संविधानमा असन्तुष्टि– संशोधनको विषय मधेशवादीलाई सत्ताको भर्‍याङ | Khabarhub Khabarhub

संविधानमा असन्तुष्टि– संशोधनको विषय मधेशवादीलाई सत्ताको भर्‍याङ



काठमाडौं– संविधानसभाबाट संविधान जारी भएको आज ऐतिहासिक दिन हो । विसं २०७२ साल असोज ३ गते अर्थात आजकै दिन पहिलो पटक जनताका प्रतिनिधिको सभा मार्फत संविधान जारी भएको थियो ।

संविधान जारी भएको चार वर्ष पूरा हुँदा पनि यसको सर्वस्वीकार्यताको विषयमा वहस जारी छ ।

नेपाली जनताको लामो संघर्ष, बलिदान, आन्दोलनबाट प्राप्त उपलव्धिको रुपमा संविधान रहेपनि मधेस लगायतका जातीय पहिचानवादीहरुले वर्तमान संविधानलाई ‘अपूरो’ भन्दै आएका छन् ।

संविधान कार्यान्वयन भएर तीन तहको निर्वाचन सम्पन्न भएको छ । संघीयता कार्यान्वयनमा आएको छ तर त्यही संविधानले निर्दिष्ट गरेको मार्गबाट निर्वाचनमा भाग लिएर सत्तामासमेत रहेका केही राजनीतिक दलले भने संविधान अपूरो भएको भन्दै विरोध गर्दै आएका छन् ।

उनीहरुले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने, संविधान च्यात्ने लगायका कार्य गर्दै आएका छन् ।

मधेसवादी दलहरुले संविधान जारी भएको दिनदेखिनै संविधान संशोधनको माग उठाइरहेका छन् । चार वर्ष वितिसक्दा पनि उनीहरुको मागको सम्बोधन भने हुन सकेको छैन ।

संविधान दिवस होइन, कालो दिवस !

संविधानसभाबाट असोज ३, २०७२ मा संविधान घोषणा भएसँगै मधेसकेन्द्रित राजनीतिक दलहरु विरोधमा उत्रिए । उनीहरुले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाए भने संविधान जलाउने देखि ब्ल्याक आउटसम्मको कामलाई निरन्तरता दिएका थिए ।

संविधान जारी भएपछि त्यही संविधानको व्यवस्था अनुसार भएका निर्वाचन, सरकार गठनलगायतका प्रकृयामा सहभागी भएपनि उनीहरुले आजको दिनलाई कालो दिनको रुपमा मनाउन छोडेका छैनन् ।

मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल विशेषगरि संविधान विरोधी गतिविधिमा संलग्न देखिएको छ । संवैधानिक व्यवस्था अनुसार संसदमा प्रतिनिधित्व गरिरहेको दल राजपाले रोष्टमबाटै संविधानको विरोध गर्दै आएको छ ।

त्यस्तै उपप्रधानमन्त्रीसहित केन्द्र सरकारमा रहेको र प्रदेश दुईमा सरकार सञ्चालन गरिरहेको समाजवादी पार्टी नेपालले पनि संविधान अपूर्ण रहेको बताउँदै आएको छ यद्दपी उसले आजको दिनमा संविधान जलाउने लगायतका कार्य भने नगर्ने जनाएको छ ।

समाजवादी फोरमले संविधान दिवसको कार्यक्रममा सहभागीता नजनाउने र विरोध पनि नगर्ने नीति अख्तियार गरेको छ

राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका नेता राजेन्द्र महतोले आधा भन्दा धेरै जनसंख्या संविधानको विरोधमा रहेको भन्दै यसलाई दिवसको रुपमा मनाउनुको औचित्य नै नभएको दाबी गर्छन् ।

‘गाइजात्रे तालमा यो संविधान दिवस नमाउनु क्या’ महतोले भने,‘आधा भन्दा धेरै मानिस यसको विरोधमा छन्, सरकारमा रहेकाहरु नै यसको विरोधमा छन् ।’

उनले संविधान देशका सबै नागरिकका लागि स्वीकार्य हुनुपर्ने र त्यसमा अपनत्वको महशुस हुनुपर्ने बताए ।

त्यस्तै राजपाका महासचिव मनिष कुमार सुमनले यो संविधानले आफ्ना मागहरु संवोधन नगरेको र मधेस, आदीवासी जनजाती लगायतका मागलाई उपेक्षा गरेका कारण कालो दिवसको रुपमा आजको दिनलाई मनाउने बताए ।

‘हामीले आजको दिनलाई कालो दिवसको रुपमा लिने गरेका छौं, त्यसैले आज तराईका सवै जिल्लामा प्रदर्शन गर्ने, साँझ ७ बजेदेखि १५ मिनेट व्ल्याकआउट गर्ने, हरेक जिल्लामा कोणसभा गर्ने लगायका विरोधका कारर्यक्रम राखिएको छ ’ सुमनले भने ।

त्यस्तैगरि थरुहट थारुवान राष्ट्रिय मोर्चाले पनि संविधान दिवसलाई कालो दिवसको रुपमा विरोधका कार्यक्रम मनाउने गरेका छन् ।

समाजवादीको दोहोरो चरित्र

उपप्रधानमन्त्रीसहित सरकारमा रहेको समाजवादी फोरमले भने संविधान दिवसको दिन दोहोरो चरित्र प्रदर्शन गरेको आरोप अर्को मधेशकेन्द्रीत दल राजपाले लगाएको छ । राजपाका नेता महतोले सरकारमा पनि बस्ने र संविधानको पनि विरोध गर्ने दोहोरो चरित्र नदेखाउन समाजवादीलाई आग्रह गरे ।

समाजवादी फोरमले संविधान दिवसको कार्यक्रममा सहभागीता नजनाउने र विरोध पनि नगर्ने नीति अख्तियार गरेको छ ।

संविधान दिवसको कार्यक्रम छल्नका लागि सरकारमा उपप्रधानमन्त्रीसमेत रहेको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विदेश गएको चर्चा पनि चलेको छ ।

समाजवादी पार्टीले संविधान संशोधनको औचित्य रहेको भन्दै संविधान अपूर्ण रहेको बताउँदै आएको छ । सरकारमा सहभागी हुने बेलामा तत्कालिन संघीय समाजवादी फोरम(अहिलेको समाजवादी पार्टी) ले संविधान संशोधनसहितका तीन बुँदेसहमति गरेको थियो । तर संविधान संशोधनका विषयमा भने सरकारले अहिलेसम्म कुनै कदम चालेको छैन ।

प्रधानमन्त्रीसमेत रहेको नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन लहडमा नभइ औचित्यको आरधारमा गर्नसकिने बताउँदै आएका छन् ।

संविधान संशोधनको मुख्य एजेन्डासहित सरकारमा गएका उपेन्द्रलाई अहिले संविधान संशोधनका लागि सरकारलाई दवाव दिन नसकेको र संविधान संशोधनको मुद्दा सरकारमा जाने भर्‍याङ मात्र बनाएको आरोप आफ्नै पार्टीबाटसमेत लाग्ने गरेको छ ।

सत्ता बार्गेनिङका लागि संविधान संशोधन र अपूर्णताको कुरा गर्ने र सत्तामा पुगेपछि त्यसबारेमा आवाज नउठाउने र उठाउन नखोज्ने प्रवृत्ति मधेश केन्द्रीत दलमा देखिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको धारधार पास गर्ने क्रममा हतार गर्दा पहाडमा दिपावली र मधेसमा ब्लाक आउट गर्ने अवस्था आएको बताए ।

‘यो पूर्ण हो त्यसैले दिवावली मनाउँ भन्नु र यो केही होइन च्यात्नुपर्छ, ब्लाक आउट गर्नुपर्छ भन्ने सही होइन ।’ उनले भने,‘समस्या रहेका विषयलार्य संशोधन मार्फत हल गर्नुपर्छ ।’

समाजवादी पार्टी नेपालका संगठन विभाग प्रमुख गंगा श्रेष्ठले संविधान पूर्ण रहेकोले संशोधनको माग आफ्नो पार्टीले गर्दै आएको बताए ।
‘संविधान अपूर्ण छ, संशोधनको अपरिहार्यता छ’ उनले भने,‘संविधान दिवसको दिन कालो दिवस नमनाउने र संविधान च्यात्ने काम पनि हुँदैन ।’

श्रेष्ठले संविधान दिवसको दिन कालो दिवस मनाउने र संविधान च्यात्ने काम वुद्धिमानी काम नभएको बताउँदै यो संविधान संसारकै अव्वल भने नभएको टिप्पणी गरे ।

संविधान दिवसको दिन सातवटै प्रदेशमा संविधान संशोधन प्रकृयाको औचित्य र अपरिहार्तता बारे अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको उनले जानकारी दिए ।

राजनीतिक विश्लेषकहरुले भने मधेसकेन्द्रीत दलले संविधान संशोधनको मागलाई सत्ताको भर्‍याङ बनाएको आरोप लगाउने गरेका छन् ।

सत्ता बार्गेनिङका लागि संविधान संशोधन र अपूर्णताको कुरा गर्ने र सत्तामा पुगेपछि त्यसबारेमा आवाज नउठाउने र उठाउन नखोज्ने प्रवृत्ति मधेश केन्द्रीत दलमा देखिएको उनीहरुको भनाइ छ ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरका अनुसार जब मधेसी दल सत्तामा पुग्छन् तब मधेशका एजेन्डा विर्सन थाल्छन् । ‘मधेसी दलले सत्ता पुगेर विर्सिएपनि मधेसी जनताको संविधानप्रति असहमति हिजो पनि थियो र आज पनि छ’ उनले भने ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ११ : ३७ बजे

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले