हनुमानढोकामा भैरवको मूर्ति प्रदर्शन | Khabarhub Khabarhub

हनुमानढोकामा भैरवको मूर्ति प्रदर्शन


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -आज भाद्र शुक्ल द्वादशीमा हनुमानढोका परिसरमा इन्द्रध्वजा उठाएपछि भैरवका मूर्ति प्रदर्शन गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा विधिपूर्वक इन्द्रध्वजा फहराउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो तयार पार्न नालास्थित वनबाट रुख काटेर ल्याइएको थियो । हनुमानढोका नजिकै रहेको श्वेतभैरवको मूर्ति पनि आजदेखि एकसातासम्म सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिएको छ । आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी सिँगार गरिन्छ । उक्त मूर्तिलाई किराँती राजा यलम्बरको शिरका रुपमा मानिएको छ ।

सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाड दशैँ, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई पुरानो चाडका रूपमा लिइन्छ । इन्द्रध्वजा फराइएपछि एक हप्तासम्म इन्द्रजात्रा पर्व शुरु भएको मानिन्छ । यस अवधिमा विभिन्न नाच, गान, रथयात्रा गरी आश्विन कृष्ण चौथीका दिन बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको दर्शन गर्न वसन्तपुरमा राष्ट्र प्रमुख, सरकार प्रमुख, संवैधानिक अङ्गका प्रमुख, उच्चपदस्थ अधिकारी, विदेशी पाहुनाको सहभागिता हुने गर्दछ । यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति तत्कालीन कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालादेखि चलिआएको हो । जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयं रथमा बसी नगर परिक्रमा गरेको बताइन्छ ।

हनुमानढोका दरबार आसपास क्षेत्रमा कालभैरवको मूर्ति अगाडि लिङ्गो ठड्याइनुलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गो ठड्याउँदा सेना, सशस्त्र प्रहरी, गुरुजुको पल्टनले विभिन्न बाजा तथा मङ्गलधुन बजाउनका साथै तोप पड्काएका थिए ।

स्वर्गलोकका राजा इन्द्रले आफ्नी आमाले लिएको बसुन्धराको व्रत पूरा गर्न काठमाडौँ आएर पारिजातको फूल टिपेकामा स्थानीयवासीले नियन्त्रणमा लिएर डोरीले बाँधेको किंवदन्ती पाइन्छ ।

इन्द्रलाई छुटाउन उनकी आमा आएर इन्द्रलाई फर्काएर लगेको स्मरणमा जात्राको प्रचलन शुरु भएको जनविश्वास छ । नेवार समुदायले विभिन्न टोलमा समयबजि बाँडने, धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बनाएर प्रसाद वितरण गर्ने गर्दछन् ।

रथ परिक्रमा सकिएपछि मरूटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सत्बीज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्ने गर्दछन् । हनुमानढोका वरपर क्षेत्रका विभिन्न टोलमा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने तथा लाखे नाच गरिन्छ । बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तको शान्तिको कामना गर्दै धारणी स्तोत्र पाठ गर्ने गर्छन् ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले यहाँका प्राचीन सभ्यता तथा संस्कृतिको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै पुराना जात्रा तथा पर्वले सहिष्णुता र देशभित्र रहेको विविधताभित्र एकता कायम गर्ने विश्वास व्यक्त गरे । यही भदौ २७ गते भाद्र शुक्ल चतुर्दशीका दिन परेको इन्द्रजात्राका दिन दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको भीड लाग्दछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ९ : ४० बजे

गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै

दुबई– इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि

स्वास्थ्य बिमा ऐन संशोधन : हरेक तहमा सेवाप्रदायक संस्था रहने 

काठमाडौं– स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा

यसकारण कस्सियो फाइभ–जी सञ्चालनको गाँठो

काठमाडौं – दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा

 मकर संक्रान्तिको अवसरमा खिचडी भोज

जनकपुरधाम– मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका युवाहरूले खिचडी भोजको आयोजना

धनुषा धाममा मकर मेला

महेन्द्रनगर– यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषा धाममा आज बिहानैदेखि एकमहिने मकर