उपनिर्वाचन : आदर्श गाउँपालिकामा नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

उपनिर्वाचन : आदर्श गाउँपालिकामा नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाको आदर्श गाउँपालिकामा चुनावी वातावरण तातेसँगै नेता–कार्यकर्तालाई मत माग्न भ्याईनभ्याई हुन थालेको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा गाउँपालिका–२ मा चुनावी चहलपहल बढ्न थालेको हो ।

गत वर्ष तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जिप दुर्घटनामा मृत्यु भएपछि अहिले वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

वडाध्यक्ष पदका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसबाट महादेव साउद र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीयवासी भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दिवंगत बोहरा नेकपाका थिए ।

सबै उम्मेदवारले जनताको विकासमा समर्पित हुने प्रतिबद्धता गर्दै आएका छन् । भोट माग्नका लागि अहिले उम्मेदवार किसानका खेतबारी तथा घर–घरमा पुग्न थालेका छन् । निर्वाचनमा मुख्यगरी नेकपाका उम्मेदवार बोहरा र काङ्ग्रेसका उम्मेदवार साउदबीच बढी प्रतिस्पर्धा बढी देखिएको छ ।

स्थानीय हरि खड्काले भने, “भोट माग्न सबै उम्मेदवार आए पनि नेकपा र काङ्ग्रेस उम्मेदवारबीच बढी प्रतिस्पर्धा हुने देखिन्छ, आफ्ना नेता जिताउन ती पार्टीका जिल्लादेखि केन्द्रीय स्तरसम्मका नेता मत माग्न व्यस्त छन् ।”

वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयन दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलो कार्यक्रममा जोड दिएका छन् ।

उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विशेष पहल गर्ने भन्दै स्थानीयवासीलाई रिझाउन थालेको बाझककानीका स्थानीयवासी दीपकबहादुर खड्काले बताए । उनले भने, “उम्मेदवारहरु स्थानीयवासीका लागि विकास गर्ने भन्दै मत माग्न गाउँ–गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।”

नेताहरु गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको निकै सरगर्मी बढेको स्थानीयवासी बताउँछन् । यति मात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर मत माग्न थालेको अर्का स्थानीयवासी टेकबहादुर खड्काले बताए । वडामा कूल दुई हजार ५०० मतादाता छन् ।

मतदातालाई आ–आफ्ना उम्मेदवारका पक्षमा मत माग्न नेकपा र काङ्ग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत लागिपरेका छन् ।

“उक्त वडाको निर्वाचनमा हाम्रो विजय सुनिश्चित छ, हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छौँ”, नेकपाका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले भने, “सबै ढुक्क भए हुन्छ, यो निर्वाचन हामी जित्छौँ ।”

काङ्ग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले आफ्नो पार्टीले भारी मतले जित्ने उल्लेख गर्दै भने, “जनता काङ्ग्रेसको पक्षमा छन्, यसपालिको चुनाव हामी भारी मतले जित्छौँ ।”

स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार भएका खड्काले जनतालाई ठूलो सपना देखाएर भोट माग्ने तर सरकारमा गइसकेपछि गाउँ फर्केर कहिल्यै नआउने नेतासँग समयमै सचेत रहन आग्रह गर्दै आएका छन् ।

उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका अन्य प्रहरी चौकी तथा सुदूरपश्चिम प्रदेश प्रहरी गुल्मबाट थप सुरक्षाकर्मी झिकाई उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि सशस्त्र प्रहरी बलको दिपायलमा रहेको ३६ नम्बर गणबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिए ।

उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ३ : १० बजे

प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौँ विश्व

नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत के के गर्‍यो?

काठमाडौं– नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गर्दै

बिन्दालाई निलम्बन गरेका ओलीले विभालाई भित्र्याए एमालेमा

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले आइतबार स्थायी कमिटी सदस्य डा.

एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल

निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रोपटक पनि अनुसन्धान प्रक्रियामा अनुपस्थित

सियोल– दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले आइतबार सोधपुछका