तरबारको धारमा हिँडेजस्तै हो सगरमाथा आरोहण | Khabarhub Khabarhub

तरबारको धारमा हिँडेजस्तै हो सगरमाथा आरोहण



दाकिपा शेर्पालाई सानैदेखि हिमाल चढ्ने आकांक्षा थियो ।

सगरमाथा आधार शिविरतर्फ जाने पर्यटकलाई देखेर उनी निकै नै उत्साहित हुन्थे । सानो उमेरमा घरबाहिर खेल्दा धेरै पर्यटकहरु उनको घरअघि कै बाटो भएर आधार शिविरतर्फ लागिरहेका हुन्थे ।

यही कारणले दाकिपाको मनमा यस क्षेत्रतर्फ रहर पलाउन थाल्यो । पदयात्रीको उत्साह देखेर उनलाई पनि यस्तै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

म उनीहरुसँगै लागेँ भने के होला भन्ने प्रश्न उनको मनमा उठ्ने गथ्र्यो ।

तर उनले धेरै लामो समय भने कुर्नुपरेन । १६ वर्षको उमेरमा उनी भरियाको रुपमा यस क्षेत्रमा लागे । अनी तपाईंलाई थाहा छ ? मैले दैनिक २५० रुपैयाँ ज्याला पाउँथे नी । उनी सुनाउँछन् ।

उनी यतिमै सीमित भएनन् । भरियाको रुपमा कामको अनुभव पछि उनले पदयात्री गाइडका रुपमा काम थाले । हिमालहरु त्यसमा पनि विशेषगरी सगरमाथाले मलाई निकै आकर्षित गर्छ । उनी सुनाउँछन् ।

त्यसपछि उनले एकदिन सगरमाथा चढेरै छाड्ने अठोट लिए । उनले सगरमाथा आरोहणका लागि यसै क्षेत्रमा गाइडका रुपमा काम गर्दै आएका आफन्तहरुसँग आफ्नो कुरा राखे ।

उनीहरुले मेरो कुरा सुन्दै सुनेनन् । तैपनि मैले हिम्मत चाहिँ हारिन । उनले भने ।

सन् २००८ मा पेम्बा दोर्जे शेर्पाले सगरमाथा आरोहणका लागि विभिन्न जाति तथा पृष्ठभूमिका १० महिलाहरुलाई समेटेर समूह बनाएका रहेछन् । उनी यही समूहमा भरियाको रुपमा छानिए ।

नाताले साला पर्ने पेम्बा दोर्जे शेर्पा दाकिपाका लागि निकै नै महत्वपूर्ण मानिस हुन् । उनकै कारणले उनले पहिलो पटक सगरमाथा आरोहणको अवसर पाएका थिए ।

शुरुमा एकपटक मात्र सगरमाथा आरोहणको इच्छा रहेका उनले हालसम्म ९ पटक सगरमाथाको शिखरमा पुगिसकेका छन् ।

पछिल्लो पटक उनी यही वर्ष मे २२ का दिन पहिलो एचआभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठका साथ सहयोगी गाइडका रुपमा सागरमाथाको शिखरमा पुगेका थिए ।

उनका अनुसार शुरुमा उनलाई सगरमाथाबारे केही थाहा थिएन । तर, अहिले भने त्यस्तो छैन । उनी ९ पटकसम्म सगरमाथाको शिखरमा पुगिसकेका छन् । मेरो सपना साकार भएन त ? उनी प्रश्न गर्छन् ।

उनी त्यसपछि भन्छन्, सामान्य मानिसले सोचेजस्तो छैन सगरमाथा आरोहण गर्न । यो धेरै नै कठिन काम हो । तरबारको धारमा हिँडेजस्तै हो सगरमाथा आरोहण । एक्कैछिनमा के हुन्छ थाहा हुन्न ।

उनका अनुसार जतिसुकै अनुभवी भएपनि सगरमाथा आरोहणका बेला जोखिमको स्तर उत्तिकै हुन्छ । सगरमाथा आरोहण गरेर सुरक्षित रुपमा घर फिर्नु कुनै युद्ध जितेजस्तै हो । उनी सुनाउँछन् ।

धेरै पर्वतारोहीहरुलाई गाइडका रुपमा सहयोग गरेका उनीसँग केही नराम्रा अनुभवहरु पनि छन् । केही मानिसहरु आत्मकेन्द्रित हुन्छन् । आरोहणअघि प्रायोजन, टिप्स र अरु अनेक दिने आश देखाउछन् तर पछि बालै दिन्नन् ।

उनलाई यस्ता घटना नरमाइलो लाग्छ । तर, उनीसँग सुनाउन धेरै रमाइला घटनाहरु पनि छन् । हालै सगरमाथा आरोहण गर्न सहयोग गरेका गोपाल श्रेष्ठसँगको आरोहण पनि यस्तै थियो । मैले उनलाई क्याम्प ४ सम्म तानेरै ल्याएँ होला । उनी सम्झिन्छन् ।

खबरहबसँग यसअघिको कुराकानीमा श्रेष्ठले पनि आरोहणका क्रममा गाइड दाकिपाले ठूलो सहयोग गरेको भन्दै उनको प्रसंशा गरेका थिए ।

अर्कोतर्फ दाकिपालाई हिमाली भेगमा मौसम परिवर्तनका कारण देखिरहेको परिवर्तनाबारे भने ठूलो चिन्ता छ । हिउँ विस्तारै पग्लिन थालिरहेको मेरो अनुभव छ । त्यहाँ हिउँ पग्लेर चट्टान देखा पर्दै गइरहेका छन् । पपकर्न क्षेत्र र खुम्बु हिमझरनामाथि यस्ता चट्टान देखा पर्न थालेका छन् । उनी सुनाउँछन् ।

यो निकै दुर्भाग्य हो । हामीले कार्बन उत्सर्जन र मौसम परिवर्तन नियन्त्रण गर्न सकेनौं भने हाम्रो गौरबको रुपमा रहेको हिमाललाई नाकारात्मक असर पुग्नेछ । सबै सरोकारबालाहरु यस विषयमा गम्भीर बन्नैपर्छ । उनी भन्छन् ।

यदी यही अनुपातमा हिउँ पग्लने हो भने आगामी ७० वर्षमा सगरमाथा केबल कालो चट्टानमा मात्र सीमित हुने उनको भनाइ छ । उनी त्यहाँ फोहोर व्यवस्थापनबारे पनि उत्तिकै चिन्तित छन् । खासगरी क्याम्प ३ र क्याम्प ४ क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।

सन् २०१५ को अप्रिल महिनामा आएको हिमपहिरोमा जोगिन सफल भएकोमा उनी आफूलाई निकै भाग्यमानी ठान्छन् । त्यस हिमपहिरोमा २५ जना आरोहीले ज्यान गुमाएका थिए । उनी त्यसबेला सगरमाथा आधार शिविरमा २५ जना सम्मिलित चिनियाँ आरोहण दलका साथ थिए ।

उनले आधार शिविरमा उनको टेन्ट नजिकै रहेको चट्टानमा लुकेर ज्यान जोगाएका थिए । उनका अनुसार त्यसबेला निकै त्रासदीपूर्ण वातावरण थियो । पहिरोपछि लाश, टेन्ट, अक्सिजनको सिलिण्डर र अरु सबै कुरा यताउती छरिएका थिए ।

उनका अनुसार सगरमाथा आधार शिविर सानो ठाउँमा धेरै आरोही, गाइड, भरियाहरु र अरु धेरै किसिमका मानिसहरु भेला हुने हुँदा बजारजस्तो देखिन्छ ।

उनले सगरमाथाबाहेक मनास्लु, अमादब्लम, ल्होत्से, गशेरब्रम, मेरा पिक र अरु ७ हजार मिटर माथिका दर्जनौं हिमालको आरोहण गरिसकेका छन् । उनका अनुसार उनी विश्वका सबै १४ ओटा अग्ला हिमाल आरोहण गर्न चाहन्छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १ : २६ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको