मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर, विदेशमा समेत निर्यात | Khabarhub Khabarhub

मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर, विदेशमा समेत निर्यात



काठमाडौं– हाँगा छोपेर ढकमक्क फुलेका फूलका थुंगा । हेर्दा मन नै लोभ्याउने बगैंचा । जहाँ २२ थरीका गोदावरी फूलहरु फूलिरहेका थिए । परबाटै वास्ना आउने फूलमा मानिसहरुलाई किन्न मात्र होइन फोटो खिच्नसमेत भ्याइनभ्याइ थियो ।

चारैतिर झिलीमिली देखिने समझना नर्सरी बसन्तपुरका ५७ वर्षीय तीर्थबहादुर महर्जनको हो । सानैउमेरदेखि फूलको व्यवसाय गर्ने सोच बनाएका तीर्थले २२ वर्षको उमेरमा काठमाडौंकै एक नर्सरीमा मालीका रुपमा काम गर्ने अवसर पाएका थिए ।

त्यो अवसरलाई राम्ररी सदुपयोग गरे उनले । करिब १३ वर्षसम्म सोही नर्सरीमा मालीका रुपमा काम गरे पनि । सधै अरुकोमा काम गरेर नहुने रहेछ भन्ने सोचले उनले आफैले पुष्प व्यवसाय गर्ने सोच बनाए ।

थोरै लगानीमा उनले सीतापाइलामा २ रोपनी जग्गामा भाडामा लिएर गोदावरी फूलको व्यवसाय सुरु गरे आजभन्दा २२ वर्षअघि । तीर्थकाअनुसार उनी मात्र होइन् नर्सरीमा फूल फुलाउनका लागि उनको परिवारको साथ र सहयोग उत्तिकै रहेको छ ।

‘सुरुमा एउटै जातका विरुवा धेरै रोप्ने गरेको थिएँ’ खबरहबसँगको कुराकानीमा महर्जनले भने ‘विस्तारै जात बढाउन थालेको छु बरु विरुवा कम उमार्छु’ । अहिले उनको नर्सरीमा २२ प्रजातीका गोदावरी फूल ढकमक्क फुलेका छन् ।

सर्वसाधरणको चाहनाअनुसार गमलामै फूल बेच्ने गरेको बताउँछन् महर्जन । भन्छन्, ‘यसरी गमलामै बेच्दा उहाँहरुले पनि घरमा लगेर सजाउन सक्नुहुनेछ नर्सरीमा अहिले ५ सय देखि १ हजार २ सय रुपैयाँसम्मका गमलाहरु छन्’ ।

‘यो व्यवसायमा लगानी धेरै चाहिँदैन तर हेरचाह निरन्तर चाहिन्छ’ उनी भन्छन्, ‘राम्रो हेरचाह गर्न सकेमा आम्दानी राम्रो हुन्छ’ । महर्जनका अनुसार उनी २ रोपनी क्षेत्रफलमा लगाएको गोदावरीबाट वार्षिक २० लाख आम्दानी गर्ने गरेका छन् ।

गोदावरी फूल अन्य फूलको तुलनामा हुर्काउन केही गाह्रो हुने उनको अनुभव छ । ‘सयपत्री मखमली फूललाईभन्दा गोदावरी फूललाई हुर्काउन अलि कठिन हुन्छ’ उनी भन्छन् ‘तर अन्तराष्ट्रिय बजारमै यसको माग चाहिँ छ’ ।

यो सिजनमा अत्याधिक मात्रामा गोदावरी फूलको व्यापार हुने सानेपास्थित सिर्जना नर्सरीकी सञ्चालिक नेत्रकुमारी खड्का बताउँछिन् । अमेरिका नेदरल्याण्ड लगायतका देशबाट गोदावरीका विरुवा ल्याउने र असार महिनाको अन्त्यबाट रोप्न सुरु गर्ने गरेको उनले सुनाइन् ।

विगत २४ वर्षदेखि पुष्प क्षेत्रमा काम गर्दै आइरहेकी खड्काले २ वर्षअघि भक्तपुरको ददिकोटमा १० रोपनी क्षेत्रफलमा नर्सरी विस्तार समेत गरेकी छिन् । ‘नर्सरीमा काम गर्न १३ जना कामदार राखेकी छु’ खबरहबसँगको कुराकानीमा उनले भनिन्, ‘डेढसयभन्दा बढि प्रजातीका फूलहरु लगाएकी छु’ ।

नर्सरीमा एक सयदेखि ८ सयसम्मका विरुवाहरु रहेको बताउँदै उनी भन्छिन्, ‘३ हजार वटा विरुवा छन् यी सबै विरुवा तिहारमा सकिन्छन्’ ।

गोदावरी फूलमा आत्मनिर्भर

पछिल्ला समय अन्तराष्ट्रिय बजारमा गोदावरी फूलको माग अत्याधिक रहेको फ्लोरिकल्चर एशोशिएसन नेपालले (फ्यान) ले जनाएको छ । कतिपय व्यवसायीहरुले गोदावरीको विरुवा स्वदेशमै उत्पादन गर्ने गरेका छन् ।

हाल नेपालमा रातो, सेतो, पहेंलो, खैरो, प्याजी लगायत डेढसयभन्दा बढि प्रजातिका गोदावरी फूल रहेका छन् । नेपाली बजारमा हरेक वर्ष तिहारमा ८ देखि १० लाख मखमली र गोदावरी फूलको मालाको माग हुने गर्छ ।

यो मागलाई आन्तरिक बजारले धानिरहेको फ्यानका अध्यक्ष कुमार श्रेष्ठले खबरहबलाई जानकारी दिए । ‘गोदावरी र मखकलीमा नेपाल आत्मनिर्भर छ’ उनले भने ‘यी फूलहरु अन्तराष्ट्रिय बजारमा निर्यात समेत भइरहेको अवस्था छ’ ।

नेपालमा १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५ सय व्यक्तिले रोजगारको अवसर पाएका छन् ।

यस्तो छ गोदावरीको महत्त्व 

१७ औं शताब्दीतिर युरोपमा यो फूलको व्यवसायिक खेती सुरु भएको थियो । नेपालमा भने यसको प्रचलन तथा सुरुवात भएको समयको यकिन नभएपनि हिन्दीमा यसलाई ‘गुलदाउदी’ भनिने भएकाले यो नाम हिन्दीबाट आएको हुनुपर्नेमा पुष्प विशेषज्ञहरु बताउँछन् ।

गोदावरी फूललाई रंगअनुसार विभिन्न प्रतीकका रुपमा पनि लिइन्छ । यसको सेतो रंगको फूललाई सत्यको प्रतीकका रुप्मा मानिन्छ भने रातो रंगलाई मायाको प्रतीकका रुपमा लिइन्छ ।

गोदावरी फूललाई नेपाली समाजमा मालाका रुपमा लिइन्छ । साथै यसको कट फ्लवर बुकेमा पनि प्रयोग हुन्छ ।

 

तस्वीर–अदीप श्रेष्ठ

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १० : ०२ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन