लिमा– अमेरिकी विदेशमन्त्री माइक पम्पेओ शनिबार पेरु पुगेका छन् ।
विभिन्न ४ ल्याटिन अमेरिकी देशहरुको भ्रमणको क्रममा उनी शनिबार पेरु पुगेका समाचारमा जनाइएको छ । विशेष गरी भेनेजुएलाको सङ्कटका विषयमा पम्पेओले ल्याटिन अमेरिकी देशहरुको भ्रमण केन्द्रित गरेका छन् ।
उनले पेरुका राष्ट्रपति मार्टिन विजकारा र विदेशमन्त्री नेस्टोर पोपोलिजियोसँग वार्ता गरेका छन् । विदेशमन्त्री पम्पेओले आइतबार पेरुका व्यापारिक प्रतिनिधिहरुसँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम रहेको छ ।
विदेशमन्त्री पम्पेओले ब्राजिलका विदेशमन्त्री अर्नेस्टो आरुजोसँग पनि फोनवार्ता गरेका अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको हो ।
सो फोनवार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध थप विकसित र सुदृढ बनाउने तथा भेनेजुएलाको विषयमा आपसमा मिलेर समस्या समाधान गर्ने बारेमा कुराकानी भएको पनि अमेरिकी विदेशमन्त्रालयले जानकारी दिएको छ ।
भेनेजुएलाको समस्या समाधानका लागि उसका छिमेकी देशहरुसँग पनि वार्ता गर्ने र उनीहरुको सुझाव र सल्लाह लिएर अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।
विदेशमन्त्री पम्पेओले ल्याटिन अमेरिकी देश पाराग्वेको पनि भ्रमण गरेका थिए । उनी पाराग्वेको भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री हुन् । उनी शुक्रबार पाराग्वे पुगेका हुन् ।
सो देशमा सन् १९६५ देखि निरन्तर रुपमा निरंकुश शासन व्यवस्था चल्दै आएको छ ।
त्यसैगरी विदेशमन्त्री पम्पेओले चिली पुगेर त्यहाँका राष्टपति सेवास्तिन पिनेरासँग भेटवार्ता गरेका थिए । त्यस वार्ताका क्रममा विशेषगरी चिलीको चीनसँगको व्यापारिक सम्बन्धका विषयमा बढी कुराकानी भएको बताइएको छ ।
विदेशमन्त्री पम्पेओ यस भ्रमणका क्रममा आइतबार कोलम्बिया पुग्नेछन् । उनी कोलम्बियाको सीमा क्षेत्रीय शहर कुकुता पुग्नेछन् ।
प्रतिक्रिया