सँगै युद्ध लडेकाबाट प्रचण्डलाई सुरक्षा थ्रेट, वरिपरि ५९ सुरक्षाकर्मी परिचालित « Khabarhub

सँगै युद्ध लडेकाबाट प्रचण्डलाई सुरक्षा थ्रेट, वरिपरि ५९ सुरक्षाकर्मी परिचालित


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए। के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ?

सुरक्षा थ्रेटबारे दाहाल आफैंले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन्। सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ। राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धानबाट विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको स्रोतले बताएको नागरिक दैनिकमा खबर छ ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार विगतमा आफू नेतृत्वमा रहेको दलबाट फुटेको समूहबाट थ्रेट महसुस गरेपछि दाहालले बाध्य भएर खतरा रहेको अभिव्यक्ति दिएका हुन्। ‘विगतमा सँगै युद्ध लडेका नेत्र विक्रम चन्द र असन्तुष्ट पक्षबाट उहाँलाई थ्रेट छ, यसको मात्रा पनि बढी नै। यसो हुनुका पछाडि विगतमा माओवादी पार्टीप्रति असन्तुष्ट समूह र त्यो समूहलाई परिचालन गर्ने जुनसुकै पक्षबाट पनि उहाँलाई थ्रेट भएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘शान्ति प्रक्रियाप्रति असन्तुष्ट समूह नै बढी खतरनाक छ।’

दाहालले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएलगत्तै सरकारले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिउपरको सम्भावित सुरक्षा खतरा विश्लेषण गरी आवश्यक सुरक्षा व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ। गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष ध्यान दिनसमेत निर्देशन दिइसकेको छ।

पाँच वर्षअघि दसैंका अवसरमा तत्कालीन एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीकै कार्यकर्ता पदम कुँवरले दाहाललाई झापड हानेका थिए। त्यसपछि नै सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष सतर्कता अपनाएको थियो। पूर्व एमाओवादीका उच्च नेताहरूको हकमा भने सरकारले छुट्टै व्यवस्थासमेत गरेको छ। ‘१० वर्षे सशस्त्र युद्धपछि शान्तिप्रक्रियामा आएका नेताहरुलाई सुरक्षा थ्रेट हुन्छ नै। राज्यले पनि त्यसै अनुसार उनीहरुको सुरक्षा गरेको हुन्छ’, मन्त्रालय स्रोतले भन्यो। स्रोतका अनुसार दाहालको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ। ‘अरु पूर्वप्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन। दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाएको हो’, स्रोतले भन्यो।

‘उहाँमाथि थ्रेट भएको विश्लेषण गरिएको छ, अन्य राजनीतिक दलका नेताहरूलाई प्रदान गरिने सुरक्षाभन्दा बलियो संयन्त्र बनाई परिचालन गरिएको छ, द्वन्द्वबाट आएका शक्तिलाई आफ्नै भित्रबाट पनि सुरक्षा थ्रेट हुन सक्छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो।

सुरक्षा निकायका अधिकारीहरूले तत्कालीन एमाओवादीका नेताहरूमाथि थ्रेट विश्लेषण गरी सुरक्षा निगरानीसमेत बढाएका छन्। एमाओवादीबाट फुटेर अहिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र सो पार्टीबाट पनि फुटेर नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादी गठन भएको छ। अन्य ससाना समूह पनि फुटेर माओवादीबाट अलग भइसकेको र असन्तुष्ट समूह पनि उत्तिकै रहेको अवस्थामा सुरक्षा थ्रेट भएको मन्त्रालय उच्च स्रोतको दाबी छ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ७ : ११ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र