समाचार

सीके राउतसँगको सहमतिबारे बाहिर धेरै नबोल्नुस्– प्रचण्ड

By खबरहब

March 12, 2019

विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीके राउत सँगको सहमतिका विषयमा बाहिर धेरै नबोल्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सीके राउतसँगको सहमतिका बारेमा देखिएको विवादका विषयमा पार्टी कमिटिहरुमा छलफल गरेर समस्या समाधान गरिने भन्दै बाहिर धेरै नबोल्न आग्रह गरेका छन् ।

‘कमिटिमा छलफल गरेर समस्या समाधान हुन्छ साथीहरुले बाहिर धेरै नबोल्दा राम्रो हुन्छ’ प्रचण्डले भने ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सरकारको ध्यान पृथकतावादी आन्दोलनमा लागेका मानिसलाई राष्ट्रिय एकतामा र संविधानको स्वीकार्यतामा ल्याउने ध्यान रहेको बताए । प्रचण्डले भने,‘जुन परिवेशमा सरकारले यो समझदारी बनाएको छ राष्ट्रिय एकताको पक्षमा संविधानको कार्यान्वयनको पक्षमा सकारात्मक पहल भएको छ ।’

राउतसँगको सहमतिमा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको प्रचण्डको भनाइ थियो । ‘सरकारले भौगोलिक अखण्डताको पक्षमा गरेको पहल सकारात्मक हो,यसमा शंका गर्नुपर्ने छैन’ प्रचण्डले भने,‘पार्टीले गरेको निर्णयमा मेरो समर्थन छ ।’

सरकारले सीके राउतसँग गरको सहमतिमा प्रयोग भएको भाषा लगायते सत्तारुढ दल नेकपामा विवाद देखिएको छ ।

नेकपाका नेता भीम रावलले संसद बैठकमै सहमति सच्चाउन माग गरेका छन् भने अन्य नेताहरले पनि सहमतिमा प्रयोग भएको भाषाका बारेमा आपत्ति जनाएका छन् ।