सन्तान जन्मनुभन्दा केही घन्टापहिला पनि बिरामीको सेवामा खटिएकी नर्स « Khabarhub

सन्तान जन्मनुभन्दा केही घन्टापहिला पनि बिरामीको सेवामा खटिएकी नर्स


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा १८ वर्षदेखि कार्यरत नर्स सुभद्रा रेग्मी केन्द्रकी नर्सिङ प्रमुख हुन् । रेग्मीले मिर्गौला फेल भएका हजारौं बिरामीको डायलाइसिस गराएकी छन् ।

मिर्गौला रोगबाट पीडित भएका बिरामीको डायलाइसिस गराएर उनीहरुको जीवनरक्षा गर्न पाउँदा उनी आफ्नो सेवामूलक पेसाबाट खुसी र सन्तुष्ट छिन् ।

यसरी रोजिन् नर्सिङ पेसा

२०३७ सालमा काठमाडौंको विशालनगरमा जन्मिएकी रेग्मीको बाल्यकाल सुखद् रुपमा वित्यो । रेग्मीले महेन्द्र भवन उच्च माध्यमिक विद्यालयबाट एसएलसी दिएकी हुन् । २०५३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण भएकी रेग्मीलाई स्कुल पढ्दादेखि नै सेवामुलक कार्य गर्ने सपना थियो ।

आफ्नो सपनालाई पूरा गर्न रेग्मीले एसएलसीपछि नर्सिङ पढ्ने सोच बनाइन् । रेग्मीले राष्ट्रिय विज्ञान प्रतिष्ठान न्याम्स ( वीर अस्पताल) बाट नर्सिङ अध्ययन शुरु गरिन् ।

‘मलाई सानैदेखि सेवामूलक कार्य गर्ने व्यक्तिहरु मनपथ्र्यो, सेवामूलक कार्यमा लाग्नुभएका व्यक्तिलाई देख्दा, मैले सानो हुँदा नै सेवामूलक पेसामा संलग्न हुने सोच बनाएको थिए,’ रेग्मीले भनिन्, ‘सेवामूलक काम गर्न के पढ्ने भन्दा मैले नर्सिङ पढाइ रोजें ।’

२०५७ सालमा रेग्मी वीर अस्पतालबाट तीन वर्षको पिसियल नर्सिङ अध्ययन पुरा गरिन् । नर्सिङ अध्ययन सकेपछि रेग्मीले मिर्गौलाका बिरामीको उपचारमा प्रयोग हुने डायलाइसिसको विषयमा जान्न चाहिन । उनले नर्सिङ अध्ययन सकेपछि रेग्मीले राष्ट्रिय मिर्गौला उपचार केन्द्रबाट ३ महिनाको डायलाइसिस नर्सिङ तालिम लिइन् ।

तालिम लिए पछि २०५८ साल साउनदेखि रेग्मीले केन्द्रमै जागिर पनि पाइन् ।

२०६२ सालमा विवाह गरेकी रेग्मीका एक छोरा र एक छोरी छन् । संयुक्त परिवारमा बसेकी रेग्मीलाई सासु आमा, पतिले नर्सिङ पेसामा निरन्तरता दिन सधै प्रेरणा दिइरन्छन् । परिवारको साथ र मायाले रेग्मी १० वर्षदेखि निरन्तर नर्सिङ पेसामा छिन् ।

आफूले औषधि खाएर बिरामीको केयर गरेको छु

रेग्मी आफ्नो पेसाप्रति इमान्दार भएर लाग्छिन् । उनी आफू बिरामी हुँदापनि औषधि खाएर भएपनि आफूले केयर गर्नुपर्ने बिरामीलाई सेवा गर्छिन् ।

२०६३ सालमा आफू पहिलो सन्तानको आमा बन्ने समयमा पनि उनले आफ्नो कर्तव्यलाई पूरा गरेकी थिइन् । ‘केन्द्रमा आफूले हेर्ने बिरामीको लिष्ट हुन्थ्यो, उहाँहरुलाई डायलाइसिस सेवा दिनै पर्ने भएकाले मैले गर्भवती हुँदा मेरो पहिलो सन्तान जन्मिनु भन्दा केही घण्टा अघिसम्म पनि काम गरेको थिए,’ रेग्मी संझिन्छिन्, ‘म गर्भवती हुँदा डायलाइसिस गराउने कक्षमा मलाई अक्सिजन पुग्दैन थियो, तर कहिलेकाही बाहिर निस्किँदै भएपनि मैले आफ्नो ड्युटी पुरा गरेर बेलुका सुत्केरी हुन अस्पताल भर्ना भएको थिएँ ।’

नर्सको ओठमा देखिने मुस्कान बिरामीका लागि सबैभन्दा ठूलो उपचार हो । त्यहि विधिलाई आत्मसाथ गर्दै रेग्मीले आफू पीडामा हुँदा र बिरामी पर्दा पनि बिरामीलाई खुसीहुँदै केयर गरेकी छन् ।

बिरामीको मुस्कानले हराउँछ पीडा

१८ वर्षसम्म मिर्गौला फेल भएका हजारौं बिरामीलाई डायलाइसिस सेवा दिएकी रेग्मीलाई बिरामीको मुस्कानले आफ्नो पीडा विर्साउछ ।
‘धेरै बिरामीहरु मिर्गौला फेल भएर डायलाइसिस गराउन आउँछन् । र अन्य समयमा जागिर खाएर जीवनयापन पनि गरीरहेका छन् । उनीहरुलाई देख्दा मलाई निकै खुसी लाग्छ ।’ उनले भनिन्, ‘ ती बिरामीहरुलको सेवा गर्न पाउँदा खुसी लाग्छ ।’

नर्सिङ पेसामा आफुलाई समर्पित गरेकी रेग्मीले बिरामीको मुस्कानले आफ्नो पीडा विर्साउने गरेको सुनाउँछिन् ।

‘अस्पतालको शय्यामा मृत्युलाई चुनौती दिदै रोगसँग लडिरहेका बिरामीहरु मेरो उपस्थितिले जब मुसुक्क हाँस्छन्, त्यतिबेला म आफ्नो पेसाप्रति गर्व गर्छु,’ रेग्मी भन्छिन्, ‘उहाँहरुको मुस्कानले मेरो मन खुसी हुन्छ, यस्तो खुसीहरु सायद कमै पेसामा पाइन्छ ।’

जुन घटनाले रेग्मीलाई रुवायो

१० वर्ष मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रदान गरेकी रेग्मीले बिरामीको कहानीले खुसी मात्रै दिएन । केही बिरामीको अवस्थाले उनको मन रुवाएको पनि छ ।

पुस महिना थियो । रेग्मीले डायलाइसिस गराइरहेको समयमा एकजना बिरामीले भने ‘डायलाइसिस गरेर अहिलेसम्म त बाँचियो अब मागमा घ्यु, चाकु, तरुल पनि खान पाइएला नि है’ भनेका थिए । तर ती बिरामीको पुस २९ गते मृत्यु भयो । जुन घटनाले रेग्मीको मन रुवायो । उनी त्यो बिरामीलाई कहिल्यै विर्सन सक्दिनन् ।

मिर्गौल फेल भएका महिला शिशू च्यापेर आउँदा

नेपालमा मिर्गौला फेल भएका बिरामीहरु बढ्दै गएका छन् । केन्द्रमा बिरामीलाई डायलाइसिस गराइरहदा जब महिलाहरु नवजात शिशू काखमा च्यापेर डायलाइसिस सेवा लिन आउँछन् तब रेग्मीको मन चसक्क हुन्छ ।

‘मिर्गौला फेल भएर कतिपय महिलाहरु घरमा आफ्नो दुधे बालक हेरिदिने कोही नहुँदा डायलाइसिस गराउन आउँदा पनि सँगै लिएर आउँछन्,’ रेग्मीले खबरहबसँग भनिन्, ‘ती महिलाहरुको अवस्थाले नरमाइलो लाग्छ ।’

मिर्गौला फेल भएका महिलाका बालबच्चाको लागि आश्रय दिन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ ।

रेग्मी ढेडवर्ष अघिदेखी मिर्गौला उपचार केन्द्रको नर्सिङ प्रमूखको रुपमा कार्यरत छिन् । नर्सिङ पेसा सेवामूलक पेसा हो । मनदेखि नै सेवा गर्ने भावना भएमा नर्सिङ पेसामा खुसी र सन्तुष्ट हुन सकिने रेग्मीको अनुभव छ ।

‘नर्सिङ पेसा यस्तो पेसा हो । जहा नर्सको उपस्थितिले मृत्युसँग लडिरहेका बिरामीको ओठमा मुस्कान आउँछ,’ रेग्मी भन्छिन्, ‘मनदेखि नै सेवाभाव लिएर आएमा यो पेसाबाट सन्तुष्ट र खुसी रहन सकिन्छ ।’

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  २ : ४३ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका