काठमाडौं- वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बीपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ ।
बीपी कोइराला स्मृति ट्रष्टले रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान ‘बैरागी काइँला’लाई प्रदान गरेको हो ।
यसैगरी रु ५१ हजार राशिको ‘बीपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याएका सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएको छ । दुवै सम्मान नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रदान गरेका हुन्।
कार्यक्रममा कांग्रेस नेता कोइरालाले बीपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताउँदै बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न कांग्रेस खरोरुपमा उत्रनुपर्ने उल्लेख गरे ।
गणतन्त्र र सङ्घीयतालाई सम्बद्र्धन गर्न सङ्घीय सरकारले आवश्यक काम गर्न नसकेको आरोप लगाउँदै नेता कोइरालाले यसका लागि लोकतान्त्रिक शक्ति र नागरिक समाज जुर्मुराउने बेला आएको बताए । सरकारले संसद्मा अघि बढाएका केही विधेयक लोकतन्त्रविरोधी भएको टिप्पणी गर्दै उनले यसमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले बीपी कोइरालाबाट आफूले असल बन्नुपर्छ भन्ने र असल काम गर्ने प्रेरणा पाएर सोहीअनुसार अघि बढेको बताइन् । राजनीतिक विश्लेषक डा हरि शर्माले बीपीले अपनाएको सिद्धान्त र दूरदर्शी सोचलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्दै मुलुकमा भ्रष्टाचार, महङ्गी र असुरक्षा बढ्दासमेत कांग्रेसले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार बैरागी काइँला र मधुकान्त सिंह, पूर्वराजदूत डा सुरेश चालिसे, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, प्रा अभि सुवेदी, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले बीपीले मुलुकका लागि गरेको राजनीतिक र साहित्यिक योगदानको चर्चा गरेका थिए ।
प्रतिक्रिया