ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा | Khabarhub Khabarhub

ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सैन्य मातहतकै अर्को ह्याकर समूह समेत नेपाललाई आधार बनाइ ह्याकिङमा संलग्न रहेको भेट्टिएको छ ।

खबरहबले कम्प्युटरविज्ञहरुसहित २ महिना लामो अनुसन्धानका क्रममा उत्तर कोरियाली ह्याकरहरुले अर्को हाउजिङलाई पनि प्रयोग गरी संसारभर ह्याकिङमा संलग्न भइरहेको फेला पारेको हो ।

ह्याकिङको आवरणका लागि उत्तर कोरीयालीले २०७५ साल फागुन १९ गते कम्पनी नै दर्ता गर्न सफल भएको देखिएको छ । तर, उद्योग विभागमा दर्ता गरिएको कम्पनीको विस्तृत नाम, ठेगना, कर्मचारी संख्या नै उल्लेख गरिएको छैन । उद्योग विभागको रेकर्ड अनुसार उनीहरुले ४६ जनालाई रोजगार दिनसक्ने आशयपत्रमा देखाएका थिए ।

नेपाली भूमि प्रयोग गरेर पुनः अहिले उत्तर कोरियाली अर्को ६ जना ह्याकरको समूह ललितपुरमा समेत सक्रिय रहेको भेट्टिएको हो । यसअघि खबरहबले टोखास्थित हार्मोनी हाउजिङलाई आधार बनाई उत्तर कोरियाली ह्याकरहरुले अवैध गतिविधि सञ्चालन गरिरहेको खुलासा गरेको थियो ।

उत्तर कोरियाली सैन्य गुप्तचर विभाग अन्तरगतकै अर्को ह्याकर समूह ‘माउण्ट चिल्बो टेक्निकल सोलुसन कम्पनी लिमिडेड’को आवरणमा काम गरिरहेको खुलासा भएको हो ।

खबरहबले प्राप्त गरेको कागजातअनुसार कम्पनी उत्तर कोरियाली सैन्य मातहतमा रहेका ह्याकरहरु जुन मिन क्वाङ (Jun Min Kwon), क्योङ गुक रि (Kwang Guk Ri) र च्वाङ रोङ यन (Chong Ryong An) को नाममा दर्ता गरिएको छ ।

उनीहरुलाई उत्तर कोरियाली सैन्य गुप्तचर मातहतकै अन्य ह्याकरहरु रिउ क्योङ रोयल (Ryu Kyong Royal), किम क्वाङ जीन (Kim Kwang Jin) र पाक उन (Pak Un) नामले सघाइरहेका छन् ।

उत्तर कोरियाली ह्याकरहरु ललितपुरको सातदोबाटोस्थित क्लासिक टावरमा बसी हालैमात्र भैसेपाटीमा रहेको सनराइज हाउजिङको सी ब्लकमा सरेको खुलेको छ ।

खबरहबलाई प्राप्त दस्तावेजअनुसार उत्तर कोरियाली ह्याकर समूहले गत मार्चको अन्तिम सातामात्र ३ सय पटक भन्दा बढी विदेशमा सम्पर्क गरेको देखिएको छ ।उनीहरुले सबैभन्दा बढी भारत, युक्रेन र दक्षिण अफ्रिकामा सम्पर्क गरेको देखिएको छ ।

उत्तर कोरियाली ह्याकरहरुले इन्टरनेटको प्रयोग गर्दा ‘भर्चूअल प्राइभेट नेटवर्क’ (भीपीएन) तथा इन्क्रिप्टेट प्रविधिको प्रयोग गर्ने गरेका छन्  । उनीहरुले बेला–बेला ‘वी–च्याट’मार्फत टोखामा रहेका आफ्ना सहकर्मी र चीनमा समेत पटक–पटक सम्पर्क गरेको देखिएको छ । हाउजिङमा बसेका उत्तर कोरियाली ह्याकरहरुले अधिकांश समय बैंकिङ क्षेत्रको डाटा खोज्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

खबरहबसँग कुरा गर्दै राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देबिराम शर्माले उत्तर कोरियालीहरु नेपालमा कानून विपरित साइबर अपराधमा संलग्न भइरहेको पुष्टि भइसकेको बताए ।

शर्माले खबरहबमा खोजमूलक समाचार आइसकेपछि पनि उत्तर कोरियालीमाथि निगरानी बढाउनुपर्नेमा सरकार मौन रहनु आफैमा आश्चर्यजनक रहेको भन्दै उनले अवैध काममा संलग्न उत्तर कोरियालीहरुलाई तत्काल डिपोर्ट गर्नुपर्ने र अध्यागमन विभागले थप कडाई गर्नुपर्ने बताए । शर्माले उत्तर कोरियालीप्रति सरकार उदार हुनुलाई आफूले बुझ्न नसकेको प्रतिक्रिया दिए ।

खबरहबले उत्तर कोरियाली ह्याकरले टोखामा रहेको हार्मोनी हाउजिङमा बसेर ह्याकिङ गरिरहेको खोजमूलक समाचार प्रकाशन गरेपछि हाल त्यहाँका ह्याकरहरुले पनि सो आवासीय क्षेत्र छाडिसकेका छन् ।

नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारी नेपालमा उत्तर कोरियाको अवैध गतिविधि कुनै आश्चर्यको विषय नरहेको बताउँछन् । खबरहबसंग कुराकानी गर्दै भण्डारीले भने, ‘उत्तर कोरियाली सरकारले दूतावासहरु सञ्चालनका लागि बजेट नदिने हुँदा उनीहरु आफ्नो गतिविधि सञ्चालन गर्न विभिन्न गैरकानूनी आय आर्जनमा संलग्न रहने गर्छन् ।’

अवकाशप्राप्त सहायक रथी भण्डारीले उत्तर कोरियालीले नेपालमा कुटनीतिक आवरणमा गर्ने अवैध काममाथि सरकारले कडाईका साथ नियन्त्रण गर्नुपर्ने बताए । उनले उत्तर कोरियालीहरु नेपाल भूमि प्रयोग गरी अमेरिकी गतिविधिको निगरानी गर्नुका साथै अवैध कमाउ धन्दामा समेत संलग्न भएको बताए ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) हेमन्त मल्ल भन्छन्– ‘प्रहरीको नियमक निकाय प्राविधिकरुपमा दक्ष नहुँदाको दुस्परिणाम उत्तर कोरियाली ह्याकरले नेपाली भूमि प्रयोग गरिरहेको छ ।’

पूर्व डीआइजी मल्लले नेपालमा उत्तर कोरियालीका अवैध साइबर गतिविधि भइरहनुले नेपाल प्रहरीको साइबर अनुसन्धान प्रभावकारी नरहेको पुष्टि भएको तर्क गरे । उत्तर कोरियालीहरु बैंकलाई लक्षित गरिरहेको हो या अन्य सुरक्षा खतरा समेत हुनसक्ने भन्दै यस विषयमा तत्काल प्रभावकारी अनुसन्धान गर्नुपर्ने उनी बताउँछन् ।

उत्तर कोरियाली अवैध गतिविधि रोक्न सरकार चुकेको र नेपाली भूमिको दुरुपयोग हुँदासम्म सरकार मौन रहन नहुने उनले बताए ।

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रम नछाडेपछि उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघले कठोर नाकाबन्दी लगाएपछि उत्तर कोरियालीहरुले पछिल्लो समय नेपाली भूमिको प्रयोग गरी आम्दानी बढाइरहेका छन् ।

परराष्ट्रमामिला विज्ञ डा. खड्ग केसी भन्छन्– ‘उत्तर कोरियाली राज्यकै सहभागितामा कुटनीतिक निकाय व्यवस्थापनका लागि अवैध गतिविधि हुने गरेको हुँदा हाम्रा राजनीतिक अगुवा र प्रशासकहरुले अवैध गतिविधिमा संलग्न रहने उत्तरी कोरियाली कुटनीतिज्ञसँग भेटघाटमा समेत सजग हुनुपर्छ ।’

राष्ट्रसंघीय नाकाबन्दीको सामना गरिरहेको उत्तर कोरियाका यस्ता गतिविधिमा निगरानी गर्नुपर्ने र सुरक्षा खतरा उत्पन्न हुने गतिविधि गरे कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।

उत्तर कोरियाले नेपाली भूमि दुरुपयोग गरी ह्याकिङ लगायत गतिविधि जारी राख्दासमेत सरकारको मौनताप्रति विज्ञहरुले आपत्ति जनाएका छन् ।

‘उत्तर कोरियालीहरुले लामो समयदेखि नेपालमा अवैध गतिविधि सञ्चालन गरिरहेको हुँदा यस्ता गतिविधिहरु तत्काल रोक्न सरकारले उचित कदम चाल्नुपर्छ ।’ रणनीतिक मामिला विज्ञ अरुण सुवेदी भन्छन्,‘उत्तर कोरियालीका सम्पूर्ण साइबर गतिविधि, उनीहरुले संलग्न गरिरहेका डाटाहरु खोज्नुपर्ने र उनीहरुलाई पक्राउ गरी डिपोर्ट गर्नुपर्छ । अन्यथा उत्तर कोरियाका कारण नेपाल भूराजनीतिक संकटमा फस्न सक्ने खतरा आउन सक्छ ।’

यो पनि पढौं

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ८ : २२ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै