इरान– पहिलोपटक इराकको भ्रमणमा निस्केका इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाको तीब्र आलोचना गरेका छन् । तीन दिने इराक भ्रमणका लागि निस्केका राष्ट्रपति रौहानीले राजधानी बगदादमा अमेरिकाको हस्तक्षेपकारी शैलीको आलोचना गरेका हुन् ।
उनले इराक, सिरिया र मध्यपूर्वका अन्य मुलुकमा अमेरिकाले बम खसालेको कुरा कसैले विर्सन नसक्ने समेत जनाएका हुन् । सोमबार इराक भ्रमणमा जानुअघि राष्ट्रपति रौहानीले इरानसँग इराकको भातृत्वपूर्ण सम्बन्धको तुलना इराकसँग आक्रमणकारी मुलुक अमेरिकाको सम्बन्धसँग तुलना हुनै नसक्ने टिप्पणी गरेका थिए ।
उनले इराकमा रहँदा उच्च इराकी अधिकारीसँग व्यापार, कृषि, पेट्रोलियम, यातायात, स्वास्थ्य लगायतका विषयमा छलफल हुने बताइएको छ । इराक भ्रमणमा रहँदा रौहानीले राजधानी बगदादको खदिमिया क्षेत्रमा रहेको शिया मुसलमानको पवित्र समाधीको भ्रमण गर्ने समेत कार्यक्रम छ ।
प्रतिक्रिया