मनले चिताएको पूरा हुने विश्वाससहित रजस्वला नभएका कन्याको पूजा | Khabarhub Khabarhub

मनले चिताएको पूरा हुने विश्वाससहित रजस्वला नभएका कन्याको पूजा


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका)लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ ।

विशेषगरी जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिन्छ । बनेपा नगरमा यो पूजाको इतिहास ११७ वर्ष पुरानो हो । बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्छ । टिकट दिएर गरिने पूजा जहाँ वर्षेनी करिब २ हजार ५ सय कन्या पूजिन्छन् ।

नेवाः कन्या पूजा नाम दिइएको टिकलवाला कन्या पूजा आज बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना भएको छ । ‘हामीले यसलाई वर्षौँदेखि निरन्तरता दिइरहेका छौँ, यसको आफ्नै मान्यता रहेको छ’, नेवाः कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष रत्नभक्त पोटेले भने । अर्को, बिनाटिकट, स्वतःस्फूर्त गरिने कन्या पूजा कृष्ण जन्माष्टमीका दिनमा वर्षेनी करिब ८ हजार कन्या सहभागी हुने गर्दछन् ।

बनेपा नगरको भोलाखाँटोलदेखि लायकु दरबार तथा पुरानो बजारको दायाँबायाँ चारदोबाटोसम्म पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।

कन्यालाई पुज्न काठमाडौं, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका सनातन कन्या पूजा प्रबन्ध समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिए । उनका अनुसार समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।

पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन छ । पूजामा जिल्लाको मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तको आउने जाने क्रम चलिरहन्छ ।

बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् । स्थानीय समाजसेवी लम्बोदर कायस्थले भने, ‘रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरुमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास छ ।’ जिल्लाका विभिन्न स्थानमा वर्षेनी १५ हजारभन्दा बढी कन्या पुजिन्छन् । बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तती मानिने भएकाले कुनै जाति या वर्गका आधारमा भेदभाव नराखी पूजा गरिन्छ । बनेपा–३ भोलाखाँटोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा शुरु हुने गर्दछ ।

स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोही प्रचलनअनुरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्षदेखि नेवार समुदायका साथै विभिन्न जातजातिका कन्यासमेत पुजिँदै आएका छन् ।

विगत केही वर्षदेखि जिल्लाका अन्य स्थानमा पनि कन्या पूजाको आयोजना गर्दै आइएको छ । कृष्ण जन्माष्टमीका दिन बनेपा नगरका साथै जिल्लाका बुडोल, दोलालघाट, भैँसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, साँगा र पनौतीमा पनि कन्या पूजाको आयोजना गरिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : २७ बजे

शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी

रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मध्य

किन नुहाउने ?

काठमाडौं- नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले

भारतमा एक वर्षमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’

काठमाडौं– पछिल्लो १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरको आइफोन

स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने

काठमाडौं- प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ भइरहेका छन् ।