नयाँ दिल्ली– साउदी अरबमा हाउसमेड काम गर्दागर्दै बिदामा नेपाल आएकी गोरखाकी यमुना (नाम परिवर्तन) पुनः साउदी जान नपाएपछि एक जना एजेन्टको सम्पर्कमा पुगिन् ।
दिल्लीमा भेटिएकी यमुना गाउँ (गोरखा) कै एजेन्ट रवि गौतमको माध्यमबाट युएई जान भारत पुगेकी थिइन् । एजेन्ट गौतमले दुबईमा धेरै कमाइ हुन्छ भन्ने आश्वासन दिएपछि उनी नयाँ गन्तव्यका लागि गौतमको साथमा दिल्ली पुगेकी हुन् ।
एजेन्टले उनलाई वैधानिक कामदार लैजाने प्रक्रियाअनुसार नै दुबई पठाउने आश्वासन दिएको दिल्ली जीवि रोडमा भेटिएकी यमुनाले बताइन् । ‘दिल्ली आएपछि मात्र एजेन्टले फसाएको थाहा भयो । युएई जान एजेन्टलाई ७५ हजार रुपँयाँ बुझाएकी थिएँ’ यमुनाले भनिन्, ‘एजेन्टले १५ दिनपछि युएई पठाउनै भन्दै दुई–दुई दिनमा बस्ने होटल परिवर्तन गराइरहन्छन् । २ महिना भयो पठाउने टुंगो छैन । अहिले एजेन्ट नै बेपत्ता छ ।’ यमुनाले आँफू वीरगन्ज नाका हुँदै दिल्ली पुगेको बताइन् । आफूसँगै वीरगन्ज नाका हुँदै अन्य १७ जना महिला पनि भारत आएको उनको भनाइ छ ।
मोरङकी दिल्लीमाया (नाम परिवर्तन) रोजगारीका लागि मकाउ जानका लागि दिल्लीमा बसेकी करिब तीन महिना पुग्न लाग्यो । दिल्लीको छत्रपुर शहरमा भेटिएकी दिलमाया भारत मणिपुरकी एजेन्ट ललिता मगरले भारतीय राहदानी बनाएर मकाउ पठाइदिने भन्दै ३ महिनाअघि दिल्ली बोलाएको बताउँछिन् ।
‘के गरौं, कसो गरौं’ भन्दै उनले दिन काटिरहेकी छिन् । एजेन्ट मगरले मकाउ गए मनग्गे कमाउन सकिने लोभ देखाइन् । ‘२ लाख ६८ हजार बुझाएपछि मलाई दिल्ली ल्याउने महिला बेपत्ता छिन् ।’ दिलमायाले भनिन्, ‘दिल्लीमा इज्जत बचाउन मुश्किल भयो । एजेन्टले पैसा खाइदियो अब घर फर्कन सक्ने अवस्था छैन । हारगुहार माग्न धेरै पटक भारतस्थित नेपाली राजदूतावास गए तर, दूतावासका कर्मचारीले खासै वास्ता गरेनन् ।’
भारत हुँदै खाडीका देश, मलेसिया, हङकङ, इजरायल, माल्टा, क्यानडा, जर्मनी, मकाउ र युरोपका देशमा रोजगारीका लागि पठाउने भन्दै तस्करले युवायुवतीलाई नेपालबाट भारत लैजाने गरेका छन् । यसरी भारत हुँदै तस्करको पछि लागेर रोजगारीका लागि तेस्रो देश जान खोज्ने नेपाली युवायुवती मोटो रकम तस्करलाई बुझाउने गरेका छन् ।
आफूहरुजस्तो रोजगारीका लागि तेस्रो देश जान आएर अलपत्र परेका महिलालाई उद्धार गर्ने भारतमा कुनै संघ संस्था नपाएपछि एउटा टायर कम्पनीमा काम गरेर गुजारा टारिरहेको उनको भनाइ छ ।
यस्तै, भारत हुँदै सांस्कृतिक कार्यक्रममा सहभागी बेलायत जाने आश्वासनमा हुन पोखराकी एलिसा (नाम परिर्वतन) नक्कली कागजपत्र बनाएर दिल्ली पुगिन् । १४ दिनको पर्यटक भिसामा बेलायत पठाउने आश्वासन दिएर पोखराकै अजुर्न केसीले दिल्ली ल्याएको उनी बताउँछिन् ।
जेन्टले दिल्लीबाट हवाई टिकट सस्तो र वेलायत जना झमेला हुँदैन भनेर आफूलाई दिल्लीमा अलपत्र छोडेको उनी बताउँछिन् । एलिसा अहिले रोहिणी शहरमा आफन्तको घरमा बसेर एजेन्टलाई खोजी गरिरहेको बताउँछिन् ।
यमुना, दिलमाया र एलिसा भारतको दिल्लीमा भेटिएका प्रतिनिधि पात्रमात्र हुन् । उनीहरु जस्ता धेरै महिला रोजगारीका नाममा अवैध बाटोबाट जाने हुँदा अलपत्र पर्ने र बेचिने गरेका छन् ।
रोजगारीका लागि तेस्रो देश पठाइदिने भन्दै दिल्लीका विभिन्न स्थानमा करिब ४ हजार नेपाली युवायुवती बन्धक रहेको समाचार यसअघि खबरहबमा पोस्ट गरिएको थियो ।
४ हजारमध्ये ५ सयभन्दा धेरै महिला रहेको र उनीहरु आकर्षक गन्तव्य जाने भन्दै भारतमा बन्धक जीवन बिताइरहेका छन् ।
भारत हुँदै खाडीका देश, मलेसिया, हङकङ, इजरायल, माल्टा, क्यानडा, जर्मनी, मकाउ र युरोपका देशमा रोजगारीका लागि पठाउने भन्दै तस्करले युवायुवतीलाई नेपालबाट भारत लैजाने गरेका छन् । यसरी भारत हुँदै तस्करको पछि लागेर रोजगारीका लागि तेस्रो देश जान खोज्ने नेपाली युवायुवती मोटो रकम तस्करलाई बुझाउने गरेका छन् ।
मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्नुमा देशमा रोजगारीको अवसर नहुनु प्रमुख कारण रहेको सरोकारवालाहरु बताउँछन् ।
बेरोजगारीसँगै गरीबीका कारण नेपालीहरु एजेन्टको ललाइफकाइमा फस्ने गरेका छन् ।
महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह (एटविन) ले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार दोस्रो मुलुक भारत हुँदै विभिन्न बाहानामा तेस्रो मुलुकमा नेपाली श्रमिकहरु बेचविखन तथा ओसारपसार हुने क्रम वार्षिक रुपमै बढ्दै गइरहेको छ ।
एटविनको अध्ययन अनुसार ६० प्रतिशत महिला तथा पुरुषहरु बेरोजगारीका कारण मानव तस्करी तथा श्रम शोषणमा पर्ने गरेका छन् भने २८ प्रतिशत गरीबीको रेखामुनी रहेका महिला तथा पुरुष मानव तस्करी तथा श्रम शोषणको शिकार बन्न पुगेका छन् ।
वैदेशिक रोजगारीको नाममा भइरहेको मानव बेचबिखनलाई ठगीको घटनाका रूपमा मात्रै हेर्ने प्रवृत्तिले मानव बेचबिखनका घटनामा भने कमी आएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको मानव बेचबिखन सेलका डीएसपी राजकुमार सिलवाल बताउँछन् । ‘वैदेशिक रोजगारीको प्रलोभन देखाएर हुने मानव बेचबिखनको धन्दा डरलाग्दो बन्दै गएको छ । यो विषयमा सरकारले बेलैमा गम्भीर भएर नियन्त्रण गर्नुपर्ने देखिन्छ’ उनले भने ।
वैदेशिक रोजगार ऐन, ०६४ ले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखनलाई कसरी कारवाहीको दायरामा ल्याउने भनेर प्रष्ट कानूनी व्यवस्था गरेको छैन । ऐनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र नियमन गर्ने, कानूनविपरीत काम गर्ने म्यानपावर कम्पनी, तिनका एजेन्ट र तस्करमाथि कारबाही चलाउने तथा ठगीलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यलाई स्पष्ट पार्न नसक्दा सामान्य धरौटीमा अपराधीले उन्मुक्ति पाउने गरेका छन् ।
विद्यमान वैदेशिक रोजगार ऐनले मानव बेचबिखनलाई विदेशमा लैजाने कामका रूपमा मात्रै सीमित गरेको छ । वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन र वैदेशिक रोजगारलाई नियमन गर्न बनेका निकायले मानव बेचबिखन रोक्न खेल्ने भूमिकाबारे ऐन स्पष्ट नभएका कारण कारवाहीमा समस्या उत्पन्न हुने गरेको छ ।
प्रतिक्रिया