काठमाडौं– अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जले ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’मा सहभागी भएर महत्वपूर्ण साझेदार बन्न नेपाललाई आह्वान गरेका छन् ।
इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र पेभिलियन मिडिया ग्रुप, खबरहब डटकमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसहायक मन्त्री रेन्जले ‘इन्डो प्यासिफिक स्ट्रयाटेजी’ अमेरिकाको प्रमुख प्राथमिकतामा रहेको बताउँदै यो रणनीति नेपालको आर्थिक विकासमा महत्वपूर्ण अवसर समेत हुने बताए ।
उनले दक्षिण एसियाली मुलुकमा खुला तथा स्वतन्त्र रुपमा आर्थिक विकासका लागि साझेदारका रुपमा रहेर काम गर्न समेत सहयोगीसिद्ध हुने बताए । ‘यो रणनीति कुनै सन्धी–सम्झौता वा गठबन्धन नभइ अमेरिकाले प्रत्यक्षरुपमा सहभागिता जनाउने उपयुक्त संरचना हो ।’ उपसहायक मन्त्री रेन्जले भने, ‘इन्डो प्यासिफिक रणनीतिमा नेपालले अमेरिकाको पक्ष लिनु तथा अन्य मुलुकको विपक्षमा लाग्न भन्ने होइन ।’
यो रणनीतिमा समर्थन जनाउन अमेरिकाले नेपाललाई आग्रह गरिसकेको भन्दै उनले इन्डोप्यासिफिक क्षेत्रको शान्ति, सुरक्षा, सुशासन, पारदर्शिता लगायतमा महत्वपूर्ण भूमिका निभाउने बताए । अमेरिकाले विधिको शासनलाई विश्वास गर्ने भन्दै यसले इन्डोप्यासिफिक क्षेत्रका मुलुकहरुले पनि स्वतन्त्रपूर्ण आफ्नो निर्णय लिने अधिकार प्रत्याभूति गर्न महत्वपूर्ण सावित हुने तर्क गरे । यसबाट नेपालले पनि आफूअनुकूलको स्वतन्त्र निर्णय लिन कुनैपनि बाह्य हस्तक्षेपको सामना गर्न नपर्ने जनाए ।
उनले प्रजातान्त्रिक मुलुकमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने जनाउँदै जस्तोसुकै परिस्थितका बाबजुत पनि आफ्नो कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर पत्रकारहरुले कार्यसम्पादन गर्दै आएकोप्रति आफू गौरवान्वित हुने र उनीहरुको कामलाई आफूले सधैँ आदर गर्दै आएको बताए ।
कार्यक्रममा इण्डोप्यासिफिक क्षेत्रको विकासको लागि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ३ सय मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेको समेत उपमन्त्री रेन्जले जानकारी दिए । त्यसमध्ये १७ मिलियन अमेरिकी डलर मानवीय सहायता तथा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि सहयोग गरिएको उनले उल्लेख गरे । कार्यक्रममा राजनीतिज्ञ, विभिन्न क्षेत्रका वौद्धिक वर्ग, कुटनीतिज्ञ लगायतको सहभागिता थियो ।
प्रतिक्रिया