विप्लवका जिल्ला इन्चार्ज मारिँदा संसदीय समितिमै नेकपा सांसदले आँशु झारिन् « Khabarhub

विप्लवका जिल्ला इन्चार्ज मारिँदा संसदीय समितिमै नेकपा सांसदले आँशु झारिन्


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद तिर्था गौतम रोएकी छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको र सरकारको काम कारवाहीप्रति निराशा व्यक्त गर्दै सांसद गौतम संसदीय समितिको बैठकमै रोएकी हुन् ।

पछिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध र त्यसयता घटेका घटनाका विषयसँगै प्रहरीको गोलीबाट विप्लव नेकपाका दुई नेता मारिएको विषयमा समितिको छलफल केन्द्रित भएको थियो ।

यही असार ५ गते अर्धभूमिगत विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीको गोली प्रहारबाट मारिएका थिए । उक्त घटनालाई सरकारले ‘दोहोरो फाइरिङबाट सिर्जित इन्काउण्टर’का रुपमा बताउँदै आएको छ । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि गृहमन्त्री रामबहादुर थापाले पौडेलको मृत्यु दोहोरो भिडन्तकै क्रममा भएको दावी गरे ।

त्यसक्रममा सत्तापक्षदेखि प्रतिपक्षसम्मका सांसदहरुले उक्त घटना ‘इन्काउन्टर’ नभएर गैरन्यायिक हत्या भएको बताए । नेकपा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ यशोदा सुवेदी गुरुङ, झपट रावलले सरकारले राजनीतिक समूहसँग प्राविधिक उपचार गरेर गलत गरिरहेको बताए ।

नेकपा सांसद रावलले त विगतमा पनि ठूलो द्वन्द्वबाट यहाँसम्म आइपुगेको बताउँदै अहिले पनि सरकारले गलत गरिरहेको बताए । ‘सर्लाही घटनामा सरकार फसेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट सरकारलाई असफल बनाउने चलखेलमा सरकार आफैँ फसिरहेको पनि हुनसक्छ’, रावलले भने, ‘इन्काउन्टर भनिएको छ, सर्वसाधारणलाई जानकारी समेत छैन । त्यसैले म भन्छु, यो कलाविहीन नाटक भयो ।’ विगतमा धेरै नागरिकको बर्वादी भएको भन्दै उनले अहिले पनि सरकारको व्यवहार द्वन्द्व रोक्ने भन्दा बढाउनेमा केन्द्रीत भएको बताए ।

‘विगतमा धेरै दिदीबहिनीको सिन्दुर पुछिएको छ, फेरि पनि द्वन्द्व भयो भने त्यो अवस्था दोहोरिन सक्छ,’ रावलले भने, ‘के गणतन्त्र नेपालमा पनि नेपाली चेलीहरुको काख रित्तिने, सिन्दुर पुछिने अवस्था आउने हो ?’

रावललगत्तै बैठकमा बोलेकी सांसद गौतमले भने भक्कानिँदै आफ्नो भनाई राखेकी थिइन् । ‘हिजो पनि धेरै जनाको काख रित्तियो, धेरै दिदीबहिनीहरुको सिन्दुर पुछिन पुग्यो,’ गौतमले भक्कानिदै भनिन्, ‘के फेरि पनि त्यस्तै अवस्था दोहोर्‍याउने हो ?’ २०५६ सालको आम निर्वाचनका लागि रुकुम–२ बाट सांसदको उम्मेद्वार बनेका तात्कालिन एमालेका रुकुम सचिवसमेत रहेका यदुनाथ गौतम २०५५ साल फागुन २१ मा तात्कालिन सशस्त्र युद्धमा रहेको नेकपा माओवादीबाट मारिएका थिए ।

श्रीमान मारिएपछि उम्मेदवार बनेर निर्वाचित भएकी गौतमले विगतको जस्तो अवस्था नआउने गरी आफ्ना गतिविधि अघि बढाउन माग गर्दै गृहमन्त्री थापालाई सर्लाही घटनाको छानविन गर्न आग्रह गरिन् ।

अरु सांसदसँगै भावुक मुद्रामा रहेकी गौतमले रुँदै आग्रह गरेपछि पनि गृहमन्त्री थापाले भने पौडेलको मृत्यु दोहोरो भिडन्तमै भएको दावी दोहोर्‍याँदै छानविन गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १२ : ०७ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित