लेजर गनको प्रभावः बेतुकले हुइँकिने सवारीसाधनमा कमी, ६ सय बढीलाई कारबाही | Khabarhub Khabarhub

लेजर गनको प्रभावः बेतुकले हुइँकिने सवारीसाधनमा कमी, ६ सय बढीलाई कारबाही



काठमाडौं- राजधानीको कोटेश्वर–कलंकी सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रयोगमा ल्याइएको ‘लेजर स्पिड गन’ प्रभावकारी बन्दै गएको छ । लेजर गनमार्फत सडकमा गुड्ने सवारीको गति मापन कार्यलाई कडाइ गर्न थालिएसँगै बेतुकले हुइँकिने सवारीसाधनमा कमी आएको छ ।

पछिल्लो समय यो सडक खण्डमा साना सवारी दुर्घटना शून्यमा झरेको छ । योसँगै कोटेश्वर-कलंकी सडकखण्डमा हुने गरेको दुर्घटनाको मुख्य कारण पनि तीव्र गति नै रहेको प्रष्ट भएको छ ।

ट्राफिक प्रहरीले लेजर स्पिड गन प्रयोगमा ल्याएपछि कोटेश्वर-कलंकी सडकखण्डमा ६ सयभन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २१ जेठबाट लेजर गनबाट सवारीको गति मापन कार्य थालेको थियो । २७ जेठसम्म सवारीचालकलाई सचेत गराउन सो अभियान सञ्चालन भएपनि २८ जेठ अर्थात् गत मंगलबारबाट भने कारवाही नै गर्ने गरी लेजर गन सञ्चालन भइरहेको छ ।
ट्राफिक प्रहरीले फरक रुट बनाएर दैनिक ३ सिफ्टमा लेजर स्पिड गनमार्फत सवारी साधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही गर्दै आएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

पछिल्लो सात दिनमा ६ सयभन्दा बढी सवारीचालकलाई कारवाही गरेको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले खबरहबलाई जानकारी दिए । ‘लेजर गन प्रयोग गरेपश्चात ६ सयभन्दा बढीलाइ कारवाही गरिसकेका छौँ’ उनले भने, ‘अब निरन्तर यो कारवाही भइरहन्छ’ ।

प्रभावकारी बन्दै ‘लेजर स्पिड गन’

हेर्दा चिल्लो र फराकिलो देखिने कोटेश्वर—कलंकी सडक ८ लेनको छ । चीनले सडक निर्माण गरेर नेपाललाई हस्तान्तरण गरेको एक वर्ष बितिसकेको छ । यो सडकखण्डलाई सुरक्षाको दृष्टिले अत्यन्त जोखिमयुक्त मानिन्छ । त्यसलाई न्यूनीकरण गर्न आवश्यक पूर्वाधार जस्तैः आकाशे पुल, जेब्रा क्रसिङ, ट्राफिक बत्तीलगायतका कार्यले अझै पूर्णता पाएको छैन ।

जसकारण दिनँहु सवारीसाधन एकआपसमा ठोक्किने र दुर्घटना हुने क्रम बढिरहेको छ । यो सडकखण्डमा बढ्दै गएको दुर्घटनालाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले लेजर गन प्रयोगमा ल्याएको हो ।

लेजर गन सञ्चालन भएपछि केही हदसम्म दुर्घटना न्यूनीकरण भएको एसएसपी पन्त बताउँछन् । उनी भन्छन्, ‘सामान्य दुर्घटना दिनहुँ भइरहन्थ्यो अहिले कम भएको छ ।’ पन्तका अनुसार यो सडक चिल्लो देखेर चालकले तीव्र गतिमा सवारी हुइक्याउने गर्छन् ।

नियम उल्लंघन गर्नेलाइ एक हजार जरिवाना

महाशाखाले मुख्य लेनमा प्रतिघण्टा ५० किमी, सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किमी गति निर्धारण गरेको थियो । तर सवारीचालकले भने सडकमा ८० किमी प्रतिघण्टामा सवारी हुइँकाउने गरेको पाइएको छ ।

नियम उल्लंघन गर्नेलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार नै कारवाही गरेको पन्तले बताए । ‘५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा सवारी चलाउनेहरु कारवाहीमा परेका छन्’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘पहिलो चरण भएकाले हामीले ५ सय मात्रै लिएका छौँ ।’
‘नियमअनुसार हेर्ने हो भने एक हजार रुपैयाँ जरिवानाको व्यवस्था छ’ उनले भने, ‘हामी कडाइका साथ लागी पर्ने छौँ’।

कोटेश्वर–कंलकी सडकमा दुर्घटना

महाशाखाको तथ्याङ्क हेर्ने हो भने एघार महिनायता कोटेश्वर–कलंकी सडकमा १७० वटा सवारी दुर्घटना भएका छन् । जसमा १५ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् भने २२९ जना घाइते भएका छन् ।

कोटेश्वर-भक्तपुरमा पनि लेजर स्पिड गन

अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा पनि सवारी साधनको गति मापन गर्ने प्रक्रिया अघि बढेको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि महानगरीय प्रहरी परिसर भक्तपुरले सवारीसाधनको गति निर्धारण गरेको हो ।

काभ्रेको साँगबाट भक्तपुर भित्रिएपछि जडिबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्याधिक गति प्रतिघण्टा ५० किमी निर्धारण गरेको छ । गत जेठ २८ गतेबाट भक्तपुर क्षेत्रमा यो नियम लागू गरिएको हो । ५ दिनसम्म सवारीचालकलाई सचेत गराउन अभियान सञ्चालन गरिएको थियो । १ असारबाट भने जरिवानासमेत गराउने गरी यो क्षेत्रमा पनि लेजर गन कारवाही थालिएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  २ : ५९ बजे

कांग्रेसले निरन्तर सदन अवरोध.गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेसकाे निरन्तर सदन अवराेध पछि प्रतिनिधि सभा बैठक

विदेश पठाइदिन्छु भन्दै  ठगी गरेको आरोपमा तीन जना पक्राउ 

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका

कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौं– कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा

यस्तो नेपाली क्रिकेट टिमको अमेरिकामा प्रशिक्षण तालिका

काठमाडौं– टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको

व्यक्ति विशेष छानबिन समिति जरुरी छैन : देवेन्द्र पौडेल 

काठमाडौं– नेकपा माओवादीका संसद् देवेन्द्र पौडेलले कांग्रेसले बजेट अधिवेशनको पहिलो