काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारसँग सीपमूलक तालिम लिएपछि मात्र श्रम स्वीकृति दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका प्रतिनिधिले तत्काल सीपका आधारमा कामदार पठाउन नसक्ने भन्दै ४ वटा बुँदामा संशोधन गरेर मात्र कार्यान्वयनमा गर्नुपर्ने माग राखेर वैदेशिक रोजगार विभागलाई ज्ञापनपत्र बुझाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रमा देखा परिरहेका समसामयिक समस्याका बारेमा विभागलाई जानकारी गराएको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाले बताए । वैदेशिक रोजगार क्षेत्र लथलिङ हुँदै गएकोप्रति व्यवसायी पनि चिन्तित भइरहेको भन्तानाको भनाइ छ । भन्तानाले भने, ‘समस्या समाधान गर्ने सरकार र व्यवसायी मिलेर काम गर्न पक्षमा व्यवसायी छन् ।’
सरकारले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मयार्दित र सुरक्षित बनाउन आवश्यक विषय लागू गर्ने विभागका महानिर्देशक भिष्मकुमार भुषालले व्यवसायीसँग भेटमा बताएको जानकारी दिए । सरकारले प्रष्ट नीति बनाएर यो क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने भएकाले व्यवसायीलाई वैदेशिक रोजगारी सुधार्न सहयोग गर्ने आग्रह गरेको उनको भनाइ छ ।
आगामी असार १५ गतेदेखि विदेश जाने कामदारले सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति दिने भन्दै विभागले गत साता सूचना प्रकाशित गरेको थियो । तर, वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने व्यवायीहरुले भने सरकारको उक्त निर्णयको विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया