पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर रामप्यारीको मृत्यु, होला त चिकित्सकलाई कारबाही ? | Khabarhub Khabarhub

पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर रामप्यारीको मृत्यु, होला त चिकित्सकलाई कारबाही ?


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापालाई पेटमा समस्या भएपछि उनका आफन्तले चावहिलको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा ल्याए । अस्पतालले पित्तथैलीमा पत्थरी भएकाले अप्रेसन गर्नुपर्ने बतायो । रामप्यारीले यसअघि पनि ३ पटकसम्म पाठेघरको शल्यक्रिया गराइसकेकी थिइन् ।

फेरि शल्यक्रिया गर्दा हुने जोखिमको विषयमा ओम अस्पतालका चिकित्सकलाई पनि जानकारी थियो । पित्तथैलीको पत्थरी पालेर बस्नुभन्दा अप्रेसन गर्दा उपयुक्त हुने भन्दै चिकित्सकले बिरामी र बिरामीका आफन्तलाई विश्वस्त पारे ।

गत शुक्रबार ओम अस्पतालका सर्जन रविन कोइरालाले रामप्यारीको पित्तथैलीको पत्थरी निकाल्न ल्याप्रोस्कोपीद्वारा शल्यक्रिया गरे ।शल्यक्रिया गरेको दिन रामप्यारीले खाना पनि खाइन् । शल्यक्रिया पछि रोग निको होला भन्ने आसामा उनका परिवार खुशी भए ।

तर उनीहरुको खुशी धेरै समय टिकेन । शल्यक्रिया गरेको भोलिपल्टैदेखि रामप्यारीको स्वास्थ्य अवस्था झनै बिग्रियो ।  शनिबार नर्मल वार्डमा सारिएकी रामप्यारीलाई आइतबार चिकित्सकले आईसीयूमा  राखेका थिए । बिरामीका आफन्तलाई अप्रेसन गर्ने चिकित्सकले छिट्टै निको हुने विश्वास दिलाएका थिए । तर बिहीबार बिहान अस्पतालले रामप्यारीलाई मृत घोषित गर्‍यो ।

अस्पतालले रामप्यारीको मृत्यु भएको खबर सुनाएपछि उनका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पतालमा नाराबासी शुरु गरे । महानगरीय प्रहरी वृत गौलाशाबाट प्रहरीको टोली पुगेपछि अस्पतालको होहल्ला बन्द भयो ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले पित्तथैली निकाल्ने यन्त्रले आन्द्रामा प्वाल पार्दा सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको स्वीकार गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर केपी देवकोटाले पत्रकार सम्मेलन गर्दै पित्तथैली निकाल्ने क्रममा ल्याप्रोस्कोपिक यन्त्रले आन्द्रामा प्वाल पारेकोले थापाको मृत्यु भएको स्वीकार गरे ।

‘उहाँको पित्तको थैलीमा पत्थरी रहेछ, त्यसको अप्रेसन गर्न आउनुभएको थियो, सर्जन डाक्टर र बिरामीको आफन्तसँग कुरा गरेपछि नै गत शुक्रबार पत्थरीको अप्रेसन गरिएको हो,’ डा देवकोटाले भने, ‘तर यो अप्रेसन साधारण खालको थिएन, पहिला पेटको अप्रेसन ३ पटक भैसकेको रहेछ, फेरि पेट भित्र अप्रेसन गर्दा धेरै जटिलता आउँछ भन्ने डाक्टरलाई पनि थाहा थियो, बिरामीका आफन्तलाई काउन्सिलिङ गरेरै पित्तको थैलीको अप्रेसन गरिएको हो।’

अप्रेसन गर्दा पित्तथैलीमा रहेको पत्थरीमाथि आन्द्राहरु जेलिएर बसेकोले ल्याप्रोस्कोपीले जेलिएको आन्द्राहरु छुट्याएर पित्थथैलीको पथ्थरी निकालिएको डा देवकोटाले बताए ।

सोही क्रममा आन्द्रामा प्वाल परे पनि अप्रेसन गर्ने सर्जनले नदेखेको र ल्याप्रोस्कोपी मेसिनले पनि नदेखाएको डा देवकोटाले बताए ।

‘पित्त थैली कलेजोमा टाँसिएको अवस्थामा पनि सफलताका साथ शल्यक्रिया गर्नुभयो, ल्याप्रोस्कोपीबाट चेकजाँच गर्दा आन्द्रामा कुनै समस्या थिएन,’ डा देवकोटाले भने, ‘अप्रेसन पछि सबै ठिक छ भनेर कुरा पनि गर्नुभएको हो । अप्रेसनको भोलिपल्ट बिरामीले खाना पनि खानुभएको थियो, शनिबार रातिदेखि पेट दुख्यो भन्नुभयो, स्वास्थ्य अवस्था विग्रिएको देखियो र छातीमा निमोनिया पनि देखियो ।’

अप्रेसन पछि स्वास्थ्यमा सुधार नआएपछि टाका खोलेर हेर्दा अप्रेसन गरको ठाउँमा फोहोर देखिएको डा देवकोटाको भनाइ छ ।

‘टाका खोलेर हेर्दा आन्द्रामा गडबडी भएको थाहा भएपछि फेरि अप्रेसन थिएटरमा लगियो, त्यो अवस्थामा आन्द्रामा प्वाल देखियो, तर बिरामीको आन्द्रा काटेर जोड्ने अवस्था थिएन, बिरामीलाई बचाउन सकिन्छ कि भनेर लागियो,’ डा देवकोटाले भने, ‘बिरामी आइसीयूमै थियो, बिरामीको किड्नी पनि फेल भएको पाइयो, एन्टीबायोटिकले पनि काम नगरेको अवस्थामा सबै अंग फेल हुँदै गएर आज विहान ७ बजे बिरामीको निधन भयो ।’

मृतकका आफन्तले घटनाको छानविन हुनुपर्ने र उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

होला त चिकित्सकलाई कारबाही ?

नयाँ मुलुकी ऐनको अपराध संहितामा बिरामीको उपचारमा लापरबाही गर्ने चिकित्सकलाई ५ वर्षको जेल सजाय हुने उल्लखे छ ।

उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भए लापरबाही गर्ने चिकित्सकलाई ५ वर्षको जेल सजाय र ५० हजार रुपैयाँको जरिवाना हुने तोकिएको छ ।

तर अस्पतालले भने अप्रेसनको क्रममा ल्याप्रोस्कोपी मेसिनमा आन्द्रा काटिएको नदिखिँदा बिरामीको मृत्यु भएको दाबी  गरेको छ । बिरामीका आफन्तलाई सहमतिमा आउन आग्रह गर्दै अस्पतालले फकाउने प्रयास पनि गरिरहेको छ ।

दिउँसो ३ बजे कारबाही प्रक्रियाका लागि छानविन शुरु गर्ने भनिए पनि अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच आन्तरिक छलफल चलिरहेको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी प्रदीप कुमार सिंहले जानकारी दिए ।

उनले भने, ‘चिकित्सकको लापरबाही देखिए कारबाही हुने कानून छ, तर अस्पतालले चिकित्सकको गल्ती देखाएको छैन, अस्पतालले मृतकका आफन्तसँग आन्तरिक छलफल गरिरहेको छ,उहाँको छलफलबाट के निश्कर्ष निस्कन्छ त्यसपछि नै थाहा हुन्छ कारबाही हुने /नहुने ।’ रामप्यारीको शव ओम अस्पतालकै आइसीयूमा राखिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ७ : २८ बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा