एजेन्सी– साउदी अरबले साउदीका विभिन्न जेलमा रहेको ८ सय ५० भारतीय कैदीलाई रिहा गर्ने भएको छ । हालै भारत भ्रमणमा पुगेका साउदी युवराज मोहम्मद बिन सलमानलाई आफ्ना मुलुकका कैदीलाई रिहा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह गरेसँगै साउदीले ८ सय ५० कैदीबन्दीलाई रिहा गर्ने भएको हो ।
प्रधानमन्त्री मोदीको आग्रह साउदी युवराज बिन सलमानले स्वीकार गरेको जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीको आग्रहमा युवराज मोहम्मद बिन सलमानले साउदी जेलमा रहेका ८ सय ५० भारतीय कैदीलाई रिहा गर्न निर्देशन दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्विटमार्फत् जनाएका हुन् ।
त्यसअघि गत सोमबार युवराज बिन सलमानले पाकिस्तान भ्रमणका क्रममा साउदी जेलमा रहेका २ हजार १ सय कैदीलाई रिहा गरिदिएका थिए । विदेशमा सजाय काटिरहेका भारतीय कैदीको सबैभन्दा ठूलो सङ्ख्या साउदी अरबमा छ ।
साउदी अरबमा करिब २ हजार ५ सय भारतीय कैदी रहेको बताइन्छ । साउदी अरबमा सजाय काटिरहेका भारतीयमध्ये अधिकांश हत्या, अपहरण, घुसखोरी र अन्य लागुऔषध तथा मदिराजन्य अपराधमा संलग्न छन् ।
साउदी अरबमा कार्यरत आप्रवासी कामदारको सबैभन्दा ठूलो सङ्ख्यामा भारतीयहरु छन् । त्यहाँ करिब २७ लाख भारतीय नागरिक विभिन्न क्षेत्रमा कार्यरत छन् । एशिया भ्रमणमा निस्केका युवराज बिन सलमान अहिले चीन भ्रमणमा छन् ।
प्रतिक्रिया