गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र | Khabarhub Khabarhub

गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उनी आफैँ जोहो गर्छन् । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र ।

हुन त केन्द्रले आफैँ उनलाई रकम दिने पनि होइन, तर केन्द्रमा काम गरेवापत उनले घर खर्च चलाउने रकम प्राप्त गर्छन् । कफी अनुसन्धान केन्द्रमा रहेका कफीका बिरुवामा मलपानी राख्ने, बिरुवा वरपरका झारपात गोड्ने उनको दैनिक काम हो । सोही काम गरेबापत उनले आफ्नो दैनिकि चलाउदैँ आएका छन् । उनका श्रीमान् रोजगारीकै लागि भारतमा छन् । शुरुमा अलिकति रकम चाहिए पनि श्रीमान्कै आस गर्ने उहाँ केन्द्रमा काम गर्न शुरु गरेदेखि घर खर्च रकम रकम आफैँ जुटाउँछन् ।

सोही स्थानकी मिठु क्षेत्रीले पनि कफी अनुसन्धान केन्द्रमा कफीका बोटबिरुवामा पानी राख्ने, जङ्गलको झार तथा घाँस काट्ने र सफा बनाउने, नर्सरी व्यवस्थापन, मल बीउको व्यवस्थापन, सिँचाइजस्ता काम गर्न थालेको तीन वर्ष भयो ।

श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । तर, आफूसहित छोरी र दुई छोराको आर्थिक खर्च उनी आफैँले व्यवस्थापन गर्छिन । ‘दैनिक रु ५१७ का दरले मासिक रु १५ हजार ५०० हुन्छ, तर सबै दिन आउन पाइँदैन’, उनले भनिन्, ‘कफी अनुसन्धान केन्द्रले गाउँमै रोजगार दिँदा खुशी लागेको छ ।’

सामान्य रकमको आवश्यकता पर्दा कसैसँग हात जोड्नु नपर्ने, आफ्नै छोराछोरीसँग बसेर काम गर्न पाइने, महिला समूहहरुमा बचत गर्दा पैसाको समस्या नपर्नेजस्ता कार्यमा सहयोग पुग्ने हुँदा उनले केन्द्रमै काम गरिरहेकी छन् । त्यसका साथै उनले आफैंले कमाएको पैसा र श्रीमान्ले कमाएर दिएको पैसामा समेत फरक पर्ने बताइन ।

कफी अनुसन्धान केन्द्रमा फूलखेती

कफी अनुसन्धान केन्द्रमा फूलखेती पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, बलेटक्सारमा रहेको कफी केन्द्रमा बनाइएको बगैँचामा फूलखेतीसमेत हुने गर्दछ ।
फूलखेतीकै लागि एक महिला कामदार केन्द्रले नियुक्त गरेको छ । बगैँचामा अहिले सयपत्री, थुङ्गेलगायतका झण्डै आधा दर्जन प्रकारका फूल छन् ।

‘यसपालिको तिहारमा मात्रै रु १४ हजारको फूल बिक्री भयो, बाँकी बीउका लागि राखिएको छ ।’ विगत पाँच वर्षदेखि केन्द्रको बगैँचामा काम गर्दै आएकी ४० वर्षीया कमला गौतमले भनिन्, ‘गाउँमै फूल स्याहार्ने काम पाउँदा खुशी लागेको छ ।’

रोजगारीकै लागि श्रीमान् विदेश रहे पनि घर खर्च आफूले चलाउने र श्रीमान्ले कमाएको पैसा बचत हुने उनले बताइन । केन्द्रमै मजदुरी गर्दै आउनुभएकी सरिता गौतमले पनि बलेटक्सारमा अनुसन्धान केन्द्र स्थापना भएपश्चात धेरै महिलालाई जीविकोपार्जनको माध्यम भएको प्रतिक्रिया दिइन ।

महिला–पुरुषलाई समान ज्याला

हाम्रो समाजमा अझै पनि महिला र पुरुषलाई कामको ज्यालामा विभेद गर्ने गरिन्छ । तर, बलेटक्सारको कफी अनुसन्धान केन्द्रमा काम गर्ने श्रमिकको पारिश्रमिक समान कायम गरिएको छ । समान प्रकृतिको काम गर्ने श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम दैनिक ज्याला रु ५१७ प्रदान गरिन्छ । जसले गर्दा महिलालाई पनि हौसला मिलेको छ ।

‘गाउँमा पुरुषको तुलनामा हामीलाई कम ज्याला दिने गर्दछन्, तर यस केन्द्रमा समान ज्याला छ’, केन्द्रमै काम गर्न आएकी रुरु गाउँपालिका–३ ओखलढुङ्गाकी कमला ज्ञवालीले भनिन्, ‘केन्द्र स्थापना भएपछि सामाजिक र आर्थिक पक्षमा धेरै सहज भएको छ ।’

४० जनासम्म कामदारले वार्षिक २७ लाख बुझ्छन्

कफीको उद्गमस्थल गुल्मीमा कफीको अनुसन्धान गर्ने उद्देश्यले विसं २०७१ मा राष्ट्रिय कफी अनुसन्धान केन्द्र स्थापना भयो ।

केन्द्रले कफीको अनुसन्धान मात्र गरेन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्‍यो । कार्यालयमा काम गर्ने सात कर्मचारी छन् । तर, स्थानीय कामदार भने त्यो भन्दा तेब्बर सङ्ख्यामा छन् । केन्द्र स्थापना भएदेखि नै स्थानीय कामदार नियुक्त गरिएको थियो ।

प्रत्येक कामदारको दैनिक ज्याला न्यूनतम ५१७ तोकिएको छ । तर, सामान्यबाहेकका अन्य सीपमूलक काममा भने त्यो भन्दा बढी पनि ज्याला प्रदान गरिएको कार्यालयले जनाएको छ ।

केन्द्रमा अहिले २२ नियमित कामदार छन् । तीमध्ये अधिकांश पाँच वर्षदेखि नै मजदुरीको काम गर्दै आएका छन् भने कतिले दुई वर्षदेखि काम गर्दै आएका छन् । केन्द्रमा बढीमा ४० जनासम्मलाई मौसमी रोजगारी कार्यालयले दिने गरेको कार्यालयका संयोजक कृष्णबहादुर थापाले जानकारी दिए।

शुक्रबार र शनिबार बिदा हुने तथा अन्य दिन पनि कोही कामदार नआउने हुँदा एक जनाको मासिक ज्याला बढीमा रु १२ हजारसम्म हुने गरेको उनले बताइन ।

त्यसरी कार्यालयमा काम गरेवापत स्थानीय मजदुरले वार्षिक रु २२ देखि २७ लाखसम्म लैजाने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । नियुक्त गरिएका कामदारको रकम नेपाल सरकारले नै उपलब्ध गराउने कार्यालय प्रमुख थापाले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  २ : २० बजे

फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री

‘सरकारले वार्ता एकतर्फी उल्लंघन गर्‍यो, मुक्कुम्लुङमा अब नो केबलकार !’

ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा केबलकार निर्माण विरोधमा रहेको मुक्कुम्लुङ संघर्ष समितिले सरकारसँग

कांग्रेस भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद थप नहुने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संस्थाको

ललिता निवास प्रकरण- बाबुराम र माधवविरुद्धको मुद्दामा आएन आदेश, पूर्ण इजलासमा पठाइयो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई जोडिएको

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

कठमाडौं– बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ