जोरपाटीको फोहोर जलाउन जापानिज मेसिनको प्रयोग | Khabarhub Khabarhub

जोरपाटीको फोहोर जलाउन जापानिज मेसिनको प्रयोग



काठमाडौं– तपाईं जोरपाटी जाँदै हुनुहुन्छ भने एक पटक राम्रोसँग विचार गर्नुहोस् । तपाईंले पहिरिएको पहिरन फोहोर हुनसक्छ । फोहोरको दुर्गन्धले तपाई बिरामी पर्ने खतरा पनि छ । यति भनेपछि तपाईंले जोरपाटी जाने योजना परिवर्तन गर्नसक्नु हुन्छ होला, तर केही वर्षदेखि जोरपाटीका स्थानीय र उक्त बाटो भएर हिँड्नेका बाध्यता बनेको समस्या हो यो ।

‘वर्षामा हिलो र हिउँदमा धूलो’ जोरपाटीको विशेषता नै बनिसकेको छ । अझ त्यसमा फोहोरको दुर्गन्धले समस्या सिर्जना गरिरहेको छ । यो फोहोरको ‘सगरमाथा’ न हिउँदमा घट्छ न त वर्षामा नै !

काठमाडौंको उत्तरभेगको केन्द्र मानिन्छ, गोकर्णेश्वर नगरपालिका– ५ जोरपाटीलाई । जो गोकर्ण, सुन्दरीजल, नारायणटार, मूलपानी, साँखु, थली, गोठाटारलगायतका स्थानमा जाने ‘ट्रान्जिट’ पर्छ । सवारी साधन चढ्न र उत्रनका लागि यात्रु प्रतिक्षालय पनि राखिएको छ । मानिसको चाप काठमाडौंको केन्द्र न्यूरोडको जत्तिकै हुन्छ ।

तर, सवारी साधन चढ्ने यात्रु प्रतिक्षालयसँग फोहोरको ढंगुर हुन्छ । सवारी कुर्नेसँग विकल्प छैन । नाक थुन्यो, गाडी कु¥यो, घडी हे¥यो ।

लामो समयदेखि यो चोक फोहोरले भरिएर डम्पिङ साइट जस्तै बनेको छ । ‘हिउँदमा त बिहान गाडी आएर फोहोर लैजान्छ, बेलुकी उस्तै चाङ भइसक्छ,’ सडक फुटपाथमै व्यापार गर्ने एक व्यापारीले सुनाए । ‘झन वर्खा लागेपछि त बिजोक नै हुन्छ’ उनले भने ‘हप्तामा एक दिन गाडी आउँछ फोहोरले जोरपाटी नारायणटार नै दुर्गन्धित भइसक्छ’ । गोकर्णेश्वर नगरपालिकामा दैनिक ५ ट्रक फोहोर उत्पादन हुने गर्छ ।

यो समस्या गाडी कुर्ने र व्यापार गर्नेको मात्र होइन । सो स्थानमा हिँड्ने सर्वसाधरण र स्थानीयले वर्षौदेखि झेल्दै आइरहेको समस्या पनि हो ।

स्थानीयको दोष व्यापारीलाई

बिहान सफा गरेको सडक बेलुका उस्तै देखिनुमा स्थानीयले व्यापारीलाई दोष दिने गरेका छन् । व्यापार गर्नेहरुको संख्या धेरै भएको र व्यवसायबाट उत्पादन भएको फोहोर राति सडकमा फ्याँक्ने गरेको आरोप स्थानीयको छ । जोरपाटी चोक वरिपरी मासु, माछा, तरकारी तथा फलफूल बजार रहेको फोरमा त्यस्तै पदार्थहरु देखिनुले स्थानीयको आरोपलाई अस्वीकार गर्न मिल्दैन ।

‘कारखानाबाट उत्पादन भएका सबै फोहोर राति सडकमा फ्याक्छन् व्यापारीले,’ स्थानीय भोजराज चालिसेले खबरहबसँग भने । स्थानीयको यो आरोपलाई नगरपालिकाका कर्मचारी पनि स्वीकार गर्छन् ।

सडकमा दैनिक फोहोरको थुप्रो लाग्न थालेपछि स्थानीयले नगरपालिकासमक्ष समस्या समाधानको पहल गर्न आग्रह गरेका थिए । चालिसे भन्छन्, ‘हामीले नगरपालिकालाई यो चोकमा फोहोर फाल्न नपाइने नियम ल्याइदिनुप¥यो भनेका थियौँ ।’

उनका अनुसार नगरपालिकाले स्थानीयले भनेबमोजिम कार्य पनि गरेको थियो । नगरपालिकाले केही समयअघि जोरपाटी चोक (अहिले फोहोर फ्ँयाकेको स्थान) अगाडि एउटा बोर्ड राखेको थियो । जसमा उल्लेख गरिएको थियो ‘फोहोर फाल्न मनाही छ, यदि फोहोर फालेमा ५ सयदेखि १ हजारसम्म जरिवाना लाग्नेछ ।’

‘नगरपालिकाले लागू गर्न खोजेको त्यो नियम कार्यान्वयन हुनु त कहाँ हो कहाँ, केही दिनपछि त्यो बोर्ड नै हराएछ,’ उनले भने ।

त्यति मात्र होइन सो नगर क्षेत्रभित्र फोहोर फ्ँयाकेको देखेमा समात्ने र कारवाही गर्ने नियम पनि बनाइएको थियो । सोही नियम लागू भएको केही समयमै ११ जनालाई पक्राउ समेत गरेको महानगरपालिकाले जनाएको छ । तर सो नियम लामो समयसम्म टिक्न भने सकेन । अहिले फेरि चोक डम्पिङ साइट बनेको देखिन्छ ।

के भन्छ नगरपालिका ?

त्यसो त चुनावी घोषणापत्रमा फोहोरमैला व्यवस्थापन र सडक विस्तारलाई मुख्य एजेण्डा बनाएका थिए गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले । उनले चुनाव पनि जिते, तर अहिलेसम्म न सडक विस्तार हुन सकेको छ, न त फोहोर मैलाकै व्यवस्थापन हुनसक्यो ।

योजना मात्रै बनाउने कि कार्यन्वयन पनि गर्ने ? फोहोरले जोरपाटी दुर्गन्धित भइसक्यो, सर्वसाधरणले कहिलेसम्म सास्ती खेप्ने भन्ने प्रश्नमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले समस्या चाँडै समाधान हुने पुनः आश्वासन नै दिए ।

‘गोकर्णेश्वर नगरपालिकालाइ फोहोरमुक्त बनाउने मेरो लक्ष्य मात्र होइन सपना पनि हो’ मेयर चालिसेले जवाफ दिए ‘२ वर्षदेखि व्यवस्थापनको पछि लागिरहेको छु, अब छिट्टै समाधान हुनेछ ।’

फोहोर जलाउन ५ करोडको जापानिज मेसिन

आफ्नो कार्यकाल सुरु भएपछि फोहोर व्यवस्थापनको उपाय खोज्दै जापान पुगेको बताउँदै मेयर चालिसेले भने, ‘जापानमा फोहोर जलाइरहेको दृश्य देखेँ, त्यसपछि त्यही मेसिन आफ्नो क्षेत्रमा ल्याउन लागि परे ।’

उक्त मेसिनका लागि नगरपालिकाले गत आर्थिक वर्षमै बजेट छुट्याएको थियो । विभिन्न कारणबस मेसिन ल्याउन ढिलाइ भएको उनले बताए ।

कस्ता छन् मेसिन ?

नगरपालिकाले केही महिना अघि जापनबाट ‘चुहा स्टार’ नामक कम्पनीको २ वटा अत्याधुनिक मेसिन ल्याएको छ । अहिले सो मेसिन चलाउनका लागि पूर्वाधारको तयारी गरिरहेको छ भने सञ्चालन हुन ५ महिना लाग्ने चालिसेले खबरहबलाई जानकारी दिए ।

‘हामीले गोकर्णेश्वर नगरपालिका—४ मा व्यक्तिको ४ रोपनी जग्गा रोक्का गरिसकेका छौँ,’ उनले भने ‘त्यसका लागि ठूलो घर बन्छ, घरभित्रै सिधैँ फोहोरका गाडी पस्छन्, पोका झिक्दै बाल्ने गरिन्छ ।’

मेसिन २४ घण्टासम्म सञ्चालन हुने उनको भनाइ छ । एउटा मेसिनमा दैनिक ४ ट्रक फोहोर पेल्न सक्ने क्षमता रहेको उनले बताए ।

‘१३ सय डिग्रीको तापक्रम उत्सर्जन गर्ने गरी आगो बल्छ,’ चालिसेले भने, ‘फलामको ४ इन्ची डन्डीलाइ समेत खरानी बनाउँछ ।’

उनका अनुसार मेसिनमा सय किलो फोहोर हाल्दा पौने १ किलोको खरानी बन्छ भने त्यो खरानीलाई सिमेन्टमा घोलेर इट्टा बनाउन मिल्छ ।

फोहोर जलिरहँदा मेसिनको टुप्पोबाट धुँवा निस्कने र त्यो धुँवाले मानिसको स्वास्थ्यलाइ कुनै असर नपार्ने चालिसेको दाबी छ ।

मेसिनको प्रयोग हुन थालेपछि गोकर्णेश्वर नगरपालिका फोहोरबाट सुरक्षित हुने उनको अर्को दाबी छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : २३ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको