नेपालमा भ्रष्टाचार: आफूलाई ‘राजा’ बनाउन खोज्ने सामन्ती संस्कारको उपज « Khabarhub

नेपालमा भ्रष्टाचार: आफूलाई ‘राजा’ बनाउन खोज्ने सामन्ती संस्कारको उपज




गतवर्ष द ईकोनोमिस्ट पत्रिकाले आफ्नो फेसबुक पेजमा वर्षभरी सो पत्रिकामा छापिएका चित्र मध्ये सबैभन्दा बढि पटक हेरिएको चित्र भनेर सिङ्गापुरको र अन्य केही देशहरुको सन् १९६० देखि हाल सम्मको वार्षिक प्रतिव्यक्ति आय तुलना गरिएको चित्र साझा गरेको थियो । उक्त चित्रमा नेपालको प्रतिव्यक्ति आय देखाईएको थिएन । त्यसैले उक्त चित्र देखेपछि पंतिकारलाई नेपाल र यसका दुई छिमेकी राष्ट्रहरुको सोहि अवधिमा देखिएको प्रतिव्यक्ति आयको प्रवृत्ति सिङ्गापुरको प्रतिव्यक्ति आयको प्रवृतिको तुलनामा कस्तो रहेछ त भनेर जान्ने जिज्ञासा उत्पन्न भयो । विश्व बैङ्कको वेबपेजबाट तथ्याङ्क निकालेर ग्राफ बनाऊँदा तल देखाईएको जस्तो ग्राफ प्राप्त भयो ।

तथ्याङ्क श्रोतः https://data.worldbank.org/indicator/NY.GDP.PCAP.CD?locations=CN&name_desc=true

माथिको चित्रमा हेर्ने हो भने सन् १९६० मा यी चारै देशहरुको प्रतिव्यक्ति आय बीचको अन्तरलाई आँखाले छुट्याउन सकिँदैन, अर्थात त्यो समयमा यी देशहरुको विकासको स्तर त्यती धेरै फरक थिएन । सन् १९६० मा भारत, नेपाल, चीन, र सिङ्गापुरको प्रतिव्यक्ति आय क्रमशः ८१,५१,९०, र ४२८ अमेरिकी डलर थियो । तर, सन २०१७ सम्म आइपुग्दा सिङ्गापुरको प्रतिव्यक्ति आय १३५ गुणाले बढेर ५७ हजार अमेरिकी डलर पुग्यो भने नेपाल र भारतको प्रतिव्यक्ति आय सोही अवधिमा क्रमशः १७ र २४ गुणाले मात्र बृद्धि भै ८५० र १९४२ अमेरिकी डलर पुग्यो । अर्कोतर्फ चीनको बृद्धि तुलनात्मक रुपमा नेपाल र भारतको भन्दा केही राम्रो रह्यो र प्रतिव्यक्ति आय ९८ गुणाले बढेर करिब ९ हजार अमेरिकी डलर पुग्यो ।

तथ्याङ्क अध्ययन पछि मनमा उठ्ने स्वभाविक प्रश्न के हो भने सन् १९६० मा करिब करिब एउटै विन्दुबाट प्रस्थान गरेका नेपाल र सिङ्गापुरमध्ये सिङ्गापुरले विकासको पथमा कसरी चितुवाको जस्तो छलाङ्ग लगायो र नेपाल किन अझैपनि गँड्यौला जसरी घस्री रहेको छ ?

सिङ्गापुरको छलाङ्गको रहस्यको बारेमा द ईकोनोमिस्ट लेख्दछ, ‘सिङ्गापुरको समृद्धिको मूल कारण इमान्दार र व्यवहारिक सरकार हो ।’ सिङ्गापुरको विकासको आधार भ्रष्टाचाररहित सरकार, राजनीति र कर्मचारीतन्त्र हो ।

तर, नेपालको सन्दर्भ भने ठीक उल्टो छ । भ्रष्टाचार नेपालको संस्कृति बनेको छ । हामी बाटोमा हिँड्दा भ्रष्टाचार जताततै देखिन्छ, चाहे ती बनाउन नपाउँदै खाल्डा परेका सडकमा हुन वा मालदार अड्डामा सुरुवा भएको वर्ष दिन भित्रै ठडिएका अट्टालिकामा हुन । देशमा प्रजातन्त्रको पुन:स्थापना पश्चात सुशासन, उत्तरदायित्व बहन, जवाफदेहिता अनि पारदर्शीता बढ्नु पर्नेमा समाज यसको विपरीत दिशामा हिँडिराखेको आभास हुन्छ ।

विगतमा नेपालमा निकै ठूला भ्रष्टाचारका घटना बाहिर आएका छन् । अंकमा हेर्ने हो भने एउटै भ्रष्टाचारको मूल्य लाखबाट बढेर करोड र करोडबाट वढेर अर्ब पुगेको छ । एउटै कर्मचारी वा जनप्रतिनिधिको भ्रष्टाचार अर्बौंमा भएको कुरा बाहिर आएको छ । यस बाहेक आपसी मिलोमतोमा बाहिर नआउने भ्रष्टाचारको आकार अझ ठूलो छ । नीतिगत भ्रष्टाचार, घुसखोरी र कमिसन, कामचोरी (समयको भ्रष्टाचार) देशमा यत्रतत्र सर्वत्र छ । अंग्रजीमा एउटा शब्द छ ‘ओम्नीप्रिजेन्ट’ जसको अर्थ हुन्छ जहाँपनि उपस्थित भएको । नेपालमा भ्रष्टाचार पनि ‘ओम्नीप्रिजेन्ट’ छ । त्यसैले यहाँ भ्रष्टाचार भयो, त्यहाँ भ्रष्टाचार भयो भन्ने कुराको कुनै अर्थ नै छैन । कुरा मात्र के हो भने कुन भ्रष्टाचारको घटना बाहिर आयो र के कुरा नमिलेर बाहिर आयो भन्ने मात्र हो । होइन भने भ्रष्टाचार जताततै छ ।

सोसल मिडिया र आम मानिसका कुरा गर्ने हो भने नेपालमा ठूलो मात्रामा भ्रष्टाचार हुने, तर बाहिर नआउने क्षेत्र भनेको निर्माण, भन्सार, राजस्व, र स्वास्थ्य क्षेत्र हो । यदि गुगल स्कलरमा खोज्ने हो भने नेपालको स्वास्थ्य क्षेत्रको भ्रष्टाचारका बारेमा अन्तर्राष्ट्रिय पत्रिकामा प्राज्ञिक लेख नै छापिएका छन् । नेपालमा भ्रष्टाचारको स्थितिलाई ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक वर्ष प्रकाशन गर्ने करप्सन परसेप्सन इंडेक्सले स्पष्ट पार्दछ । करप्सन परसेप्सन इंडेक्स (CPI) को आधारमा गरिएको वरियताक्रममा सन् २००४ मा ९० औं स्थानमा रहेको नेपाल सन् २०१८ सम्म आई पुग्दा १२४ औं स्थानमा झरेको छ । गत वर्ष भन्दा यो वर्ष नै पनि नेपाल २ स्थान तल झरेको छ ।

नेपालमा भ्रष्टाचारका कारण

भ्रष्टाचार किन हुन्छ वा कस्तो अवस्थाले भ्रष्टाचार बढाउन मद्दत गर्दछन् भन्ने बारेमा मनग्यै अध्ययन भएका छन् । तर यी म्याक्रो स्तरमा भएका छन् । तर एउटा व्यक्ति भ्रष्ट किन हुन्छ भन्ने बारेमा धेरै अध्ययन भएको छैन । मार्गिट टाभिट्स नामक राजनीतिशास्त्रीले व्यक्तिगत तहमा गरेको एक अध्ययनले के देखाएको छ भने कुनै मानिसलाई यदि भ्रष्टाचार गलत र अनैतिक कार्य हो भन्ने लाग्दैन भने उ भ्रष्टाचारमा संलग्न हुन्छ । त्यस्तै, टाभिट्सका अनुसार, भ्रष्टाचारमा संलग्न हुने कारण देखासिकी पनि हो । अरुले भ्रष्टाचार गरेको देखेर पनि मानिस भ्रष्टाचार गर्न लालायित हुन्छ । यी दुवै कारण नेपालमा पनि लागू हुन्छ । त्यस्तै अन्य अध्ययनले के देखाएका छन् भने भ्रष्टाचार गर्ने अवसर प्राप्त हुनु, नेता र उच्च तहका कर्मचारीहरु आफैं भ्रष्टाचारमा संलग्न हुनु, लोभी र बेइमानी आचरण, समाजमा नैतिकताको क्षयीकरण, भ्रष्टाचार गरेपछि समातिने डर नहुनु जस्ता कारणले कुनै पनि व्यक्तिलाई भ्रष्टाचारी बनाउँछ । नेपालका लागी पनि यी कारण लागु हुन्छन् ।

भ्रष्टाचार एक प्रकारको मानसिकता पनि हो- समाजमा मेरो बराबरीमा अरु कोही हुनुहुँदैन भन्ने

हामी सबैलाई थाहा भएको कुरा- भ्रष्टाचारको मूल जड लोभ हो । तर कुन कुराको लोभ भन्ने चाहिँ समाज अनुसार फरक पर्न सक्छ । नेपाल अनि दक्षिण एसियाको सन्दर्भमा भन्ने हो भने अधिकांश मानिसमा तीन कुरा प्रतिको आसक्ति देखिन्छ– Money, Muscle, and Madam अर्थात पैसा, शक्ति अनि महिला । यी तीनकुरा एक अर्काका परिपूरक पनि छन्– एउटाले अर्को कुरा प्राप्त गर्न मद्दत गर्दछन् । हामीहरुमा यी तीन ‘M‘ प्रतिको आसक्ति हुनुको कारण चाहिँ राजा रजौटाहरुको विरासतमा प्राप्त परम्परागत सामन्ती संस्कारयुक्त जीवनशैलीप्रतिको मोह हुन सक्छ । यस बाहेक विदेश भ्रमण वा संचार माध्यममार्फत देखिएका वा अक्कल झुक्कल महशुस गरिएका विलासी जीवनशैली प्राप्त गर्ने धोको पनि हो । अर्थशास्त्रको भाषामा यसलाई प्रदर्शन प्रभाव (Demonstration Effect) पनि भनिन्छ । यी आशक्ती र आकर्षणलाई पूरा गर्न मानिस भ्रष्टाचार गर्दछ ।

भ्रष्टाचार एक प्रकारको मानसिकता पनि हो- समाजमा मेरो बराबरीमा अरु कोही हुनुहुँदैन भन्ने। वास्तवमा यो मानसिकता सामन्ती संस्कारको उपज हो र यो मानसिकताले गर्दा अर्थशास्त्रको चर्चित सिद्धान्त, Prisoner’s Dilemma (कैदीहरुको द्विविधा), को अवस्था सिर्जना भएको छ । भएछ के भने प्रहरीले दुई चोरहरुलाई समातेछन्, तर प्रहरीसँग उनीहरुलाई चोर प्रमाणित गर्ने बलियो प्रमाण भने थिएन । अतः प्रहरीले ति दुई चोरहरुलाई भिन्दाभिन्दै कोठामा राखेर दुवैलाई एक-एक गरि एउटा सर्त राखेछन् । सर्त थियो, यदि कुनै चोरले चोरी गरेको कबुल नगरेमा ३ वर्ष कैद सजाय पाउने छ । तर यदि उसले अर्को चोरको विरुद्ध चोरीको प्रमाण दिएमा उसलाई रिहा गरिनेछ र अर्को चोरलाई १० वर्ष कैद सजाय हुनेछ । दुवै चोरलाई आफूमात्र भए पनि रिहा हुन मन लागेछ र एक अर्काको विरुद्ध प्रमाण दिएछन् । अन्ततः दुवै चोरलाई सजाय भएछ ।

हाम्रो देशको भ्रष्टाचार पनि माथिको कथा जस्तै छ । यदि सवैले भ्रष्टाचार नगर्ने हो भने स्रोतको उचित उपयोग हुने थियो, देशको विकास हुने थियो, नेपाली मुद्राको क्रय शक्ति बढ्ने थियो जसले गर्दा भ्रष्टाचार गरि कमाएको पैसाले अहिले जति विलासी जीवन ति भ्रष्टाचारीहरुले विताई राखेका छन् त्यो भन्दा उच्च स्तरको जीवनशैली संपूर्ण नेपाली जनताले उपभोग गर्न पाउने थिए । तर यहाँ उल्टो भयो । हरेकले के सोंच्दछ भने यदि उसले भ्रष्टाचार नगरे अर्कोले भ्रष्टाचार गर्दछ र अर्कोको जीवनशैली उसको भन्दा उच्च हुन्छ । त्यस्तो अवस्थामा समाजमा उसको मान प्रतिष्ठा हुँदैन । सबैले उसलाई नामर्द र हुतिहारा भन्दछन् । अतः उसले भ्रष्टाचार गर्नै पर्दछ । यो मानसिकताले संपूर्ण समाज भ्रष्टाचारमा डुबेको छ ।

नेपालमा भ्रष्टाचारको अर्को प्रमुख कारण खर्चिलो हुँदै गएको चुनाव पनि हो । चुनावमा खर्च गर्न राजनीतिज्ञहरुलाई पैसा पुग्दैन । अतः उनिहरु व्यापारी, उद्योगपतिहरुबाट पैसा लिन्छन् । चुनावपश्चात व्यापारी र राजनीतिज्ञबीच साँठगाँठ भइ भ्रष्टाचार हुन्छ

भ्रष्टाचारको अर्को कारण यसलाई सामाजिक मान्यता प्राप्त हुनु पनि हो । हामी पैसा कमाएको व्यक्तिलाई महान देख्दछौं चाहे त्यो पैसा जायज माध्यमबाट आएको होस वा नाजायज माध्यमबाट । हामी हाम्रा छोरी चेलीको बिहे ठूलो घर, गाडी भएको मानिससँग गरिदिन चाहन्छौं । बाबुआमा जति शिक्षित भए पनि केटा पक्षको सम्पत्तिको श्रोत के होला ? उनीहरुको क्षमताले त्यति सम्पत्ति कमाउन सक्छ कि सक्तैन भन्ने जस्ता कुराहरु कहिल्यै ख्याल गरेको पाइँदैन । यो नै भ्रष्टाचारलाई सामाजिक मान्यता प्राप्त भएको उदाहरण हो । त्यस्तै नयाँ मन्त्रीमण्डल गठन गर्दा कमाउ मन्त्रालयको लागि हुने हानथाप राजनैतिक रुपमा भ्रष्टचारले पाएको मान्यताको उदाहरण हो ।

धेरै मानिसले भन्ने तर अनेकौ ठाउँमा सही नठहरिएका भ्रष्टाचारका अरु दुई कारणहरु कर्मचारीको न्यून तलब र कमजोर कानून हुन् । अर्थशास्त्रको सिद्धान्तअनुसार भन्ने हो भने मानिसलाई आफ्ना व्यवहार परिवर्तन गर्न उत्प्रेरणा (इन्सेन्टिभ) चाहिन्छ । बढी तलब र कडा कानूनले भ्रष्टाचार नगर्नका लागि उत्प्रेरणाको काम गर्न सक्छन् । तर, नेपालमा कम तलब भएको र लचिलो कानूनले गर्दा मानिसले भ्रष्टाचार गर्दछन् भन्ने पनि छ ।

नेपालमा भ्रष्टाचारको अर्को प्रमुख कारण खर्चिलो हुँदै गएको चुनाव पनि हो । चुनावमा खर्च गर्न राजनीतिज्ञहरुलाई पैसा पुग्दैन । अतः उनिहरु व्यापारी, उद्योगपतिहरुबाट पैसा लिन्छन् । चुनावपश्चात व्यापारी र राजनीतिज्ञबीच साँठगाँठ भइ भ्रष्टाचार हुन्छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ११ : १४ बजे

बेनीमा नौ करोडका गौरवको आयोजनाको काम थालियो

म्याग्दी – बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा रु

हँसिया प्रहारबाट एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै

निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह

रसुवा – स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

पाल्पा – रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने

तुलसीपुरमा तरकारी बजार सञ्चालनमा

दाङ – दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ।