् । यद्यपि उनले विहान कार्यालय समयमै मातहत निकायका अधिकृत र प्रहरी कर्मचारीलाई बोलाएर आफूले प्रहरी सेवा छाड्न लागेको भन्दै जिम्मेवारीमा नफर्किने भनेर ब्रिफिङ गरेका थिए ।

‘बढुवाको विषयमा असन्तुष्टि भन्ने विषय बाहिर सुनिनमा आएको छ । उहाँले (एसपी उप्रेती)ले यस विषयमा हामीसँग त केही भन्नुभएन, तर विहानै आफू मातहतका अधिकारीलाई बोलाएर अब प्रहरीको जिम्मेवारीमा नफर्किने भन्ने हिँड्नुभएको छ,’ महानगरीय अपराध महाशाखामा कार्यरत एक अधिकृतले खबरहबसँग भने, ‘अहिले उहाँ कार्यालयबाट बाहिरिसक्नुभएको छ ।’

जुनियर परेको भन्दै असन्तुष्टि

माघ पहिलो साताको मन्त्रिपरिषद वैठकबाट प्रहरी नियमावली संशोधन भएसँगै प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाका प्रतिस्पर्धीबीच दौडधूप शुरु भइसकेको थियो ।

प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम (१) मा प्रहरी सेवाका राजपत्राकिंत अधिकृत पदको बढुवाका लागि ४ वर्षको सेवा अवधि तोकिएको थियो । जसअनुसार एसएसपीमा बढुवा हुनका लागि ४ वर्ष एसपीको कार्यकाल पूरा भएको हुनुपर्थ्यो । मन्त्रिपरिषदको वैठकले नियमावली संशोधन गरेर ४ वर्षको ठाउँमा ३ वर्ष कायम गर्‍यो ।

मन्त्रिपरिषदको निर्णयानुसार ३ वर्ष एसपीमा सेवा अवधि पूरा गरेका ३३ जना एसएसपीको बढुवाका लागि लाइनमा थिए । जसमध्ये केही २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतहरु थिए भने २०५२ को ब्याचका पनि एसएसपीको बढुवाको लाइनमा थिए ।

शनिवार सार्वजनिक गरिएको बढुवा सिफारिसको सूचीमा १४ जना एसपीलाई एसएसपीमा बढुवा गरिएको छ । जसमध्ये ११ जना २०५१ को ब्याचका छन् भने ३ जना २०५२ को ब्याचका छन् ।

एसपी नरेन्द्र उप्रेती २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । अहिलेको बढुवाको रोलक्रममा उनी २०५१ को अधिकृतहरुमध्ये १४ नम्बरमा थिए । तर, २०५२ को ब्याचका तीनजना एसपीलाई एसएसपी बनाइँदा उप्रेती बढुवाका लागि सिफारिस भएनन् ।

एसएसपीमा बढुवा सिफारिस भएका दीपक थापा, टेकबहादुर तामाङ र भिमप्रसाद ढकाल २०५२ को ब्याचका अधिकृतहरु हुन् ।