वर्ष ०७५ मा काठमाडौं : ‘स्मार्ट’ योजनादेखि बाटो बढार्ने ‘ब्रुमर’सम्म | Khabarhub Khabarhub

वर्ष ०७५ मा काठमाडौं : ‘स्मार्ट’ योजनादेखि बाटो बढार्ने ‘ब्रुमर’सम्म



काठमाडौं – वर्ष २०७५ मा काठमाडौं सहरलाई ‘स्मार्ट सिटी’का रुपमा विकसित गराउने महत्वपूर्ण योजना अघि सारियो । चुनावी घोषण पत्रमै स्मार्ट सिटी बनाउने एजेण्डा लिएर हिडेका महानगरका प्रमुख विद्या सुन्दर शाक्यको मुखमा सधैँ झुन्डिने शब्द पनि हो–‘स्मार्ट सिटी’ ।

विकास निर्माणका काम र सहरी सुव्यवस्थामा साना–साना कुराबाटै विकास र प्रगतिले फड्को मार्ने मेयर शाक्य बताउँछन् । स्मार्ट सिटीको अवधारणा लिएर अघि बढेको महानगरले यो वर्षभरि योजाना त ल्यायो तर कार्यान्वयन पक्ष भने निकै फितलो देखिएको छ ।

रमणीय पार्क

काठमाडौं महानगरपालिकाभित्र सहरी सुव्यवस्था कायम राख्नका लागि महानगरपालिकाका विभिन्न क्षेत्रमा हरियाली र रमणीय पार्कहरु निर्माण गर्न थालेको छ । २१ नम्बर वडाको लगनटोलस्थित शिलखाना पार्क, त्यस्तै ११ वडा थापाथलीस्थित चेस खेल पार्क, वडा नम्वर ६ मा बाग्मती पार्क, सुकेधारमा शंखमूलपार्क निर्माण भइरहेको छ ।

त्यस्तै महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्क बनाउनकै निमित्त केही महिनाअघि १/१ करोड दिइसकेको छ । ती सबै नगरपालिकामा पार्क निर्माण कार्य शुरु भइरहेको र केही समयमै रमणीय पार्क देख्न सकिने कुरामा महानगर विश्वस्त छ ।

‘क्लिन द सिटी’

महानगरपालिकाको सहर सफा राख्ने अभियान अनुरुप ‘क्लिन द सिटी’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा भएको कार्यक्रमले सहरी क्षेत्रका फोहोरमैला व्यवस्थापनका वडा–वडामा जनपरिचालन गरी फोहोर संकलन गरिरहेको छ । फोहोरबाट जैविक मल र कौशी खेतीलाई प्रवद्र्धन प्रारम्भ भइसकेको छ ।

‘ग्रिन द सिटी’

महानगरपालिकालाई हरियाली बनाउनका लागि ‘ग्रिन द सिटी’ कार्यक्रममा ल्याएको थियो । जसअन्तर्गत सडक करिडोर क्षेत्रमा वृक्षारोपण गर्ने काम भइरहेको छ ।

महानगरका क्षेत्रभित्र हरियाली बनाउने उद्देश्यका साथ मेयर विद्या सुन्दर शाक्यको नेतृत्वमा भएको उक्त कार्यक्रमले तीव्रता लिएको छ । करिडोर क्षेत्र जस्तोः कालो पुल, सेतो पुल दायाबायाँ, कमलपोखरी लगायतका क्षेत्रमा वृक्षरोपण गरिएको थियो । हाल सो क्षेत्रहरु हरियाली देख्न सकिन्छ ।

सिसी क्यामेरा जडान

महानगरले सहरी सुव्यवस्थाका लागि सीसी क्यामेरा जडान गर्ने काम गरेको छ । त्यसका लागि महानगरपालिकाले महानगरीय प्रहरी परिसरलाई ३ करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

शान्ति सुरुक्षा कायम, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, फुटपाथ, अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण तथा समग्र सहरी सुशासन सम्बन्धी विषयलाई मध्यनजर गर्दै ल्याउन लागिएको सीसी क्यामरा जडानको काम भइरहेको छ ।

ब्रुमर सञ्चालन

महानगरपालिकाले ५ वटा अत्याधुनिक इटालियन ब्रुमर सञ्चालनमा ल्याएको छ । ती ब्रुमरले रातभरी सडकको धुलो उडाउने र सफा राख्ने काम गरिरहेका छन् । साथै चाइना सरकारबाट उपहार स्वरुप दुई वटा ब्रुमर आउने क्रममा छन् ।

मोनो रेल

मोनो रेल काठमाडौंको रिङरोड क्षेत्रमा रेल चल्ने सम्भावना देखिएसँगै महानगरले सो काम अघि बढाएको हो । काठमाडौंवासीले रेल चढ्न पाउलान् या नपाउलान् तर मोनो रेल सञ्चालनमा ल्याउनको लागि महानगर जागरुक देखिन्छ । काठमाडौं चक्रपथमा मोनोरेल सञ्चालन गर्न चीनको सीसीआरसीसी २५ औँ ब्युरोसँगको डीपीआर सम्झौता भइसेको छ ।

उज्यालो अभियान

मेयर उज्यालो अभियान अन्तर्गत ३२ वटै वडा क्षेत्रमा अभियानकै रुपमा १७७६ थान सोलार बत्ती जडान भइसकेको छ । जसले करिब ६९३ किलोवाट विद्युत किफायत भएको छ । साथै अब सम्पूर्ण सडक उज्यालो बनाउने कार्यक्रम ल्याउने योजना रहेको छ ।

फ्री वाईफाई
सम्पदा क्षेत्र, उद्यान र अन्य सार्वजनिक स्थलहरु फ्रि वाईफाई जोन बनिरहेका छन् । रत्नपार्क, बालाजु, बसन्तपुर लगायतका क्षेत्रमा फ्रि वाइ फाई सञ्चालन भइसकेका छन् ।

तराईका विभिन्न जिल्लामा बाढी, पहिरो, डुवान प्रभावित व्यक्तिहरुका लागि उद्धार र राहतको निम्ति प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा रु. ३९ लाख सहयोग, हावाहुरी पीडित लागि रु ४० लाख रुपैयाँ रकम जम्मा गरिसकेको छ ।

पिक एण्ड ड्रप

उपत्यकाको व्यस्त ठाउँ टुडिखेल क्षेत्रमा पिक एण्ड ड्रप सञ्चालनमा ल्याइएको छ ।

त्यसले रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, शहिदगेट, सुन्धारा, काठमाडौं मल, एनएसी, भोटाहिटीमा हुने जामको समस्या हल गर्न यो अभियान ल्याइएको हो अब चाँडै महानगरका सबै क्षेत्रमा पिक एण्ड ड्रप लागू गर्ने महानगरको तयारी छ ।

के के योजना ल्याउँदै छ महानगरले ?

महानगरपालिकाले नयाँ वर्षको सुरुवातसँगै विभिन्न विकासका कार्यक्रम ल्याउने योजना बनाएको छ । साथै जति काम प्रक्रियामा छन् त्यी कामहरु छिट्टै सम्पन्न गर्ने ढंगले अगाडि बढेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ ।

स्मार्ट एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवा संघसँगको सहकार्यमा १० वटा स्मार्ट एम्बुलेन्स सञ्चालनमा ल्याउँदै छ । स्मार्ट एम्बुलेन्समाभित्र प्राथमिक उपचारका लागि एक जना चिकित्सक, नर्स र आपतकालीन अवस्थामा आवश्यक पर्ने सम्पूर्ण सामग्री तथा सुविधासमेत उपलब्ध हुनेछ ।

स्मार्ट पार्किङ

महानगरपालिकाले नयाँ वर्षको सुरुवातसँगै स्मार्ट पार्किङ सञ्चालनमा ल्याउँदै छ । उपत्यकाको अति व्यस्त सडक दरवारमार्ग, विशालबजार, इन्द्रचोक, पाको, प्युखा र खिचापोखरीमा स्मार्ट पार्किङको तयारी भइरहेको छ ।

स्मार्ट ट्याक्सी स्ट्याण्ड

महानगरपालिकाभित्रका ५२ वटा स्थानमा ट्याक्सी स्ट्याण्डको व्यवस्था सञ्चालन भइरहको र अब २६ स्थानमा थप्ने योजना अघि बढेको छ । जसअन्तर्गतः कोटेश्वर, बबरमल, सिनामंगल भत्केको पुल, कालोपुल, सिभिल मल, रत्नपार्क, चावहिल रहेका छन् ।

फोहोरमैला व्यवस्थापन

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि महानगरले दीर्घकालीन उपाय सञ्चालनमा ल्याउने भएको छ ।

लामो समयदेखि नुवाकोटस्थित ल्याडफिल साइड फोहोरले भरिएपछि वर्खाको समयमा उपत्यकावासीको टाउको दुखाइको विषय बन्ने गर्छ । तर अब दीर्घकालीन उपायका लागि बञ्चरेडाँडामा व्यवस्थापन गरिने भएको छ । आर्थिक वर्ष ०७६/०७७ को सुरुवातसँगै बञ्चरे डाँडामा फोहोर विर्सजन हुनेछ ।

दमकल

काठमाडौं महानगरपालिकासँग हाल ४ वटा दमकल रहेका छन् ।

बस्ती विकास भएसँगै घरहरु अग्ला बन्दै गएका छन् । तर दमकल भने पुराना प्रविधिमा आधारित छन् । महानगरले ०७६ सालमा ३ वटा दमकल थप्ने भएको छ । ११÷१२ तलाको घरमा लागेको आगो निभाउन सक्ने क्षमताको दमकल ल्याउने पक्रिया अघि बढाएको छ ।

यातायात व्यवस्थापन ऐन

महानगरपालिकाभित्रका विभिन्न रुटमा नयाँ वर्षको सुरुवातसँगै रातको १० बजेसम्म यातायात सञ्चालन ल्याइने महानगरको योजना छ ।

महानगरपालिकाको चौथो नगर अधिवेशनद्धारा स्वीकृत सवारी तथा यातायात ऐन २०७५ अनुसार काठमाडौं महानगरपालिकाभित्रको सञ्चालन हुने सार्वजनिक यातायातका साधन कात्तिकदेखि माघसम्म बिहान ५ बजेदेखि राती ९ बजेसम्म र बाँकी महिनामा बिहान ५ बजेदेखि रातको १० बजेसम्म सञ्चालन हुनेछन् ।

सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्नुपर्ने, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्रका आधारमा सहुलियत उपलब्ध गराउनु पर्ने लगायत थुप्रै नियमहरु ऐनमा जारी गरिएको छ । यदि यो ऐनको पालना नगरेको खण्डमा महानगरले कारबाही प्रक्रिया अघि बढाउनेछ ।

महानगरले यसअघि फोहोर व्यवस्थापन गर्नका लागि सडकका चोकचोकमा स्मार्ट डस्टबीनको व्यवस्था गरिसकेको छ भने स्मार्ट पार्किङ, स्मार्ट शौचालय, स्मार्ट जेब्रा क्रसिङ, स्मार्ट एम्बुलेन्स वैशाखको सुरुवातसँगै ल्याउने तयारीमा छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : २० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द