वीर अस्पतालमा मृत्युसँग लडिरहेका ‘फिलिप माल्कोम’ भन्छन् : आफ्नै देशमा मर्न चाहन्छु « Khabarhub

वीर अस्पतालमा मृत्युसँग लडिरहेका ‘फिलिप माल्कोम’ भन्छन् : आफ्नै देशमा मर्न चाहन्छु


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वीर अस्पतालको आकस्मिक सेवा विभागको एक नम्बर शय्यामा वेवारिसे बिरामी कहिल्यै टुट्दैनन् ।

आइतबार हामी त्यहा पुग्दा त्यही शय्यामा एकजना वेवारिसे बिरामी सुप पिउँदै थिए । सेतो कपालमा खैरो रंग, सेतै फुलेको दारी, चाउरी परेको मलिन अनुहार थियो उनको । अस्पतालको सागुरोको शय्यामा कम्मल ओडेर बसेका उनको सट भने सुकिलो देखिन्थ्यो । गोरो वर्णका उनलाई देख्नेले सजिलै पहिचान गर्न सक्थे,उनी नेपाली नागरिक होइनन् ।

रोगले थला परेर उठ्न नसके पनि उनीसँग कुरा गर्न चाहनेहरुसँग अंग्रेजीमा विस्तारै बोल्थे । उनी बोल्न सक्ने अवस्थामा रहेकाले हामीले उनीसँग केही कुराकानी गर्‍यौं ।

उनले आफ्नो नाम ‘फिलिप माल्कोम’ र आफू बेलायती नागरिक भएको बताए । माल्कोमले आफूले देश छाडेर विदेशी मुलुकमा घुमफिर गरेर जीवन बिताएको २० वर्ष भएको खबरहबलाई बताए ।

‘म संगितकर्मी हो । मैले मेरो देश छोडेर विदेश घुम्न थालेको २० वर्ष भयो, सन् २०१२ देखि नै भारतमा ९ महिना र नेपालमा ३ महिना बस्ने गर्थें,’ उनले अंग्रेजी भाषामै आफ्नो बारेमा बताए, ‘दुईवर्ष देखि म नेपालमै छु ।’

उनले आफू काठमाडौंको ठमेलमा रहेको सांग्रिला लजमा बस्ने गरेको र आफू ४ महिनादेखि बिरामी परेको खबरहबलाई बताए ।

‘४ महिनादेखि म बिरामी छु, धेरै टाढा घुम्न पनि सक्दिन त्यसैले काठमाडौंमै छु ।’ दुईसाता अघिदेखि अस्पतालमा छु ।’

उनले नेपालमा आफ्ना साथीहरु रहेको र उनीहरुले नै अस्पतालमा छाडिदिएको बताए । तर आफ्ना साथीहरुको विषयमा माल्कोमले कुनै जानकारी दिएनन् ।

उनले आफू बेलायत हुँदा कमाएको पैसा बैंकमा रहेको र एक नेपाली किशोरीको नेपालमा भएको बैंक खातामा ट्रान्फर गरेर प्रत्येक १५ दिनमा ५ सय पाउण्ड निकाल्ने र खर्च गर्ने गरेको बताए ।

उनले बेलायतमा आफ्नो परिवार र आफन्त कोही नभएको बताएका छन् । दुईवर्ष अघि नेपाल आएका माल्कोमको भिसाको म्याद एक वर्ष अघि नै सक्किएको बताए ।

भिसाको म्याद रहँदै आफ्नो देश फर्कन चाहे पनि अस्वस्थ्य रहेकाले आफू फर्कन नसकेको माल्कोमले बताए । उनी दुईसाता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।  माल्कोमलाई शुक्रराज अस्पतालले शुक्रबार वीर अस्पतालमा रेफर गरेको थियो ।
माल्कोमलाई लिभर क्यान्सर र हेपटाइटिस–सी भएको वीर अस्पतालका चिकित्सकले बताएका छन् ।

वेवारिसे अवस्थामा रहेका उनलाई वीर अस्पतालले आकस्मिक सेवा विभागको एउटा शय्यामा आकस्मिक उपचार मात्रै दिएको छ । उनको थप उपचार हुन सकेको छैन । वीर अस्पतालको आकस्मिक सेवा विभागमा बिरामी लिएर पुगेकाहरुको नजर ती वेवारिसे विदेशी नागरिककैमा पुग्थ्यो । रोगले च्यापेर वेवारिसे अवस्थामा भेटिएका बिरामीलाई प्रहरी तथा अन्य व्यक्तिले अस्पतालको आकस्मिक सेवा विभागमा ल्याएर छाडिदिन्छन् । अस्पतालले त्यस्ता बिरामीलाई त्यहि शय्यामा राखेर आकस्मिक उपचार गर्छ ।

विभिन्न रोगले थला परेका वेवारिसे बिरामीहरु आकस्मिक सेवा विभागमा हुने उपचारले निको भएमा फर्किन्छन् । तर धेरैजसो बिरामीले त्यही शय्यामा अन्तिम स्वास लिएका घटनाहरु धेरै छन् । आफन्तको स्याहार र राम्रो उपचार नपाउँदा वीर अस्पतालको आकस्मिक सेवा विभागमा धेरै व्यवारिसे बिरामीले ज्यान गुमाइसकेका छन् । बेलायती नागरिक माल्कोम पनि त्यही शय्यामा जसोतसो स्वास लिइरहेका छन् ।

उनलाई आफ्नै देशमा फर्किने चाहना छ ।‘म बेलायतको नागरिक हो, म आफ्नै देशमा फर्कन चाहन्छु । म आफ्नै देशमा मर्न चाहन्छु ।’ उनले खबरहबसँग आफ्नो पीडा सुनाए ।

माल्कोमलाई रमक निकाल्न सहयोग गर्ने नेपाली युवती को हुन् ?

वीर अस्पतालमा हामीसँग कुराकानी गर्दैगर्दा माल्कोमलाई बैंकखाताबाट रकम ट्रान्सफर गर्न सहयोग गर्ने युवती पनि आइन् ।

माल्कोम बिरामी परेपछि आफैले नै टेकु अस्पतालमा लेगेकी थिइन् । टेकु अस्पतालमा दुई सातादेखि माल्कोम भर्ना हुँदा ती युवती कहिलेकाहीँ मात्रै अस्पतालमा गएको अस्पतालका एक चिकित्सकले बताए । उनका अनुसार अस्पतालमा कहिलेकाही जाने ती युवतीलाई माल्कोमले आफ्नो गर्लफ्रेण्ड भएको बताएका थिए ।

वीर अस्पतालमा आएकी ती युवती शुरुमा बोल्न चाहिनन् ।

‘माल्कोमले अस्पतालका नर्स डाक्टरलाई म गर्लफ्रेण्ड हो भनेछ, म उसको गर्लफ्रेण्ड होइन, उनले आफूमाथि लागेको आरोप गलत भएको मात्रै बताइन् । उनले आफू र माल्कोम साथी मात्रै भएको बताइन् ।

ठमेलको एक ट्राभल एजेन्सीमा काम गर्ने बहिनी माफर्त माल्कोमसँग चिनजान भएको र नेपालमा माल्कोमको बैंकमा रहेको रकम निकाल्न मात्रै आफूले सहयोग गरिदिने गरेको उनले बताइन् ।

‘मैले मेरो बहिनीमार्फत माल्कोमलाई चिनेको हो । उसको यहाँ कोहीपनि नभएकाले उसले आफ्नो देशमा भएको बैंक खाताको रमक मेरो बैंक खातामा ट्रान्सफर गरिदिन्थ्यो,’ उनले भनिन्, ‘मैले उसको पैसा निकालेर दिन्थें र उसले नेपालमा बस्दा खर्च गर्थ्यो ।’

दुईवर्षसम्म माल्कोमको रमक निकाल्न सहयोग गर्दै आएको बताउने ती युवतीले माल्कोमको रमक निकाल्न सहयोग गर्दा आफू फसेको भन्दै हामीसँग रिस पोखिन् ।

‘उसले नेपालमा घुमफिर मात्रै गर्छ केही काम गर्दैन, मैले त उसको पैसा निकाल्न मात्रै सहयोग गरिदिएको हो । माल्कोमको विषयमा मैले बोले अब मेरो विषयमा नसोध्नुस्,’ उनले रिसाउँदै भनिन्, ‘उ बिरामी भएर उपचार खर्च चाहिन्छ भनेर मात्रै चुपलागेको छु, रिस उठ्योभने म खाता नै बन्द गरिदिन्छु ।’

ती युवतीले नै माल्कोम लागू पदार्थ दुर्व्यसनीमा रहेको समेत बताइन् । ती युवती आफू पनि बिरामी भएको भन्दै माल्कोमलाई त्यही छाडेर अस्पतालबाट बाहिरिएकी थिइन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ९ : ४९ बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६