अनुमति नलिई भीर माहुरीको मह काढ्न नपाइने | Khabarhub Khabarhub

अनुमति नलिई भीर माहुरीको मह काढ्न नपाइने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ ।

लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो ।

गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही व्यक्तिको समूहले मनपरी तरिकाले काढेर निकासी गर्न थालेपछि गाउँ कार्यपालिकाको बैठक बसेर नियन्त्रण गर्दै संरक्षण गर्ने अभियान शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

“सामुदायिक र सार्वजनिकस्थलमा हुने भिर माहुरीको महबाट निश्चित व्यक्तिले मात्र फाइदा लिने र लापरवाही गरेर मह काढ्दा माहुरी नै लोप हुने अवस्था आएको छ”, उनले भने “अनुमति लिएर माहुरी काढ्दा संरक्षणमा समेत सहयोग पुग्ने भएकाले मिति तोकेर भिर माहुरीको मह काढ्ने व्यवस्था गरिएको हो ।”

गाउँपालिकाले गरेको निर्णयअनुसार मङ्सिर १५ देखि २५ गतेभित्र र जेठ १५ देखि २५ गतेभित्र भीर माहुरीको मह काढ्ने मिति तोकिएको छ । तोकिएको मितिमा माहुरी नमर्ने गरी मह काढ्न सबैलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गरेको निर्णयअनुसार आगामी दिनमा मह काढ्ने व्यक्ति तथा समूहले सम्बन्धित वडालाई खबर गर्नुपर्छ अनि वडाले गाउँपालिकालाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । “भीर माहुरी र मह काढेको हेर्न इच्छुकका लागि गाउँपालिकाले प्रचारप्रसारसमेत गर्नेछ”, गाउँपालिका प्रमुख राईले भने, “यसले गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकाको बाक्सिला, फेदी, दिप्सुङ र सुङ्देलका ठूला भीरहरुमा लामो समयदेखि भीर माहुरी बस्ने गरेको छ । वर्षमा दुई पटक मङ्सिर र जेठमा काढ्न मिल्ने भीर माहुरीको मह सो क्षेत्रबाट वार्षिक रुपमा लाखौँ मूल्य बराबरको निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

परम्परागत प्रविधि अपनाएर काढ्दै आएको भीर माहुरीको मह यस वर्षबाट आधुनिक प्रविधि अपनाएर काढ्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । मह काढ्ने मुख्य व्यक्तिले सुरक्षा पेटी (बेल्ट)समेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले आगामी दिनमा सुरक्षा बेल्ट तथा प्यारासुट (डोरी)को व्यवस्था गाउँपालिकाले मिलाउने जनाइएको छ ।

उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्रमा पर्ने सो गाउँपालिका भीर माहुरीको मह उत्पादनका लागि प्रचुर सम्भावना भएको क्षेत्रमा पर्दछ ।

गाउँपालिकामा उत्पादन हुने महलाई व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरेर अन्यत्र निर्यात गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख राईले बताए ।

स्थानीयस्तरमा उत्पादन हुने भीर माहुरीको महबाहिर निर्यात गर्दा वडा र गाउँपालिकाको राजश्व सङ्कलनमा समेत सहयोग पुग्ने देखिन्छ । उक्त चार वडालाई आगामी वर्ष भिर माहुरीको पकेट क्षेत्र घेषणा गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  २ : ०७ बजे

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने