पशुपतिनाथको २३१ रोपनी जग्गा गायव ! | Khabarhub Khabarhub

पशुपतिनाथको २३१ रोपनी जग्गा गायव !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ । पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बौ रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ । कोष सञ्चालक परिषद्का कोषाध्यक्ष एवम् समितिका संयोजक डा. मिलनकुमार थापाले पशुपतिनाथको नाममा रहेका अझै धेरै जग्गा गायब पारिएको हुन सक्ने बताए ।

हालसम्म पशुपतिनाथको जग्गा र सम्पत्तिको खोजबिन गर्न तीनवटा समिति बनिसकेका छन् । संस्कृति मन्त्रालयका तत्कालीन सचिव जलकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको थियो । त्यो समितिले पशुपतिको जग्गाको खोजबिन गरी प्रतिवदेन बाहिर ल्याउन सकेन ।

त्यसपछि कोषका परिषद् सदस्य नवलकिशोर चौधरीको संयोजकत्वमा जग्गा छानबिनका लागि समिति बन्यो । त्यो समितिले पनि प्रतिवेदन तयार पार्न सकेन । परिषद् सदस्य रमेशराज सिवाकोटी, मालपोत विभागका महानिर्देशक, नापी विभागका महानिर्देशकलगायत राखेर कोषाध्यक्ष थापाको संयोजकत्वमा तेस्रोपटक गठित समितिले भने प्रतिवेदन तयार पारेको छ ।

‘अमालकोट कचहरीको ६ रोपनी १२ आना, जयबागेश्वरी भण्डार तहबिलको ११ रोपनी ७ आना र भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना जग्गा हराएको छ’, थापाले अन्नपूर्णसँग भने । भण्डार तहबिलको विवरणअनुसार लगत नम्बर २४९ को चन्द्रशमशेर मोही भएको ६ रोपनी ४ आना जग्गा हराएको छ । काठमाडौं बौद्ध–६ स्थित पूर्वप्रधानमन्त्री चन्द्रशमशेर मोही रहेको यो जग्गा उनका सन्तानले हडपेर खाएको पाइएको छ । लगत नम्बर ९२४ मा देखिने डा. रघुवीर वैद्यको बौद्धकै कित्ता नम्बर ४८ को २९ रोपनी ४ आना २ पैसा २ दाम जग्गा गायब छ । यो जग्गा कित्ताकाट भइसकेको छ तर साबिकको लगत भने काटिएको छैन ।

लगत नम्बर ४५७ मा समरबहादुर थापा क्षेत्रीको भक्तपुर जिल्लामा रहेको मौजे शारदा १४ अन्तर्गतको कित्ता नम्बर २६९ को १ रोपनी १० आना भेटिएको छैन । ‘साबिक मौजा भिडाउँदा २०२१ सालको सबै नापीमा यो जग्गा कुन कित्ता, कुन गाविसको कति वडामा पर्छ खुलेको देखिँदैन’, कोषका सब सहायक वासुदेव रिमाल भन्छन्, ‘लगत नम्बर ६५० मा रिपुमर्दन थापाको सदाबर्तबाट मार्सी फलुवा चामल तिर्नुपर्ने भनिएको जग्गा पनि भेटिएको छैन । थापाको सदाबर्त कसले सञ्चालन गरेको छ खोजबिनसम्म भएको देखिएन ।’ प्रतिवेदनले यस विषयमा खोजबिन आवश्यक रहेको सुझाव दिएको छ । गुठी संस्थानले पनि सदाबर्तबारे विस्तृत विवरण दिन सकेको छैन ।

लगत नम्बर ३०८ को मोही नरबहादुर फुयाँलको नाममा रहेको मनहरा बगरको २५ रोपनी जग्गा हराएको छ । पशुपतिनाथ भण्डार तहबिलको लगतमा रहेको यो जग्गा भक्तपुर–काठमाडौंको मूलपानी र ठिमीबीचमा रहेको देखिन्छ । ‘२०२१ सालको नापीपछि यो जग्गा कहाँ गयो, के भयो जानकारी छैन’, रिमालले भने ।

त्यस्तै पत्रिकाले शिक्षामा २ थरी ऐन, हावाहुरीले २ करोडको क्षतिलगायतका खबर छापेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ६ : ३७ बजे

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो