‘हिमचितुवा’को नामबाटसमेत परिचित आङरिता शेर्पाले १५ वर्षको उमेरदेखि भरियाका रुपमा पर्वतारोहणको क्षेत्रमा काम शुरु गरेका थिए । सानो उमेरमा भने उनी चौरी चराउने, सामानहरु तिब्बत लगेर विक्री गर्ने तथा खेतिपातीको हेरचाह गर्ने गर्थे ।
अक्सिजनको सहाराबिना सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गरी दुई पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल आङरिता कलिलो उमेरमा नै आफू अनाथ बन्न पुगेको र परिवार पाल्नुपर्ने बाध्यताले पर्वतारोहण क्षेत्रमा लागेको बताउँछन् ।
१० पटकसम्म अक्सिजनको सहाराबिना सगरमाथाको आरोहण गर्नु चानचुने कुरा होइन । शुरुमा उनलाई पनि अक्सिजन बिना सगरमाथा आरोहण गर्नु सहज थिएन । तर, सन् १९८३ मा पहिलोपटक अक्सिजनबिनै उनी सगरमाथाको शिखरमा पुग्न सफल भए ।
धौलागिरी हिमाल आरोहणका लागि शुरुमा उनी कम उचाईको भरियाका रुपमा सामेल भएका थिए । पछि उनले खुट्टामा जुत्ता र अन्य आरोहणका उपकरण बिनै धौलागिरीको क्याम्प ३ सम्म पुग्नुपर्ने भयो ।
धौलागिरीको क्याम्प ३ को सफल आरोहणपछि उनमा नयाँ उत्साह थपिसकेको थियो । उनले त्यसपछि अझ माथिल्लो उचाईसम्म पुग्ने निधो गरे । तर, उनीभन्दा ‘ठूलाबडा’ ले उनमा ‘अनुभव’ नरहेको भन्दै क्याम्प २ भन्दा माथि लैजान नमानेपछि उनको धोको पूरा भएन ।
आत्मविश्वास र क्षमताका बावजुद समयले सँधै साथ भने नदिएको उनी सुनाउँछन् । आरोहण अभियानका क्रममा आफू अपमानको पात्र बन्नुपरेका किस्सा पनि उनीसँग धेरै छन् । तर, जे जस्तो अवस्था र परिस्थिती आएपनि उनले हिम्मत भने कहिल्यै हारेनन् ।
उनको भाग्यको ढोका बल्ल त्यतिबेला खुल्यो, जब स्विट्जरल्याणको आरोहण दलले उनलाई धौलागिरी हिमाल आरोहणका लागि बढी उचाईसम्म साथै जाने भरियाका रुपमा सामेल हुन प्रस्ताव गर्यो । उनका लागि यो सपनाजस्तै थियो । त्यसयता उनी दुई पटक धौलागिरीको शिखर पुगिसकेका छन् ।
उनका लागि पर्वतारोहण क्षेत्रमा यो निकै ठूलो उपलब्धी थियो । यही आरोहणबाट आफ्नो आत्मविश्वास बढेको उनी सुनाउँछन् ।
समयक्रमसँगै उनले बेलायती सेनाको सगरमाथा आरोहण अभियानका क्रममा सगरमाथाको क्याम्प ४ सम्म पुग्न सफल भए ।
उनी सगरमाथाको क्याम्प ४ सम्म पुग्नुलाई आफ्नो सफलताको कोशेढुंगा नै मान्छन् । सगरमाथाको शिखरमा पुग्ने उनको सपना भने सन् १९८३ मे ७ मा आएर बल्ल पुरा भयो । यतिबेला उनी जर्मन–अमेरिकी आरोहण अभियानका साथ सगरमाथाको उकालोे चढेका थिए ।
पर्वतारोहणका क्रममा भएका केही गम्भीर दुर्घटना पनि उनको मष्तिष्कमा आउने गर्छ । सन् १९८४ मा उनका साथी जोसेफ डेमजान सगरमाथाको शिखरमा पुगेर फर्किदै गर्दा बाटैमा मृत्यु भएको घटना उनको मानसपटलमा ताजै छ ।
तरपनि यस्ता दुर्घटनाले उनलाई विचलित भने बनाएन, उनी पर्वतारोहणका क्षेत्रलाई निरन्तरता दिई नै रहे । यसैक्रममा उनले नर्वेजियन आरोही एर्न नएसलाई वसन्त ऋतुको समयमा सगरमाथाको शिखर पुग्न सहयोग गरे ।
कुनै औपचारिक शिक्षा वा आरोहीको कुनै तालिम बिना उनले पर्वतारोहणका क्षेत्रमा नाम चलेको अन्तर्राष्ट्रिय व्यक्तित्वलाई साथ दिन थाले । समयक्रमसँगै उनी भरियामात्र रहेनन् उनले गाइडका रुपमा आफ्नो अनुभवलाई उपयोग गर्न शुरु गरे । यससँगै उनले १९८६ तथा १९८७ का बीच स्पेनी, अमेरिकी, जर्मन, चिलियन लगायतका आरोहण दलसँग चो ओयु, कञ्चनजंघा, मकालु दोश्रो लगायतका हिमालको आरोहण गर्न सफल भए ।
सन् १९८७–८८ को हिउँद याममा दक्षिण कोरियाली आरोहण दलका साथ सगरमाथाको आरोहण उनको जीवनको एकमात्र हिउँद याममा सगरमाथाको आरोहण हो । उनी सगरमाथाबाट ओर्लिने क्रममा त्यसबेला खराब मौसमका कारण आफू र एकजना कोरियाली अरोही आरोहण दलका अन्य सदस्यसँग छुट्टिएको कुरा सम्झन्छन् । अत्यन्त चिसो मौसममा ज्यानलाई तातो बनाउन उनीहरुले त्यहाँ एरोबिक गरेर रात कटाएको अनुभव पनि उनीसँग छ ।
त्यसको १० महिनापछि १० अक्टोबर १९८८ मा उनी क्याटालन आरोहण दलका साथ सगरमाथाको शिखरमा पुगे । त्यसपछि सन् १९९० मा नेपाली सेनाको आरोहण दलका साथ सगरमाथाको शिखरमा पुगे भने सन् १९९२ मा चिलीको पहिलो सफल पर्वतारोहण दलसँग सगरमाथाको चुचुरोमा पुगे । त्यस्तै, उनले सन् १९९३ मा स्पनेको आरोहण दलसँग पनि सगरमाथा पुगिसकेका छन् ।
उनले एक पटक मात्र तिब्बतको उत्तरी मोहडाबाट सगरमाथाको आरोहण गरेका छन् । सन् १९९५ को वसन्त ऋतुमा रुसी–इन्गुसेटियन आरोहण अभियान दलका साथ उनी उत्तरी मोहडाबाट सगरमाथा पुगेका थिए । अक्सिजनको सहाराबिना उनको पछिल्लो सगरमाथा आरोहण भने सन् १९९६ मा भएको थियो । त्यसबेला उनले स्विडेनको पहिलो आरोहण दलका साथ सगरमाथाको शिखरमा पाइला टेकेका थिए ।
पर्वतारोहण क्षेत्रमा निकै लामो अनुभव रहेका आङ्रिता शेर्पाले काठमाडौंमा आफ्नै ट्रेकिङ कम्पनी खोलेका छन् । यससँगै उनका दुई छोराहरु करसाङ र छेवाङले पनि उनकै पदचाप पछ्याइरहेका छन् ।
प्रतिक्रिया