काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा बजेट वृद्धिको आवश्यकता रहेको बताएकी छिन् ।
सिंहदरबारमा शुक्रबार बसेको महिला तथा सामाजिक समितिको बैठकमा उनले महिला बालबालिका र ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन सो क्षेत्रको बजेट बृद्धि हुनुपर्ने बताइन् । मन्त्री थापाले बालबालिकासम्बन्धी ऐन २०७५ प्रभावकारी कार्यान्वयनका लागि विनियमावली ल्याउन लागिएको जानकारी पनि दिइन् ।
एकीकृत बालगृह सञ्चालन मापदण्ड लागू गरिने र तीनै तहमा रहने गरी बालअधिकार परिषद्, प्रदेश बालअधिकार समिति र स्थानीय बालअधिकार समिति गठनसमेत हुने उनले बताइन् । उनले गृह मन्त्रालयअन्तर्गत रहेको बालबालिकाको हितमा कार्यरत नेपाल बालसङ्गठनलाई महिला मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको बताइन् ।
बैठकमा समिति सदस्यहरुले वृद्धाश्रम खोल्ने प्रवृत्तिलाई अन्त्य गरी वृद्धवृद्धालाई घरपरिवारमा नै राख्नुपर्ने, बाल सङ्गठनको सञ्चालन जिल्ला समन्वय समितिअन्तर्गत हुनुपर्ने धारणा राखेका थिए । बैठकले बालबालिकाको अधिकारलाई ख्याल गर्दैै उचित संरक्षण गर्न गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले नयाँ ऐन र मापदण्ड ननुन्जेल नयाँ बालगृह खोल्ने कार्य नगराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया