सोलुखुम्बु- मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्ला आएर बसेका छन् ।
केही पर्यटक झण्डै डेढ घण्टा पैदल यात्रापछि सुर्के आएका छन् । उनीहरु हेलिकप्टरमा काठमाडौं फर्किने तयारीमा छन् । शुक्रबारदेखि मौसम प्रतिकूलका कारण खुम्बु क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
प्रतिक्रिया