प्रचण्डको सार्वजनिक राजनीतिका १४ वर्ष– के पाए, के गुमाए ? | Khabarhub Khabarhub

प्रचण्डको सार्वजनिक राजनीतिका १४ वर्ष– के पाए, के गुमाए ?



काठमाडौं– युद्धरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्तिपूर्ण वार्तामार्फत सार्वजनिक भएको १४ वर्ष पुरा भएको छ ।

दोश्रो जनआन्दोलनको सफलतापछि तत्कालीन ७ राजनीतिक दल र नेकपा माओवादीबीच सहमति भई युद्धविराम भयो । युद्धविराम घोषणा भएसँगै भूमिगत प्रचण्ड पहिलो पटक २ असार २०६३ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सार्वजनिक भएका थिए ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि भएको सहमतिका क्रममा

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला गृहमन्त्रीको जिम्मेवारीका रुपमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रचण्डसँगै तत्कालीन माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईलाई लिन सेनाको हेलिकप्टरमार्फत कास्की गएका थिए । कास्कीको ढिकुरपोखरी गाविसको सिक्लेस जंगलमा बसेका तत्कालीन माओवादी नेताहरुलाई लिन तत्कालीन समयका गृहमन्त्री कृष्ण सिटौला नेपाली सेनाको हेलिकप्टर लिएर कास्की पुगेका थिए ।

हेलिकप्टरमा काठमाडौँ आएका प्रचण्डसहितका नेताहरुलाई विमानस्थलबाट गृहमन्त्री सिटौलाले आफ्नै गाडीमा राखेर वालुवाटार पु¥याएका थिए ।

कास्कीबाट सिधै बालुवाटार पुगेका तत्कालीन माओवादीका शीर्ष नेताहरु असार २ गते साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाललगायत नेतासँगको वार्तापछि नेपाल र सिटौलासँगै प्रचण्ड र भट्टराई सार्वजनिक भएका थिए ।

तत्कालीन माओवादी शान्तिपुर्ण राजनीतिमा आएपछि नेपालमा संविधान सभाको चुनाव भयो । त्यो पनि एक पटक होइन, दुई पटक । दोस्रो संविधानसभाले संविधान जारी गरेपछि लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको मानिन्छ । तत्कालीन सशस्त्र ‘जनयुद्ध’का सुप्रिम कमाण्डर समेत रहेका प्रचण्ड र जनसरकार प्रमुख रहेका नेता भट्टराई गरी दुवै नेताले प्रधानमन्त्रीको रुपमा देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । जनयुद्धकै अर्का कमाण्डर नन्द बहादुर पुन उपराष्ट्रपति छन् ।

प्रचण्ड सार्वजनिक भएको १४ वर्ष पुग्दै गर्दा भने तत्कालीन माओवादीको अस्तित्व लोप भइसकेको छ । तत्कालीन समयमा युद्धको नेतृत्व गरेका कमाण्डरहरु फरक–फरक दलमार्फत राजनीतिमा छन् । युद्धको नेतृत्व गरेको नेकपा माओवादी र त्यसका अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षको हैसियतमा छन् ।

अर्का नेता डा भट्टराई माओवादी आन्दोलनको औचित्य सकिएको भन्दै नयाँ शक्ति गठन गरी पार्टी एकिकरण गरी समाजवादी पार्टीको एउटा ‘अध्यक्ष’को रुपमा सक्रिय छन् ।

तत्कालीन एकीकृत नेकपा माओवादीको एक कार्यक्रममा प्रचण्ड

माओवादी जनयुद्धका अर्का नेतृत्वकर्ता मोहन वैद्य (किरण) नेकपा क्रान्तिकारी माओवादी नामको पार्टीको महासचिवका रुपमा पदासिन छन् ।

जनयुद्धकालमा प्रचण्डका विश्वासिलो पात्रका रुपमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी आन्दोलनलाई पूर्णता दिने भन्दै भूमिगत छन् । प्रचण्ड समेत अध्यक्ष रहेको नेकपा नेतृत्वको सरकारले अपराधिक समूह घोषणा गरी विप्लव नेतृत्वको पार्टीका गतिबिधिमाथि प्रतिबन्ध लगाएको छ ।

सार्वजनिक राजनीतिमा आएका प्रचण्डले अनेकौं उतार–चढाव व्यहोरेका छन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा ९ महिना पनि राम्रोसँग सरकार चलाउन नसकेका प्रचण्ड सबैभन्दा धेरै समय आफ्नै अभिव्यक्तिको कारण विवादको घेरामा रहे ।

सार्वजनिक हुँदाकै दिन असार २ गते प्रचण्डले ‘शाही नेपाली सेना बलात्कारी हुन्, सेनाको संख्या घटाउनुपर्छ’ भन्ने अभिव्यक्ति विवादित बन्यो । विवाद बढ्दै गएपछि प्रचण्डले आफ्नो ‘शब्द फिर्ता लिएर’ माफी मागेका थिए ।

त्यसयता उनका अभिव्यक्ति बेलाबेलामा विवादित बन्ने गरेका छन् । सार्वजनिक भएको १४ वर्षसम्म सत्ता सञ्चालनको निर्णयक भुमिकामा समेत रहे । उनकै समर्थनमा माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, शेरबहादुर देउवा लगायतका नेताहरु प्रधानमन्त्री समेत बने ।

तर, सशस्त्र युद्धको एउटा गम्भीर पाटोको रुपमा रहेको संक्रमणकालीन न्यायको विषय भने अझै टुंगोमा पुग्न सकेको छैन । द्वन्द्वपीडित नागरिकले न्याय पाउन सकेका छैनन् । प्रचण्डकै आह्वानमा माओवादी पार्टीमा लागेका तत्कालीन कार्यकर्ता र लडाकूहरु अहिले पनि आफूहरु ‘अन्याय’मा परेका भन्दै असन्तुष्टि जनाइरहेका छन् ।


सबै तस्वीरहरु cmprachanda.com बाट लिइएको हो

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १ : ४३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका