मनोरञ्जन

पुन: अपलोड गरेको गीत फेरि किन हटाए दुर्गेश थापाले ?

By खबरहब

October 23, 2019

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले ‘गाँजा’ तथा ‘बियर’ जस्ता शब्द म्युट गर्दै अपलोड गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पुन: हटाएका छन् । गीतमा परिमार्जन गरेर पुनः अपलोड गरेको गीत ‘डन आयो डन’ लाई उनले हटाएका हुन् । यसअघि उनले प्रहरीको आग्रहमा ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत पनि हटाएका थिए ।

‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएपछि विवादमा मुछिएको थियो । सो गीत विवादमा आएसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेपछि मंगलबार प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरी नियन्त्रणमै रहेका बेला उनले सो गीत हटाएका थिए ।

खबरहबसँगको कुराकानीमा गायक थापाले चौबीस घण्टाभित्र अपलोड गर्ने बताएका थिए । उनले हटाएको ‘ह्याप्पी तिहार’ को नयाँ गीतलाई ‘डन आयो डन’ का नाममा पुनः अपलोड गरेका थिए । पछि सो गीत पनि हटाएका छन् । गीत हटाएपछि दर्शक आश्चर्यमा परेका छन् ।

यता गायक थापाले भने गीतका केही शब्द अझै परिमार्जन गर्नुपर्ने देखिएपछि गीत हटाएको बताएका छन् । ‘गीतमा अझै पनि केही हटाउनुपर्ने शब्द रहेछन्, त्यही भएर हटाएको हुँ, म छिट्टै नै अपलोड गर्छु,’ उनले खबरहबसँग भने ।