ठेलामा मःम बेच्ने २५ वर्षे नवराजको सफलता | Khabarhub Khabarhub

ठेलामा मःम बेच्ने २५ वर्षे नवराजको सफलता



काठमाडौं-केही वर्षअघि पशुपति शर्माको ‘मलाई अमेरिका यहि मलाई जापान पनि यही’ गीतले खुबै प्रशंसा पायो ।

धेरैका लागि यो गीत रमाइलोका लागि मात्र बन्यो तर केहीका लागि यो गीत गुरु बन्यो । गीतमा बोलिएका प्रत्येक शब्द प्रेरक जीवन उपयोगी सीप बने ।

स्वदेशमै केही गरौं भन्ने सोचका साथ साना र लघु उद्यम गर्दै आएका युवाका लागि भने पशुपतिको गीत एक उर्जा बन्यो । यसरी देशमै पसिना बगाएर सफल बन्ने उद्देश्यका साथ मेहनत गरिरहेका युवा हुन्- गुल्मीका २५ वर्षे नवराज भण्डारी ।

उनको मेहनत परिश्रमले उनलाई हङकङ, बेलायत, सिंगापुर अमेरिका नै चावहिलको स्तुपा बनेको छ । उनलाई मात्र होइन उनको ठेलामा मःम खाना आउनेहरुले पनि कुनै ‘रेष्टुरेन्ट’ भन्दा कम महशुस गर्दैनन् ।

परिश्रम र मेहनत गर्नेहरु स्वदेशमै रमाउँछन् । विदेशमा गएर मात्र पैसा कमाउन सकिन्छ भन्ने सोच हुनेहरुका लागि नवराज एक उदाहण पनि बन्न सक्छन् ।
नवराजको स्थायी घर गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नम्बर १ हो । सानै छँदा उनका बुबाको मृत्यु भयो । उनी परिवारका कान्छा छोरा । गाउँमै जन्मिएका उनी बिहानबेलुका खेतीपातीमा काम गर्थे साथै दिउँसो विद्यालय जान्थेँ । पढाई पनि राम्रै थियो उनको ।

नवराज एसएलसी पास गर्नसाथ उच्च शिक्षाको खोजीमा ०६८ सालमा काठमाडौं प्रवेश गरे । शुरुमा तिनकुनेमा डेरा लिएर दाजुसँग बसे । ‘गाउँबाट एसएलसी पास भएर क्याम्पस पढ्न आएँ, क्याम्पस भर्ना पनि भएँ’उनले काठमाडौंका शुरुका दिन दिन सुनाउँदै हसिँलो चेहेरासहित मुस्कुराउँथे । अनि केहि मलिन अनुहार लगाएर भने, ‘पढ्ने भनेर आएको अचानक कलेज जान मनै लागेन ।’

एक्कासी उनको धनी बन्ने उनको रहरका कारण कलेज जाने रहर टुटेको रहेछ । ‘मलाई पनि विदेश जाने रहर लाग्यो । बेलैमा धेरै धन कमाउन विदेश नै उपयुक्त हो भन्ने लागेको थियो,’ नवराजले भने, ‘विदेश जाने रहरले नै क्याम्पस छोडेँ । म कतार पनि गएँ । त्यहाँ पुगेपछि नेपालमै केही गर्नुपर्छ भन्ने भावना पलायो । अहिले यहाँ जसोतसो गरिरहेको छु ।’

५ वर्षअघि उनी पैसा कमाउन कतार पुगेका रहेछन् । थोरै लगानीमा ६ महिनाका कतार बस्ता आम्दानी राम्रै भएको उनले सुनाए । तर कतारमा काम गर्दै-गर्दै उनलाई नेपालमा गएर केही गर्नुपर्छ भन्ने सोच आउन थाल्यो । ‘कतारमा महिनाको ५० हजारसम्म कमाउथेँ, तर विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर पैसा बचत गर्न थालेँ’नवराजले भने ।

त्यही सोचलाई साकार पार्न उनी आफूले कमाएको पैसा लिएर ६ महिनापछि नेपाल फर्किए । आफ्नै जन्मभूमिमा फर्किंदा अब जे गर्छु, स्वदेशमै गर्छु भन्ने सोच आएको थियो उनलाई ।

काठमाडौं आएसँगै चावहिल स्तुपा छेउमा डेरा लिए । श्रीमती र एक छोरासँगै रमाउँदै बस्न थाले । दुःखसुख जेभएपनि परिवारसँग बस्न पाउँदा छुट्टै आनन्द हुने नवराजले सुनाए । भन्छन्, ‘पैसा मात्र ठुलो कुरा होइन रै’छ, परिवारको साथमा बस्न पाउनु नै खुसीको कुरा हो ।’

काठमाडौंको ठाउँ । महंगी उस्तै । जागिर बिना कसरी बस्न सकिन्थ्यो र ? ‘पाइलैपिच्छे पैसा लाग्थ्यो’ उनले थपेँ । फेरि कतारबाट आउँदा ल्याएको पैसा पनि बिस्तारै खर्च हुदै जान थाल्यो ।

के गर्ने ? कसरी पैसा कमाउने ? व्यापार व्यवसाय गर्न नि प्रशस्त लगानी लाग्छ ! उनी मनमनै सोच्थे । पहिल्यै कुक सिकेकाले उनलाई होटलप्रतिको मोह थियो । त्यसलाई प्रयोग गर्ने सोचले उनले ठेला बनाउन दिने र त्यसमा मःम बनाएर बेच्ने कल्पना गरे ।

ठेलामा मःमको व्यापार

नवराजले करिब ४ वर्षअघि ५० हजार लगानीमा ठेला मःम राख्न शुरु गरे । ‘कसैलाई चिनेको थिइनँ, नयाँ व्यवसाय शुरु गर्दै थिए, व्यापार होला कि नहोला भन्ने चिन्ताले पिरोल्थ्यो’ उनले विगतलाई सम्झदैँ भने ।

तर मेहनती नवराजको परिश्रमलाई सबैले मन पराउन थाले । एका-एक व्यवसाय राम्रो बन्दै गयो । मानिसहरु दैनिक जसो उनको ठेलामा मःम खान आउन थाले ।

सुरुवाती दिनमा नै राम्रो व्यापार हुन थाल्यो । दिनभरी स्तुपाको फुटपाथमा मःम बेच्न बस्ने गरेको बताउँदै नवराज भन्छन्, ‘मासिक एक-डेढलाख सम्म कमाउने गर्थे’।

तर केही समयपछि महानगरले फुटपाथमा बेच्न नदिने नियम ल्यायो । नियम उल्लङघन गर्नेलाई कारवाही र जरिवाना पनि हुन्छ भन्यो त्यसपछि व्यापार अलि सुस्ताएको अनुभव उनले सुनाए ।

महानगरले रोक्दैमा उनको कमाइ खाने भाडो कहा सुक्थ्यो र ? भन्छन्, ‘जाँगर हुनुपर्‍यो, काम गर्नका लागि जति पनि अवसर छन्’ । अब झन अर्को विकल्प पनि रोज्न थाले उनी ।

बिहानको समय अर्कै व्यवसाय सुरु गर्ने सोचे । उनको सोचसँगै अर्को व्यवसाय पनि सुरु भयो ‘ठेलामा जुत्ता चप्पल बेच्ने’। ‘बिहान जुत्ता चप्पल बेच्ने र बेलुकी मःम बेच्ने सोच बनाएँ, यी सबै काममा जीवन साथीको सहयोगले अघि बढ्दै गएँ’नवराजले खुसी हुदै भने ।

जुत्ताचप्पल र मःमसँग गाँसिएको दैनिकी

उनी बिहान सवेरै उठछन् । ठेलामा जुत्ता चप्पल मिलाएर राख्छन् र ७ बजेतिर डेराबाट निस्कछन् । ठेला धकेल्दै चावहिल, चुच्चेपाटी, बौद्ध, कुमारीगल, गौरीघाट, मित्रपार्कसम्म पुग्छन् । उनले ठेलामा एक सय देखि ४ सय रुपैँयासम्मका जुत्ता चप्पल बेच्न राखेका छन् ।

ठेला गुडाउँदै घुम्ने क्रममा उनी १२ बजे चावहिल आइपुग्छन् । थकान महशुस गर्दै डेरातिर पस्छन् । खाना खान्छन् र हत्तारहत्तार गर्दै मःम र ससेजका लागि सामग्री तयार पार्दै ठेला स्तुपा अगााडी लैजान्छन् । दिउँसोको ३ बजेदेखि बेलुकी ८ बजेसम्म उनको ठेला वरिपरी मःम खानेहरुको लाइन बन्छ ।

कुराकानीका क्रममा मुसुक्क हास्दैँ उनी भन्छन्, ‘लामो समय भएकाले पूरानै ग्राहक बढि आउँछन्, नयाँ ग्राहकहरुले पनि मिठो मान्छन्, थपी थपी खान्छन् ।’ ‘व्यापार पनि राम्रै छ मासिक ७० हजारसम्म आम्दानी हुन्छ’उनले भने ।

ग्राहकसँग मीठो बोली बोल्ने बानी र गर्ने व्यवहारले पनि होला उनको ठेलामा मःम खानेको भीड सधै उस्तै देखिन्छ । उनी भ्याइनभ्याइ काम गरिरहन्छन् । ‘दैनिक ८० प्लेटसम्म मःम बेच्छु, ४ केजीसम्म ससेज बेच्छु’उनले भने ।

मःमबाट राम्रै कमाइरहेका उनले जुत्ता चप्पलबाट पनि चित्त बुझ्दो आम्दानी भएको सुनाउँछन् । ‘कहिले एकै दिन ४/५ हजारको व्यापार हुन्छ, कहिले ५ सयको मात्रा हुन्छ’उनले भने । साथै निरन्तर खट्न सकेमा राम्रै व्यापार हुने उनको भनाई छ । कामप्रति उनको लगावले पैसा कमाउन मेहनत र लागाव चाहिन्छ भन्ने बुझ्न सकिन्छ ।

‘पैसा कमाउनका लागि संघर्ष त चाहिन्छ नै तर बढि परिश्रम चाहिँदैन । दिमाग लगाउन सकेमा आनन्दले पैसा कमाउन सकिन्छ’उनी भन्छन् । नेपालमा जागिर नै छैन भन्दै युवाहरु वैदेशिक रोजगारीमा जाने गर्छन् तर सोच्ने हो भने जताततै रोजगारका स्रोत छन् । थोरै र साना व्यवसायबाटै कामको थालनी गर्नुपर्छ । अन्तमा उनले भने, ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन स्वदेशमै पनि पैसा फलाउन सकिन्छ । तर, सकारात्मक र सिर्जनात्मक सोच चाहिन्छ ।’

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ८ : ०१ बजे

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ