मलेसियामा श्रमिक अभाव हुँदा एकै कामदारले दुई ठाउँमा काम गर्दै | Khabarhub Khabarhub

मलेसियामा श्रमिक अभाव हुँदा एकै कामदारले दुई ठाउँमा काम गर्दै


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको श्रम गन्तव्य मुलुक मलेसियामा यतिबेला कामदार अभाव छ । मलेसियन सरकारले अबलम्बन गरेको नीतिका कारण नयाँ कामदार पुगेका छैनन् । जसले मलेसिया गएका विदेशी कामदारलाई फाइदा पुगेको छ ।

कामदार अभावकै कारण एक कम्पनीमा कार्यरत मजदुरले अर्को कम्पनीमा पनि काम गर्न पाएका छन् । अर्को कम्पनीमा काम गर्न नपाउनेले पनि नियमित कामसँगै राम्रो ओभरटाइम काम गर्ने सुविधा पाएका छन् ।

सरकारको नीति कै कारण नयाँ कामदार ल्याउन नसकेको भन्दै मलेसियाली मानव संशाधन मन्त्रालयलाई रोजगारदाता कम्पनीले सहज व्यवस्था लागू गर्न माग पनि गरेका छन् ।

सन् २०१८ देखि मलेसिया सरकारले आप्रवासी श्रमिक भित्र्याउन प्रक्रिया सुधार गर्ने भन्दै विदेशी कामदारको आपूर्ति नै बन्द गरेको थियो ।

मलेसिया रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएर मासिक करिब ९० हजार विदेशी कामदार भित्रिने गरेको मलेसियन अध्यागमन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

अहिले एक वर्षअघि सबै प्रक्रिया पुगेर जान नपाएका श्रमिक मात्र रोजगारीका क्रममा भित्रिने गरेका छन् । यो एक वर्षको अवधिमा १५ हजार कामदारमात्र मलेसिया पुगेका छन् ।

रोजगारीका लागि भित्रिने विदेशी कामदारमाथि आर्थिक शोषण नियन्त्रण गर्ने र आप्रवासी श्रमिक भित्र्याउने प्रक्रिया सहज बनाउन मलेसियाली गृह र मानव संशाधन मन्त्रालयले एक वर्षदेखि नयाँ नियम बनाएको छ । यो नियम ४ महिनाअघिदेखि लागू छ।

विदेशी कामदार भित्र्याउन दबाब

मलेसियामा सञ्चालित कलकारखाना, उद्योग व्यवसाय, सुरक्षा कम्पनीसहितका रोजगारदाता कम्पनीले विदेशी कामदार ल्याउने व्यवस्थासहितको कानूनी व्यवस्था मिलाउन माग गरेका छन् । उनीहरुले मासिक ८० हजारभन्दा धेरै विदेशी कामदार मलेसियामा चाहिने आवश्यकता रहेको पनि बताएका छन् ।

व्यवसायी र रोजगारदाताको मागअनुसार मानव संशाधन मन्त्रालयले विदेशी कामदार भित्र्याउन प्रक्रिया पनि शुरु गरेको छ ।

मलेसियाका लागि श्रमिक आपूर्ति गर्ने मुख्य देश नेपाल र बंगलादेश हुन् । एक वर्षदेखि बन्द रहेको विदेशी कामदार पठाउने व्यवस्थापनि यही साताबाट शुरु भएको छ । मलेसियामा काम गर्न नेपाल र बंगलादेशबाट मासिक २० हजार कामदार जाने गरेका छन् ।

मलेसिया सरकारले विदेशी कामदार रोजगारीका लागि भित्र्याउने प्रक्रिया सहज बनाएको मलेसियास्थित नेपाली राजदूतावासका राजदूत उदयराज पाण्डेले जानकारी दिए ।

मलेसियाका रोजगारदाता कम्पनीले वर्ष दिनदेखि पूर्ण रुपमा विदेशी कामदार ल्याउन नपाउदाँ श्रम अभाव भएको विषयमा मलेसियाली उद्योग, रोजगारदाता कम्पनी र व्यवसायीहरु नेपाली कामदार ल्याउन बाटो खुलाउन आग्रह गर्दै आएको राजदुत डा.पाण्डेले बताए ।

मलेसियासँग नेपालले श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौता गरेका कारण कामदार ल्याउन समस्या नभएको उनको भनाइ छ । मलेसियाले नयाँ भिसा प्रमाणीकरणको काम मंगलबारदेखि शुरु भएको दूतावासले जनाएको छ ।

मलेसियाका मानव संशाधन मन्त्रालयले तत्कालका लागि सन् २०१८ अगाडिकै कानूनलाई मानेर केही महिनाका लागि विदेशी कामदार भित्र्याउन लागेको छ ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले नयाँ कानूनअनुसार विदेशी कामदार भित्र्याउन केही समय लाग्ने भएको भन्दै तत्काल पुरानै प्रक्रियाअनुसार केही महिना आप्रवासी श्रमिक ल्याउने बताएको मलेसियाली सञ्चार संस्था दसन डेल्लीको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

दसनसँगको कुराकानीमा मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरनले भनेका छन्, ‘श्रमिकको अभाव टार्नका लागि पूरानै व्यवस्था अनुसार काम गर्नुपर्ने छ । कामदारको अभावको समस्या तत्काल सम्बोधन भएपछि त्यसलाई परिमार्जन गरिनेछ ।’

सरकारीस्तरमा श्रम सम्झौत गरेपनि नयाँ श्रम स्वीकृति लिएर १५ महिनादेखि कुनै पनि नेपाली कामदार मलेसिया गएका छैनन् ।

गत बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मानव संशाधन मन्त्रालयको प्रविधि कमिटिको बैठकले आइतबारदेखि नयाँ श्रम स्वीकृतिमार्फत कामदार आपूर्ति गर्ने सहमति गरेको हो ।

एक विदेशी २ काम गर्दै

कामदार अभावकै कारण मलेसियामा कार्यरत विदेशी कामदारले दैनिक १७ घन्टासम्म काम गर्दै आएका छन् । उनीहरुले दुई बेग्ला-बेग्लै कम्पनीमा काम गरिरहेको पाइएको छ । एकै कम्पनीमा काम गर्नेले पनि ओभर टाइम (अतिरिक्त समय) काम गर्न पाउने सुविधा मिलेको छ ।

धरानका जितेन्द्र लिम्बुले बिहानको सिफ्ट पञ्जा कम्पनी र बेलुका सुरक्षागार्डका रुपमा काम गरिरहेको बताए । उनले भने, ‘अहिले कामदार अभाव भएरै होला । हामीलाई चाहिँ फाइदा भएको छ । मैले दुई कम्पनीमा काम गर्न पाउँछु ।’

उनले पहिले यसरी काम गर्न नपाएपनि अहिले फरक-फरक कम्पनीमा काम गर्न सकिने सुनाए । लिम्बुले भने, ‘म ग्लोब (पञ्जा) कम्पनीमा काम गर्नेगरी श्रम स्वीकृति लिएर आएको हुँ । तर विगत तीन महिनादेखि अर्को कम्पनीमा सुरक्षा गार्डको काम पनि गरिरहेको छु ।’

उनले मलेसियामा ठूला-साना रोजगारदाता कम्पनीमा श्रमिकको धेरै अभाव रहेको बताए ।

तीनदिन अघि मात्र स्वदेश फर्किएका नुवाकोटका राजन गौतमले पनि १५ महिनासम्म दुईवटा कम्पनीमा काम गरेको बताए । उनले दैनिक १८ घण्टासम्म काम गरेको पनि सुनाए ।

यो पटक घर आउन निक्कै गाह्रो भएको भन्दै गौतमले भने, ‘उता कम्पनीमा काम गर्ने मान्छेको संख्या एकदमै कम छ । अहिले बिदा पाउन नै गाह्रो छ । धेरै बिन्ती बिसाएरमात्र यसपाली घर आउन पाएँ ।’

यस्तै, मेलेसियामा अवैध रुपमा बसेका व्यक्तिले श्रमिकको माग पूर्ति गर्दै आएका छन् । तर, प्रहरीको धरपकडका कारण उनीहरु पनि समस्यामा परेको गौतमले बताए ।

गौतमले त्यहाँ भएका अरु साथीहरुले पनि धेरै ओभरटाइम काम पाएको तथा अर्को कम्पनीमा समेत काम गर्ने अवसर पाएको बताए ।

मलेसियामा श्रमिकको अभाव भएपछि लिम्बु र गौतम जस्ता धेरै रोजगारीका लागि त्यहाँ पुगेका नेपाली कामदारले दुई स्थानमा काम गर्दै आएका छन् । मलेसियामा अवैध कामदारले श्रम बजारको अभाव कम भइरहेको छ ।

४० प्रतिशत अवैध कामदार

मलेसियामा ४० लाखभन्दा धेरै विदेशी श्रमिक छन् । जसमध्ये ४० प्रतिशत अवैधानिक रुपमा बसेको मलेसियाली सरकारको अनुमान छ ।

मलेसियामा बस्ने ११ लाख नेपालीमध्ये ५ लाखभन्दा धेरै श्रमिक रहेको दूतावासले जनाएको छ । यस्तै, १ लाख ५० हजार नेपाली अवैध रुपमा बसोबास गरिरहेको अनुमान छ ।

मलेसियामा रोजगारीका लागि प्रत्येक वर्ष एक लाखभन्दा धेरै नेपाली पुग्ने गरेको रोजगारदाताहरु बताउँछन् । आप्रवासी श्रमिकको भरमा चलेको मलेसियामा करिब ७० प्रतिशत कामदार विदेशबाट नै भित्र्याइने गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : १६ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज