एक दशक यता मिर्गौला तस्करीका ९ घटना, नक्कली नाता गाँस्दै झिकिए मिर्गौला  | Khabarhub Khabarhub

एक दशक यता मिर्गौला तस्करीका ९ घटना, नक्कली नाता गाँस्दै झिकिए मिर्गौला 



काठमाडौं– उपचारको लागि अस्पताल पुगेका बिरामीहरुकै शरीरका अंग विक्री गर्ने गिरोह सक्रिय रहेको रहस्य खुलेको छ ।

नक्कली आफन्त खडा गरी मिर्गौला तस्करी गर्ने गिरोह काठमाडौंमा सक्रिय रहेको रहस्य खुलेको हो । अस्पतालका चिकित्सक र कर्मचारीकै मिलेमतोमा बिरामीको अंगमाथि मोलमोलाइ हुने गरेको ललितपुरको निदान अस्पतालमा घटेको पछिल्लो घटनाले पुष्टि गरेको हो ।

असोज २९ गते ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा घटेको एउटा घटनाले बिरामीहरु अस्पतालमै सुरक्षित छैनन् भन्ने स्पष्ट पारेको छ । जहाँ अञ्जान व्यक्तिको मिर्गौला ललाई फकाईमा प्रत्यारोपण गरिएको थियो ।

मिर्गौलाको समस्या भोगिरहेका रामेछाप दोरम्बा–३ का शंकरलाल लामा उपचारको लागि निदान अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको मिर्गौला पत्यारोपण गर्नुपर्ने देखियो । सोही अनुसार लामालाई मिर्गौला दान गर्ने व्यक्तिका रुपमा उनैका भान्जा खडा गरियो । तर, पक्रियाका लागि मात्र भान्जा देखाइए पनि अर्कै व्यक्तिबाट मिर्गौला निकालिएको घटना पर्दाफास भयो ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गोविन्द थपलिया भन्छन् – भान्जा देखाएर अर्कै व्यक्तिको मिर्गौला निकालिए पनि शुरुमा घटना गुपचुप राखिएको थियो । तर, प्रहरीलाई सूचना आएपछि अनुसन्धान गर्दै जाँदा वास्तविकताको पर्दाफास भयो ।’

घटनाको वास्तविकता बाहिर आएसँगै प्रहरीले घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधान, मिर्गौलाका बिरामी रामेछापका शंकरलाल लामा, निदान अस्पतालका कानूनी अधिकृत कुमुदकुमार भट्टराई, डा. राजेश पन्त र जिल्ला प्रशासन कार्यालय ललितुरका शाखा अधिकृत रामचन्द्र आले छन् ।

प्रहरीले पीडितको नाम नखुलाए पनि अस्पतालले उनलाई ललाईफकाई गरी ३ लाख रुपैयाँ दिने प्रलोभन देखाएर मिर्गौला झिक्न राजी पारेको थियो । एसपी थपिलयाका अनुसार अहिले पक्राउ परेका पाँचै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपासार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । मानिसको कुनै अंग झिक्नेलाई १० बर्ष सम्म कैद र २ देखि ५ लाखसम्म जरिवाना सजाय हुन्छ ।

यो घटना त मिर्गौला तस्करीको पछिल्लो एक प्रतिनिधि उदाहारण मात्र हो । प्रहरीका अनुसार नेपालमा २०५० साल देखि मिर्गौलाको तस्करी शुरु भएको हो । यस अघिको तथ्या‌ंक नभए पनि प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, २०६७/६८ यता यसरी मिर्गौला तस्करी भएका ९ वटा घटना बाहिर आइसकेका छन् ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्– ‘प्रहरी सक्रियता बढाउँदा बढाउँदै पनि ९ वटा घटना बाहिर आएका छन् । जसमध्य आधा बढी घटनामा नक्कली आफन्त बनाएर मिर्गौला निकालिएका छन् भने केही घटना ललाई फकाइ तथा झुक्याएर निकालिएका छन् ।’

कसरी हुन्छ तस्करी ?

मानव शरीरको अंग प्रत्यारोपण नियम तथा निषेध ऐन २०५५ को परिच्छेद ३ (क) को दफा १४ मा एउटा स्वस्थ व्यक्तिले बिरामी आफन्तलाई मिर्गौला दिन पाउने व्यवस्था छ । तर, यही व्यवस्थालाई टेक्दै तस्करले कर्मचारीको सहयोगमा कुनै नाता सम्बन्ध नै नभएका व्यक्तिलाई नक्कली आफन्त प्रमाणित गरेर मिर्गौला तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जानकारहरुका अनुसार विशेष गरी नेपालीहरुको मिर्गौला तस्करी नेपालमा भन्दा भारतमा बढी हुन्छ । आर्थिक प्रलोभन देखाएर सुखा सीमानको फाइदा उठाउँदै तस्करहरुले नेपालीहरुलाई ललाइफकाई गरेर भारत पुर्‍याई मिर्गौंला बेचबिखन गर्ने गरेका छन् ।

पूर्वडीआइजी केशव अधिकारी भन्छन्– ‘शुरुमा भारतमा रहेको गिरोहले मिर्गौला आवश्यक परेको बिरामीका आफन्तसँग रकमको बार्गेनिङ गर्छन् । रकममा कुरा मिलेपछि चिकित्सकको सल्लाहमा ब्लड ग्रुप लगायत विवरण नेपालमा रहेका त्यही गिरोहका सदस्यलाई पठाइन्छ । सोही अनुरुप नेपालमा रहेका गिरोहका सदस्यले मिर्गौलाको खोजी गर्छन् ।’

तस्करहरुको टार्गेटमा मुख्यगरी गरिवीको समस्याले पिल्सिएका, असिक्षित तथा सोझासाझा नेपालीहरु पर्ने गरेको पूर्व डीआइजी अधिकारी बताउँछन् ।

खोजे बमोजिम मिर्गौला दिने व्यक्ति भेटेपछि उसलाई पैसाको प्रलोभन देखाएर बिरामीको आफन्त बनाउने खेल शुरु हुने उनी बताउँछन् । योजना अनुरुप नक्कली विवरण तयार हुन्छ र गिरोहका सदस्यहरु प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालय पुग्ने गरेको पाइन्छ ।

जानकारहरुका अनुसार गिरोहका सदस्यले मन्त्रालयका केही कर्मचारी सँग सेटिङ मिलाउँछन् र कागजपत्र तयार गर्छन् । सोही आधारमा भारतमा पुर्‍याएर मिर्गौला निकाल्ने काम हुन्छ । यस्ता गिरोहहरुले गरिबबाट मिर्गौला खरिद गर्ने र धनीलाई खरिद रकम भन्दा १० गुणा सम्म बढीमा बेचबिखन गर्ने गर्दछन् ।

पहिले पीडित पछि योजनाकार

प्रहरीका अनुसार अहिले मिर्गौला बेच्नेको संख्या कति छ ? यो बारेमा कुनै अनुसन्धान नभए पनि तस्करी शुरु भएको दुई दशक भन्दा बढी भइसकेको छ ।

वि.सं. २०७१ साल जेठमा महानगरीय प्रहरी र्वत्त महाराजगञ्जले मिर्गौला तस्करीमा संगठित रुपमा सक्रिय गिरोहका १० जनालाई पक्राउ गरेको थियो । काभ्रेका दुई जनालाई आर्थिक प्रलोभनमा पारी मिर्गौला निकाल्न लागेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार पक्राउ परेका १० मध्य दुई जनाले २०६७ सालमा एक जनालाई भारत पुर्‍याएर मिर्गौला बेचेका थिए । पक्राउ परेका मध्य अन्य ५ जनाले विगतमा आफैंले आफ्नै मृर्गौला समेत बेचेको रहस्य खुलेको थियो ।

प्रवक्ता पोखरेल भन्छन्– ‘उनीहरुले पहिले भारत पुगेर मिर्गौला बेचे, भारतबाट फर्किएपछि यही धन्दा सुरु गरे ।’

मिर्गौंला बेचिएका कतिपय पीडित व्यक्तिहरु नै पछि गएर कारोबारी बनेको पूर्वडीआइजी अधिकारी पनि बताउँछन् ।  गिरोहका सदस्यसँग राम्रो चिनजान हुने हुँदा मिर्गौला बेचिइसकेपछि पीडितहरु नै पैसा कमाउने धन्दामा लाग्ने गरेको छन् ।

प्रहरीको तथ्यांक अनुसार काभ्रे जिल्लाको तत्कालीन होक्से गाविसमा मात्रै करिब १ सय ५० जनाले आफ्नो मिर्गौला बेचेका छन् ।

नियन्त्रण कसरी ?

‘मानव अंग वेचविखन तथा तस्करी गर्ने काम आफैमा गैरकानूनी अपराध हो ।’ प्रवक्ता पाखरेल भन्छन्, ‘यदि कसैले कानूनले बन्देज गरेको काम गर्छ भने त्यसले उन्मुक्ति पाउँदैन ।’

मिर्गौला तस्करी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाएको बताउँदै उनले भने, ‘मान्छेलाई नै मृत्युको मुखमा पुर्‍याउने यस्तो गम्भीर विषयमा स्वयम व्यक्ति पनि सचेत हुनुपर्छ ।’

मानव अंग तस्करी रोक्नका लागि यस सम्बन्धि बनेका कानून र यसको असर बारे जनस्तरसम्म स–चेतना फैलाउनु पर्ने पूर्व डीआइजी अधिकारी तर्क गर्छन् । यसका आलवा प्रहरीले पनि आफ्नो संयन्त्रद्वारा विगतमा मिर्गौला तस्करीको कारोबारमा संलग्न रहेका ब्यक्ति को–को हुन्, ति अहिले कहाँ छन् र के गर्दैछन् त्यसको निगरानी राख्नु पर्ने उनी बताउँछन् ।

कानूनको कार्यान्वयनसँगै मानव अंग बेचविखन रोक्न सवैले आ–आफ्नो क्षेत्रबाट पहल कदमी गरे नियन्त्रण सम्भव हुने पूर्व डीआइजी अधिकारी बताउँछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ८ : ५० बजे

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको