लागुऔषधको भयावह रुप, हिप्पीले भित्र्याएको बरबादीको बाटो « Khabarhub

लागुऔषधको भयावह रुप, हिप्पीले भित्र्याएको बरबादीको बाटो



अहिले नेपाली यूवामाझ ठूलो समस्याका रुपमा देखिएको छ, लागुऔषधको कुलत । यो समस्याबारे अधिकांश मानिसहरु जानकार र सजग भएपनि यस्तो कुलत नेपालमा कसरी भित्रियो भन्ने रहस्य धेरैलाई थाहा नहुन सक्छ । अझ साथीसंगत र लहलहैमा लागेर कुलतमा फस्नेहरु स्वयंलाई यसबारे जानकारी नहुन सक्छन् । लागुऔषध सम्बन्धी नेपालको केही तथ्य यस्तो छ-

वि.सं.२०२५ साल साउनमा तत्कालीन अन्तःशुल्क विभागले गोरखापत्रमा प्रकाशित गरेको टेण्डरले पनि लागुऔषधको तत्कालीन अवस्थाको चित्रण गर्छ । त्यो समयमा पत्रिकामा नै गाँजा चरेशको ठेक्का भनेर खोलिन्थ्यो । यतिमात्र होइन, गाँजा, चरेश यहाँ बिक्री हुन्छ भनेर खुलेआम होर्डिङ्बोर्ड समेत राखिन्थ्यो र बेचविखन गरिन्थ्यो ।

यतिसम्म कि लागुऔषधकै नाममा रेष्टुरेण्ट र खानेकुराको सूची समेत तयार गरिएको प्रमाण यो तस्विरमा स्पष्ट देखिन्छ । जहाँ रेष्टुरेण्टको नाम स्पष्ट लेखिएको इडन ह्यासीस् सेन्टर, मेनुमा हरेक खानेकुराको अगाडि ह्यासीस् राखिएको छ ।  यी तस्वीर वि.सं. २०२५ देखि ०३०/३१ को अवधिका हुन् । त्यो समयदेखि फष्टाउँदै गएको लागुऔषधले अहिले आएर भयावह रुप लिएको छ ।

यसरी शुरु भयो लागुऔषधको कुलत

लागुऔषध प्रशिक्षक तथा विश्लेषक कृष्णप्रसाद त्रिपाठीका अनुसार, सन् १९६० को दशकमा नेपालमा पर्यटकका लागि ढोका खुलेसँगै विदेशी पर्यटकहरु धमाधम भित्रन थाले । उनीहरुसँगै छरिएको कपाल, भरिएको गाँजा, लथालिंगे लुगा अर्थात हिप्पी संस्कृतिको प्रवेश भयो ।

लागुऔषध विश्लेषक त्रिपाठी भन्छन्– त्यही हिप्पी संस्कृतिसँगै लागुऔषधको कारोबार र प्रयोग भित्रिएको हो । त्यो समयमा कानून कडा थिएन, त्यसैको फाइदा उठाउँदै सन् १९७१ को दशकमा आइपुग्दा नेपालमा लागुऔषधले भयावह रुप लियो । यसले नेपाली संस्कृतिमाथि घिनलाग्दो प्रहार गर्‍यो ।

ढेड लाख बढी लागुऔषध प्रयोगकर्ता

केन्द्रीय तथ्याङ्क विभागले २०६३ सालमा गरेको अनुसन्धान अनुसार नेपालमा ४६ हजार व्यक्ति लागुऔषध प्रयोग गर्थे । २०६९ सालमा आइपुग्दा लागुऔषध प्रयोगकर्ताको संख्या बढेर ९१ हजार १ सय ५० पुग्यो ।

विभागले निकालेको तथ्यांकमा यो संख्या प्रतिवर्ष ११ दशमलव ६ प्रतिशतले वृद्धि हुने उल्लेख थियो । त्यसयता सरकारले नयाँ तथ्यांक निकालेको छैन । २०६९ सालको तथ्यांकमा कुल ९१ हजार ५ सय ३४ मध्ये पुरुष ८५ हजार २ सय चार जना (९३.१) प्रतिशत र महिला ६ हजार ३ सय ३० (६.९) प्रतिशत थिए ।

प्रतिवर्ष ११.६ प्रतिशतले वृद्धि हुँदा पछिल्लो ६ वर्षको २०७५ सम्मलाई आधार मान्ने हो भने १० हजार ६ सय १७ जनाको दरले बढेको देखिन्छ । २०६९ यताको पाँच वर्षलाई आधार मान्दा प्रतिवर्ष ११.६ प्रतिशतको वृद्धि जोड्दा ६३ हजार ७ सय १० जना बढेको देखिन्छ ।

२०६९ मा थपिएको संख्या जोड्दा अहिले नेपालमा डेढ लाखको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेका छन् । यस्ता प्रयोगकर्तामध्ये १८ देखि २५ बर्ष उमेर समुहका यूवापुस्ताको संख्या झन्डै ८० प्रतिशत छ ।

पुरुषको संख्या बढी भए पनि महिला पनि लागुऔषधको कुलतमा फसेका छन् । दुई वर्षअघिको तथ्यांकमा महिला दुर्व्यसनीको संख्या ६ हजार ३ सय ३० थियो । तर, लागुऔषधमा फसेका पुस्तालाई सामान्य जीवनमा फर्काउन सरकारसँग खासै ठूलो कार्यक्रम पनि छैन, बजेट पनि नभएको बताइन्छ ।

कुलतमा कलेज पढ्ने युवा

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका डीआईजी दिनेश अमात्यका अनुसार लागुऔषध प्रयोतकर्ता सबैभन्दा बढी युवा देखिएका छन् । त्यसमा पनि कलेज पढ्ने र हुनेखाने परिवारका बढी छन् ।

प्राविधिक र विज्ञान विषय पढ्नेहरुमा नशालु पदार्थको लत बढी देखिएको प्रहरी अधिकारी बताउँछन् । कठिन कोर्स हुँदा ध्यान केन्द्रित गर्न पनि उनीहरुले लागुऔषधको प्रयोग गर्ने गरेको बयान दिने गरेको डीआईजी अमात्य बताउँछन् ।

२०६९ को तथ्यांकअनुसार कुल प्रयोगकर्ताको २० देखि २४ वर्ष मुनिका ३३ प्रतिशत, २५ देखि २९ वर्षमुनीका २२ र १५ देखि १९ वर्षमुनीका २० प्रतिशले लागुऔषधको प्रयोग गरेको पाइएको छ ।

विशेष गरी काठमाडौं, कास्की, चितवन, झापा, सुनसरी, मोरङ, बाँकेसहित तराईका अधिकांश जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या अधिक छ ।

५७ प्रतिशत सुईमार्फत प्रयोग

विश्लेषक त्रिपाठीका अनुसार लागुऔषधलाई प्राकृतिक, अर्ध–प्राकृतिक वा अर्ध–कृतिम र कृतिम गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार प्राकृतिकतर्फ गाँजा, चरेश, अफिम आदि । अर्ध प्राकृतिक वा अर्ध कृतिमतर्फ हिरोइन, कोकिन आदि पर्छन् भने कृतिमतर्फ बुप्रेनर्फिन, डाइजेपाम, मेथाडोन आदि पर्दछन् ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार, स्रोतको आधारमा ७०.१ प्रतिशत दुर्व्यसनीले अन्य दुर्व्यसनी साथीमार्फत लागुऔषध पाउने गरेका छन् भने ३०.७ प्रतिशत दुर्व्यसनीले घुम्ती लागुऔषधी बिक्रेताबाट खरिद गरी सेवन गरेको तथ्यांक छ । लागुऔषध सेवन गर्ने दुर्व्यसनीमध्ये ४३ प्रतिशतले मुखबाट र ५७ प्रतिशत दुर्व्यसनीले सुईमार्फत लागुऔषध प्रयोग गरेको पाइन्छ ।

नियन्त्रणमा समस्या

नेपाल प्रहरीले लागुऔषध नियन्त्रण गर्ने भन्दै ब्यूरो नै बनाएर थुप्रै जनशक्ति छुट्याए पनि प्रविधिको अभावमा उपलब्धिमुलक नतिजा निकाल्न सकेको छैन । यतिसम्म कि कुन लागुऔषध हो ? कुन होइन ? त्यसलाई सहजरुपमा छुट्याउने प्रविधि समेत छैन प्रहरीसँग ।

लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विश्वराज पोखरेल भन्छन्– अनुमानका भरमा लागुऔषध चिन्नुपर्ने अवस्था छ । अनुसन्धान भन्छ – लागुऔषधको प्रयोग बढ्दो छ ।

यसले हजारौं युवालाई बरवादीको बाटोमा पुर्‍याएको छ । अपराध बढाएको छ । प्रहरी भन्छ – हामी सक्रिय छौं, चलखेल कम गर्छौं । अनि विज्ञहरु भन्छन् – खुला सीमानाका कारण लागुऔषधको कारोबार बढेको हो ।

जे भएपनि अहिले लागुऔषध ठूलो समस्याको रुपमा देखिएको भने पक्का हो । यसको प्रकोप रोक्न हरेक क्षेत्रबाट प्रयास हुनु जरुरी देखिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : ४६ बजे

गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

काठमाडौँ– गोरखाको बारपाक सुलिकोट–२ घर भएका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

सवारी दुर्घटनामा चालकको मृत्यु

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई

अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४

एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै