बाँकेमा १२ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण « Khabarhub

बाँकेमा १२ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- वार्षिक लाखौं रुपैयाँ खर्च गरेर बाँकेमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएको देखिएको छ ।

नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा ६१ जिल्लाबाट सुरु भएको सो अभियान हाल २४ जिल्लामा जारी छ । बाँकेमा सन् २०११ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु गरिएको थियो । तर हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएकोमा स्वास्थ्य क्षेत्रका विज्ञहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

उनीहरुका अनुसार धेरै मानिसलाई अझै पनि हात्तीपाइले रोगविरुद्धको औषधिबारे थाहै नभएका कारण गलत धारणा व्याप्त छ । वासस्थान वरिपरि सफा राख्नुपर्ने, लामखुट्टेबाट बच्ने उपायहरू अपनाउनु पर्ने र शरीरको कुनै अङ्ग सुन्निन थाले रगत परीक्षण गराइहाल्नु पर्ने विज्ञहरूको सुझाव छ ।

पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नै पर्ने चिकित्सकहरू बताउँछन् ।

हात्तीपाइलेको बाहिर देखिने लक्षण वा तत्काल देखिने लक्षणमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनसक्छ ।

त्यसैगरी महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु पछि अपाङ्गसमेत हुँदा सामाजिक र मानसिकरुपमा पनि असन्तुलित हुने हुनसक्छ ।

हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी नभएपछि बाँकेमा हात्तीपाइले रोगको पुनः तेस्रो पटक सर्वे गर्न लागिएको छ । दुई वर्ष अघिको तथ्याङ्क अनुसार बाँकेमा अझै १२ प्रतिशत मानिसमा हात्तीपाइले रोगको सङ्क्रमण देखा परेकाले पुनः सर्वे गर्न लागिएको हो ।

बाँकेको नेपालगञ्ज उपमहागरपालिका–४ स्थित सल्यानीबाग र कोहलपुर नगरपालिका–५ र ६ को रझेना गाउँमा सर्वे गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा हात्तीपाइले रोगविरुद्ध नौ पटक ओखती खुवाइसकिएको छ । तर, नतिजा सन्तोषजनक नआएपछि पुनः सर्वे गर्न लागिएको हो ।

गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोगी, मुटुरोगी एवम् मृगौला, जन्डिस र कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामीहरू र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक अरू सबैले यो औषधि सेवन गर्न सक्छन् । गतवर्ष बाँकेमा करीब ५५ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

यसैबीच, राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आज नेपालगञ्जमा आयोजना गरिएको बाँके जिल्लास्तरीय अन्तर्क्रियामा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य निरीक्षक प्रदीप रिमालले बाँकेमा चेतनाको कमीका कारण औषधि खानेको सङ्ख्यामा कमी आएको बताए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १० : १५ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने