आजबाट एसईई शुरू, पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा | Khabarhub Khabarhub

आजबाट एसईई शुरू, पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा



काठमाडौं– मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ ।  बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

चैत २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । १ हजार ९ सय ६९ केन्दमा सञ्चालन हुने परीक्षाका लागि ७२ हजार ६ सय ७१ जना प्रत्यक्ष रुपमा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ ।

परीक्षाका लागि सहायक केन्द्राध्यक्ष ३ हजार १६७, २३ हजार ७ सय ५० निरीक्षक, ४ हजार ७ सय ५० जना परीक्षा सहायक, ९ हजार ५ सय कार्यालय सहयोगी र २९ हजार ५ सय ३५ जना सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

छात्रभन्दा छात्राबढी

परीक्षा वोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार कुल परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् ।

परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट एक लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेश नम्बर १ बाट ८३ हजार ८१८, प्रदेश नम्बर २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नम्बर ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।

पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा

राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसपटको एसईई परीक्षाका लागि प्रदेशगत रुपमा समानान्तर प्रश्नपत्रहरुको सेट तयार गरिएको छ । ६ वटा अनिवार्य विषयका समानान्तर प्रश्नपत्र बनाइएको वोर्डले जनाएको छ ।

वोर्डका अनुसार परीक्षाको तयारीको सबै व्यवस्थापन प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । वोर्डका अनुसार प्रश्नपत्र तयार, उत्तर पुस्तिका परीक्षण र नतिजा निकाल्ने काम भने राष्ट्रिय परीक्षा वोर्डले गर्नेछ जसका लागि ५९ वटा जाँच केन्द्र तोकिएको छ ।

परीक्षा सञ्चालनको सबै खर्च, उत्तरपूस्तिका व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रदेश सरकारले गर्ने व्यवस्था मिलाइएको छ । हरेक वर्षको परीक्षामा जस्तै यसपाली पनि परीक्षामा अनियमितता गर्ने विद्यार्थी, निरीक्षक वा अभिभावकलाई कानूनअनुसार कारबाही हुने वोर्डले जनाएको छ ।

सांसददेखि नायिकासम्म समेत सहभागी हुँदै

यसपालिको एसईई परीक्षामा चर्चित नायिका करिश्मा मानन्धरदेखि प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीसमेत सहभागी हुँदैछन् । पढ्ने उमेरमा काममा व्यस्त हुनुपरेपछि पढाई छाडेकी मानन्धरले ४५ वर्षको उमेरमा एसईई परीक्षा दिन लागेकी हुन् ।

त्यस्तै ०६४ सालमा संविधानसभामा समेत सभासद् रहेकी र अहिलेको संघीय संसदअन्तर्गत् प्रतिनिधिसभा सदस्य समेत रहेकी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी समेत यसपालीको एसईई परीक्षामा सहभागी हुँदैछन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराहीमा कक्षा ८ मा भर्ना भएकी चौधरीले यसपाली आफ्नी १७ वर्षीय छोरीसँगै परीक्षा दिँदैछन् ।

पहिलाको एसएलसी, अहिले एसईई

नेपालको शैक्षिक इतिहासमै पहिलोपटक १९९० सालको पुष अन्तिम साता पहिलोपटक प्रवेशिका परीक्षा (एसएलसी) को शुरुवात भएको थियो । जुन परीक्षा बिचमै रोकिएको थियो ।

परीक्षा चलिरहेका बेला माघ २ गते विनाशकारी महाभूकम्प गएपछि परीक्षा केही दिनका लागि बीचमै रोकिएको थियो । १९९० सालको कार्तिक २६ गते नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । त्यसभन्दा अघि नेपाली विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन भारतको कोलकत्ता र पटना जाने गर्थे । नेपाली विद्यार्थीको एसएलसी परीक्षाको सबै व्यवस्थापन तत्कालिन समयमा पटना विश्वविद्यालयले नै हेर्ने गरेको इतिहास छ ।

नेपालको शैक्षिक इतिहासमा पहिलोपटक भएको एसएलसी परीक्षामा १ जना छात्रसहित ३४ जना परीक्षार्थी सहभागी थिए । जुन परीक्षामा कोही पनि विद्यार्थी प्रथम श्रेणीमा पास हुन सकेका थिएनन् । तर पहिलो एसएललसी परीक्षामा एक जना छात्राले फारम भरेपनि परीक्षामा सहभागी भइनन् । पहिलो पटक भएको एसएलसी परीक्षामा दोस्रो श्रेणीमा भएपनि सर्वोत्कृष्ट अंक प्राप्त गर्ने परीक्षार्थी पुष्पभक्त मल्ल थिए ।

एसएलसी शुरु भएको करिब ४९ वर्षपछि पहिलो महिला वोर्ड प्रथमका रुपमा लुना भट्टले २०३९ सालको एसएलसी परीक्षामा सफलता हात पारेको इतिहास छ । कक्षा १ देखि ५ सम्म प्राथमिक, ६ देखि १० सम्म माध्यमिक र ११ र १२ कक्षालाई उच्च माध्यमिक शिक्षामा रुपमा रहेको शिक्षा प्रणालीलाई २०७३ सालमा सरकारले संसोधन गर्दै १ देखि ८ सम्म आधारभुत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रुपमा निर्धारण गरेपछि २ वर्षदेखि एसइइका रुपमा परीक्षा लिन थालिएको हो ।

८३ वर्षसम्म एसएलसीका रुपमा चलिरहेको परीक्षालाई आइरन गेट (फलामे ढोका)का रुपमा लिने गरिन्थ्यो । तर पछिल्लो समय एसइइका रुपमा लिइने परीक्षाको नतिजा समेत ग्रेडिङ प्रणालीअनुसार प्रकाशन हुने गरेको छ । अहिले भने विस्तारै आइरन गेटबाट गोल्डेनगेट (सुनौलोढोका)का रुपमा लिन थालिएको छ । अर्थात् विद्यार्थीमा देखिदै आएको परीक्षाप्रतिको एकखाले त्रास विस्तारै कम हुन थालेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन