ओली–नेपाल चार घन्टा ‘लञ्च मिटिङ’ : प्रचण्ड तासको सिक्वेन्स र डुब्ली दुवै ! | Khabarhub Khabarhub

ओली–नेपाल चार घन्टा ‘लञ्च मिटिङ’ : प्रचण्ड तासको सिक्वेन्स र डुब्ली दुवै !



काठमाडौं– गत भदौंदेखि सम्बन्धमा ‘दरार’ उत्पन्न भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच औपचारिक दोहोरो संवाद रोकिएको थियो ।

रोकिएको दोहोरो संवादमा बुधवार ‘ब्रेक थ्रु’ भयो ।

हल्लाखल्ला र कुनै चर्चा विना नै अध्यक्ष ओली र नेता नेपालले दिउँसो ४ घन्टा ‘मन माझामाझ’ गरे ।

ओली नेपालको सम्बन्ध पार्टी एकताका क्रममा प्रदेश प्रमुखहरुको चयनपछि बिग्रिएको थियो । त्यसमा पनि भदौं ५ गते बसेको नेकपाको सचिवालय बैठकपछि त झन् यी दुई नेताबीचको दोहोरो सम्वाद पूर्ण रुपमा बन्द हुन पुग्यो ।

मिर्गौला रोगको उपचारका लागि सिंगापुर जानु अघि बोलाइएको सचिवालय बैठकमा नेता नेपालले दिएको स्वास्थ्य लाभको कामना ओलीले अस्वीकार गरेपछि दुई नेताबीचको व्यक्तिगत सम्बन्धमा समस्या देखिएको थियो ।

बैठकमा नेता नेपालले ओलीलाई शुभकामना दिँदै भनेका थिए,‘उपचारका लागि जाँदै हुनुहुन्छ,स्वस्थ भएर फर्किनुहोला । स्वास्थय लाभको कामना गर्दछु… ।’

नेता नेपालले स्वास्थ्य लाभको कामना गर्दा ओलीले आक्रोशित हुँदै जवाफ दिएका थिए,‘तिम्रा शुभकामना शुभकामना चाहिँदेन, मरोस् भन्ने मान्छेको शुभकामना पनि लिनु ?’

ओलीको प्रतिक्रिया सुनेपछि माधव नेपाल पनि आक्रोशित भएका थिए, ‘यस्तो आपराधिक मनोबृत्ति तपाईंको रु यस्तो मनोवृति भएका व्यक्तिसँग कसरी सँगै हिँड्ने ?’

त्यसयता ओली–नेपाल सम्बन्धमा चिसोपन बढेको थियो । आफूले ओलीका बारेमा गलत नसोचेको भएपनि ओलीको व्यवहारले चित्त दुखेको माधव नेपालले आफू निकट र ओली निकट नेताहरुलाई समेत बताएका थिए ।

तत्कालिन नेकपा एमालेलाई महासचिवको रुपमा लामो समय नेतृत्व गरेका नेता नेपाल तत्कालिन माओवादी केन्द्रसँगको पार्टी एकतापछि तेस्रो हुँदै चौथो वरियतामा पुगेका छन् ।

पार्टी एकता हुँदा दुई जना अध्यक्षपछिको वरियतामा रहेका नेता नेपाललाई पछि झलनाथ खनाल भन्दा पछिल्लो वरियतामा राख्ने निर्णय भयो जसलाई नेता नेपालले आफूमाथि ओलीले राखेको पूर्वाग्रहको रुपमा लिएका थिए ।

त्यस्तै प्रदेश प्रमुखहरुको निर्णय नेता नेपालको असहमतिको बाबजुद भएको थियो । जसमा नेता नेपालले उक्त निर्णयमा असहमति समेत जनाएका थिए । आफू पक्षधर नेताहरुलाई वाइपास गर्ने गरि निर्णय भएको उनको आरोप थियो ।

पूर्व माओवादीसँगको एकतापछि ओलीले माधव नेपाललाई भन्दा प्रचण्डलाई बढी भाउ दिएको र आफूलाई पाखा लगाउन खोजेको नेता नेपालको बुझाइ थियो । जसका कारण ओली नेपालबीच राजनीतिक मात्र नभइ व्यक्तिगत समस्यामा समेत समस्या पर्दै आएको थियो ।

एकाएक ब्रेक थ्रु !

अध्यक्ष ओली र नेता नेपालबीच बुधबार विहान ११ बजेदेखि ३ बजेसम्म छलफल भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

‘अध्यक्ष ओली र नेता नेपालबीच विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म छलफल भएको हो’, गौतमले भने,‘छलफल लामै जानेभएपछि दुई नेताले सँगै खाना खाएर पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी राजनीति, दुई नेताबीचको सम्बन्ध लगायत विभिन्न विषयमा कुराकानी भएको छ ।’

प्रधानमन्त्री ओलीले केही दिन यता नेता नेपालसँग भेटवार्ताको लागि पहल गरेका थिए । पहिलो आग्रहलाई वेवास्ता गर्दै आएका नेता नेपाल पछिल्लो समय भने ओलीसँग एक्लाएक्लै कुराकानी गर्न राजी भएसँगै त्यसको चाँजोपाजो मिलेको थियो ।

ओलीले दुईपटक आग्रह गरेपछि मात्र नेता नेपाल छलफलका लागि बालुवाटार गएका थिए ।

संगठन एकीकरणको बाँकी काम टुंग्याउन ओली र प्रचण्डले कात्तिक २४ गते छलफल गरेका थिए । उक्त छलफल पछि ओलीले नेता नेपाललाई पनि छलफलका लागि बालुवाटार बोलाएका थिए तर नेता नेपाल जान मानेनन् ।

केन्द्रीय आयोग र निकायको भागवण्डा पूर्व एमाले र माओवादी पक्षबीच समझदारी भइसकेको कारण त्यसमा थप छलफल आवश्यक नभएको जवाफ नेता नेपालले बालुवाटारलाई दिएका थिए । तर पार्टी एकताका क्रममा आयोग र निकायको नेतृत्वको विषय टुंगिएपछि पनि ओलीले नेता नेपाललाई बोलाएपछि भने उनी बालुवाटार जान राजी भएको श्रोतले बतायो ।

अध्यक्ष ओली र नेता नेपालबीच बुधबार भएको चार घन्टा लामो लञ्च मिटिङ एकाएक भएको ‘ब्रेक थ्रु’ भन्दै पूर्व एमाले पक्षधरहरुले यसको प्रशंसा गरिरहेका छन् । उता पूर्व माओवादी पक्षधरले भने नेकपामा प्रचण्डलाई कमजोर बनाउन ओली नेपालबीचको सहकार्यको रुपमा लिएका छन् ।

पूर्व एमाले निकटले उत्साहका साथ लिएको ओली नेपाल छलफललाई प्रचण्ड निकटले भने संशयका साथ हेरेका छन् ।

‘अध्यक्ष ओली र नेता नेपालबीच विग्रिएको सम्बन्ध सुधारका लागि छलफल र वार्ता गर्नु सकारात्मक नै कुरा हो, उहाँहरु लामो समयदेखि एउटै पार्टीमा रहेका नेता भएकाले यो अस्वभाविक होइन पनि’ प्रचण्ड निकट एक जनाले नेताले नाम नलेख्ने शर्तमा भने,‘तर यो छलफल र वार्ता कोही विरुद्ध वा कसैलाई कमजोर बनाउने शर्तमा हुनु उपयुक्त हुँदैन । यसले एकताका क्रममा रहेको पार्टीलाई फाइदा पुग्दैन ।’

प्रचण्डको चर्चा

ओली नेपालबीचको चार घन्टा लामो छलफलका क्रममा व्यक्तिगत सम्बन्ध नै बिग्रने अवस्थाको हल खोज्ने प्रयास भएको श्रोतको भनाइ छ ।
‘दुई नेताबीच केही समयदेखि व्यक्तिगत सम्बन्ध नै बिग्रिएको थियो,’ स्रोतले खबरहबसँग भन्यो,‘हिजोको छलफलले व्यक्तिगत समस्या समस्या समाधान भएको छ । दुई नेताहरुबीच पुरानै जस्तो सम्बन्धमा रहने र पार्टी विभिन्न निर्णयहरुमा छलफल गरेर अघि बढ्ने सहमति भएको छ ।’

‘४० वर्ष भन्दा लामो समयदेखिको सहकार्य र मित्रतालाई अझ बलियो बनाउँदै अघि बढ्ने गरि कुराकानी भएको छ’ नेता नेपाललाई उदृत गर्दै स्वकीय सचिव गौतमले बताए ।

भेटवार्ताले व्यक्तिगत सम्बन्धमा सुधार आएपनि राजनीतिक दूरी भने यथावत रहने नेकपाका एक नेताले बताए ।

‘दुई नेताबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्छ, केही समयदेखि देखिएको तिक्तता वार्ता र छलफलबाट हल खोज्नु राम्रो कुरा हो’ ओली निकटका एक नेताले भने,‘व्यक्तिगत सम्बन्ध ठीक ठाउँमा आएपनि पार्टी समस्या र राजनीतिक दूरी भने यथावत नै रहने छ ।’

बैठकमा दुई नेताबीच विभिन्न विषयमा कुराकानी भएको थियो । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम कारवाही, पार्टी एकताका काम लगायतका विषयमा कुराकानी भएको थियो ।

त्यसक्रममा पार्टी एकतापछि प्रचण्डको भूमिकाको विषयमा पनि दुई नेताबीच छलफल भएको श्रोतको भनाइ छ ।

दुई नेताले प्रचण्डको राजनीतिक गतिविधिलाई म्यारिज तासको ‘सिक्वेन्स र डुब्ली’ खेलसँग सँग तुलना गरे ।

‘प्रचण्ड तासको सिक्वेन्स र डुब्ली खेलेको जस्तो राजनीति खेल्छन्’ दुई नेताबीच भएको रमाइलो छलफललाई उद्धृत गर्दै स्रोतले भन्यो,‘एकतापछि पनि उनको त्यो बानी गएको छैन, त्यही खेल्दैछन् ।’

छलफलका क्रममा ओली र नेपालले एक अर्कालाई पनि घोचपेच गर्न छाडेनन् । त्यस क्रममा ओली र नेपालले एकअर्कालाई चेपुवामा पारेर छेउ लगाउन खोजेको भन्दै हाँसो गरेका स्रोतको भनाइ छ ।

त्यस्तै अर्का नेता झलनाथ खनाल र नेता वामदेव गौतमका बारेमा पनि दुई नेताबीच कुराकानी भएको थियो ।

नेता खनाल र गौतम कसका निकट भन्ने विषयमा दुई नेताबीच कुरा भएको थियो । त्यस क्रममा दुवै नेता खनाल र गौतम जे गर्दा फाइदा हुन्छ, उही निकट भन्दै हाँसो भएको स्रोतको दाबी छ ।

छलफलका क्रममा नेता नेपालले आफूले पार्टीलाई विधिसम्मत चलाउन आग्रह गर्दै आएपनि अध्यक्ष ओलीले वेवास्ता गरेका कारण समस्या उत्पन्न भएको बताएका थिए ।

आगामी दिनमा त्यस्ता समस्या नदेखिने हो भने पार्टीलाई एकताबद्ध रुपमा लैजाने कुरामा आफ्नो भूमिका रहने बताएका थिए । ओलीले भने आफूले पार्टीलाई विधिसम्मत रुपमा नै अगाडि लगिरहेको र केही समस्या भए त्यसलाई सुधार गरेर आगामी दिनमा अघि बढ्ने बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ४ : १४ बजे

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा