काठमाडौं-याङ्दी शेर्पा एक अनुभवी ट्रेकिङ गाइड हुन्। साहसिक काम गर्न रुचाउने उनी हिमाल आरोही पनि हुन् । सन् २०१२ देखि गाइडका रुपमा काम गर्दै आएकी उनी धेरै पटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेकी छन् ।
विश्वको छानाका रुपमा रहेको प्रकृतिको अनुपम उपहार सगरमाथाको काखमा लुटपुटिँदै शिखर चुम्न पनि याङ्दी सफल भइन् । सगरमाथाको काख र आधार शिविरमा आफ्नो कामकै शिलशिलामा पुगेकी उनी सन् २०१८ मे १६ मा सफल सगरमाथा आरोहीको सूचीमा पनि सुचिकृत भईन ।
ट्रेकिङ गाइडका रुपमा नेपाली महिलाले काम गर्नु कम चुनौतिपूर्ण छैन । विभिन्न मुलुकका पर्यटकसँग आफ्नो घर र गाउँठाउँबाट धेरै दिन बिताउनु पर्ने भएकाले मानिसहरु कुरा काट्छन् । याङ्दीले सबै भोगेकी छिन् । यसलाई लैंगिक विभेद भन्छन् भन्ने उनलाई थाहा छ । यो उनीमात्र होइन पर्यटकका लागि काम गर्ने महिला भरियाहरुले पनि यस्तै विभेद भोग्दै आएका छन् ।
‘हाम्रो आफ्नै मुलुक र समुदायमा मजस्ता महिलाहरु हाम्रा आफ्नै मानिसहरुबाट आक्रमणको तारो बन्दै अएका छौं । उनीहरुले हामीलाई यसरी हेर्छन् कि मानौ हामीले केही गलत गरिरहेका छौं । वा हामीले कसैको सम्पत्ति चोरेका हौं ।’ उनी प्रश्न गर्छिन्, ‘हामी काम गरेर कमाइ गरिरहेका छौं । किन यसलाई गलत नजरले हेरिन्छ ?’ उनी भन्छिन्, ‘महिला हुन् कि पुरुष सबैले लामो समयसम्म घर बाहिर काम गर्न जानुपर्ने मजस्ता महिलासँग यस्तो व्यवहार देखाउँछन् । हाम्रो कामको आलोचना गर्छन् । यस्ता मानिसहरुले न त कसैलाई जागिर दिन सक्छन् । हामीले मेहनत गरेर पैसा कमाउँदा पनि आलोचना गर्छन् । मजस्तै धेरै महिलाहरुले यही व्यवहार भोगेका छौं ।’
आफ्नै मानिसहरुबाट आलोचना र दुर्व्यवहारको शिकार भएपनि उनले जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गरिरहेका सगरमाथा जस्ता हिमाललाई हेरेर पाठ सिकिरहेकी छिन् । उनी पनि आफ्नो काममा सगमाथाजस्तै अटलताका साथ दृढ छिन् । जस्तोसुकै आलोचना वा नकारात्मक बचन आइपरे पनि उनी निडर भएर आफ्नो काममा लागिपरेकी छिन् । उनी आफ्नो पेशाप्रति प्रतिबद्ध छिन् । उनलाई परिवारको पूर्ण साथ छ । त्यसैले उनलाई आफ्नो पेशामा दृढ रहन हौसला मिल्दै आएको छ । आफ्नो पेशा कै कारण अब त उनी सगरमाथा आरोही पनि बनिसकेकी छिन् । उनी आफूसँग रहने पर्यटकहरुबाट समेत हौसला पाउँछिन् । पर्यटकहरु महिला वा पुरुष जो भएपनि ट्रेकिङ गाइड पेशाको उत्तिकै सम्मान गर्छन् ।
आफ्नो पेशाको प्रकृतिका कारण उनी हिमाल आरोहणका विभिन्न अवसरहरु पनि पाउने गरेकी छिन् । आफ्नो कामका क्रममा उनले मेरा पिक (६,४७६ मिटर), आइल्याण्ड पिक (६,१८९ मिटर), रामडुङ पिक (५,९२५ मिटर) को आरोहण गरिसकेकी थिइन् । उनका लागि यी हिमाल आरोहण चाहिँ सगरमाथा आरोहण गर्नका लागि मानसिक रुपमा तयार हुनका लागि थियो ।
अन्ततः उनले सन् २०१८ मे १६ का दिन सगरमाथाको शिखरमा पाइला राखिन् । उनका लागि यो निकै रोमाञ्चक अनुभव थियो । उनी भन्छिन्, ‘जब म सगरमाथाको शिखरमा थिएँ, मलाई स्वर्गजस्तै लागेको थियो । मेरो खुशीको सीमा थिएन । म आफ्ना हातले बादल समात्न सक्थेँ ।’
उनले सगरमाथा आरोहणका क्रममा घटेको एक महत्वपूर्ण घटना सुनाइन्, ‘सगरमाथाको शिखरमा मेरो खुट्टा चिप्लेका बेला साथीले मलाई नसमातेको भए म आफ्नो कहानी सुनाउँन यहाँ हुन्नथेँ होला ।’
उनी सगरमाथाको शिखरमा पुगेकोमा निकै नै खुशी थिइन् । त्यसैबेला उनको खुट्टा चिप्लिन पुग्यो । धन्न उनका एकजना साथीले बेलैमा उनलाई समातेर उनलाई तल खस्न दिएनन् । यो भोगाइबाट यो पेशा कति जोखिमपूर्ण छ भन्ने स्पष्ट हुन्छ ।
महिला हुनुका नाताले लैंगिक समानता र लैंगिक अधिकार उनका लागि निकै महत्वपूर्ण छन् । समाजमा आफ्नो हक अधिकारका लागि लड्ने महिलाप्रति आफ्नो सगरमाथा आरोहण समर्पित रहेको उनी सुनाउँछिन् । उनी आफ्नो सोलुखुम्बु जिल्लाका अरु दुई साथीहरुसँग मिलेर सथरमाथा आरोहण गरेकी थिइन् ।
आफ्नो गाउँबाट सगरमाथा आरोहण गर्ने उनी पहिलो महिलासमेत बन्न सफल भइन् । उनको आरोहण दलमा पासाङ ल्हामू गाउँपालिका १ कि पासाङ ल्हामू शेर्पा, पासाङ ल्हामू गाउँपालिका ३ कि ल्याक्पा याङ्गी शेर्पा र दुधकुण्ड नगरपालीकाकी याङ्दी शेर्पा सामेल थिए । उनीहरु सबै ट्रेकिङ गाइडका रुपमा काम गर्ने महिलाहरु हुन ।
उनका अनुसार सरकारले डोरी टाँगेका कारण सगरमाथा आरोहण सहज नै छ । तैपनि आरोहीहरुले सगरमाथा आरोहणका लागि शारीरिक संघर्ष भने धेरै नै गर्नुपर्ने उनको अनुभव छ । उनी भन्छिन्, ‘मलाई सगरमाथाको शिखरमा पुग्छुजस्तो लागेको थिएन । तर, जब म बिना अक्सिजन नै ७ हजार मिटरको उचाईमा पुगेँ, त्यसपछि मेरो आत्मविश्वास बढ्यो । यसले मलाई अझै पनि उर्जा दिन्छ ।’
याङ्दी हिमाल र सगरमाथा बिना बाच्न सक्दिनन् । उनको जीवन यसैले धानेको छ । उनले अझै धेरै हिमाल आरोहणको योजना बनाएकी छिन् ।
प्रतिक्रिया